2 Samuel 10

npioncb (NPIONCB)

1 केही समयपछि अम्मोनीहरूका राजाको मृत्यु भयो, र तिनीपछि तिनका छोरा हानून राजा भए।

2 दावीदले सोचे, “तिनका बुबा नाहाशले मप्रति दया देखाएकाले, म पनि तिनको छोरा हानूनप्रति दया देखाउनेछु।” यसकारण दावीदले हानूनप्रति तिनका पिताको विषयमा सहानुभूति देखाउनलाई दूतहरू पठाए।

3 तब अम्मोनी अधिकारीहरूले तिनीहरूका मालिक हानूनलाई भने, “के दावीदले तपाईंकहाँ समवेदना प्रकट गर्नलाई मानिसहरू पठाएर तपाईंका पितालाई आदर दिइरहेका छन् भनी तपाईं ठान्‍नुहुन्छ? के दावीदले तिनीहरूलाई यस सहरको जानकारी लिएर यसलाई जित्नको लागि जासुसी गर्न पठाएका होइनन् र?”

4 यसकारण हानूनले दावीदका प्रतिनिधिहरूलाई पक्रेर तिनीहरूका आधा दाह्री खौरिदिए। तिनीहरूका लुगा जाँघसम्म काटिदिए अनि तिनीहरूलाई पठाइदिए।

5 जब यो कुरा दावीदलाई भनियो, तब तिनले ती मानिसहरूलाई भेट्न मानिसहरू पठाए। किनकि अम्मोनीहरूलाई भेट्न भनी पठाएका मानिसहरू साह्रै अपमानित भएका थिए। तब राजाले भने, “तिमीहरूका दाह्री नबढेसम्म यरीहोमै बस्‍नू, तब मात्र फर्केर आउनू।”

6 जब अम्मोनीहरूले दावीदका लागि तिनीहरू अप्रिय भएको कुरा महसुस गरे, तब तिनीहरूले बेथ-रहोब र सोबाहबाट बीस हजार अरामी पैदल-सेना भाडामा लिए। साथै एक हजार मानिसहरूसहित माकाका राजालाई लिए; अनि तोबबाट पनि बाह्र हजार मानिसहरू लिए।

7 यो कुरा सुनेर दावीदले योआबसँग सम्पूर्ण लडाकु सेनाहरूलाई पठाए।

8 अम्मोनीहरू आएर सहर जाने मूलढोकामा लडाइँको निम्ति तैनाथ भए। अनि सोबाह र रहोबका अरामीहरू, तोब र माकाका मानिसहरूचाहिँ खुला मैदानमा मोर्चा बाँधे।

9 योआबले आफ्नो अगि र पछि युद्धका मोर्चाहरू खडा भएका देखे; यसकारण तिनले इस्राएलका सबैभन्दा उत्तम सेनाहरूलाई चुने, र तिनीहरूलाई अरामीहरूको विरुद्धमा खटाए।

10 तिनले बाँकी रहेका मानिसहरूलाई आफ्नो भाइ अबीशैको नेतृत्वमा अम्मोनीहरूको विरुद्धमा खटाए।

11 योआबले भने, “यदि अरामी सेनाहरूले मलाई जित्दै गए भने तिमीहरू मलाई बचाउन आउनू। तर यदि अम्मोनीहरूले तिमीहरूलाई जित्दै गए भने म तिमीहरूलाई बचाउन आउनेछु।

12 साहसी होऊ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरका सहरहरूको निम्ति हिम्मतका साथ युद्ध गरौँ। याहवेहले आफ्नो दृष्‍टिमा जे असल छ, त्यो गर्नुहुनेछ।”

13 तब योआब र तिनीसँग भएका सैन्यदल अरामीहरूसँग युद्ध गर्न अगि बढे; अनि अरामीहरू तिनीहरूको सामुबाट भागे।

14 जब अम्मोनीहरूले अरामीहरू भागिरहेका देखे, तब तिनीहरू अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब अम्मोनीहरूसँग युद्ध गर्न छाडेर यरूशलेममा फर्केर आए।

15 जब अरामीहरूले इस्राएलद्वारा आफूहरू परास्त भइरहेको देखे, तब तिनीहरू आपसमा एकजुट भए।

16 हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरामीहरूलाई झिकाए थिए; तिनीहरू हददेजेरको सेनाहरूको सेनापति शोबाकको नेतृत्वमा हेलाममा गए।

17 जब दावीदलाई यो कुरा सुनाइयो, तब तिनले समस्त इस्राएलीहरूलाई भेला गराए, र यर्दन नदी तरेर हेलाममा गए। अरामीहरूले दावीदको सामना गर्नलाई युद्धको मोर्चा बाँधे, र तिनीसित युद्ध गरे।

18 तर तिनीहरू इस्राएलको सामुबाट भागे, र दावीदले तिनीहरूका सात सय रथ-सवारहरू र चालीस हजार पैदल सेनाहरूलाई मारे। तिनले तिनीहरूका सेनाहरूका सेनापति शोबाकलाई पनि प्रहार गरे; अनि तिनी त्यहीँ मरे।

19 जब हददेजेरका अधीनमा रहेका सबै राजाहरूले आफूहरू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले इस्राएलसँग सन्धि गरे। त्यसपछि तिनीहरू इस्राएलीहरूको अधीनमा भए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Samuel 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.