2 Samuel 11

npioncb (NPIONCB)

1 बसन्त ऋतुको समयमा जब शासकहरू युद्ध गर्नलाई जान्थे, तब दावीदले राजाका मानिसहरू र इस्राएलका सम्पूर्ण सेनाको साथमा योआबलाई पठाए। तिनीहरूले अम्मोनीहरूलाई नाश गरे, र रब्बा सहरलाई घेरे। तर दावीदचाहिँ यरूशलेममै बसे।

2 एक साँझ दावीद आफ्नो ओछ्यानबाट उठे, र राजमहलको कौसीमा डुल्दै थिए। कौसीबाट तिनले एउटी स्त्रीलाई नुहाइरहेकी देखे। ती स्त्री अति सुन्दर थिइन्।

3 दावीदले तिनको बारेमा बुझ्नलाई एउटा मानिसलाई पठाए। त्यस मानिसले भन्यो, “तिनी एलीआमकी छोरी, हित्ती उरियाहकी पत्नी बतशेबा हुन्।”

4 तब दावीदले तिनलाई ल्याउन दूतहरू पठाए। तिनी आइन् र दावीदले तिनीसँग सहवास गरे। (त्यस बेला तिनले आफ्नो रजस्वलापछि आफूलाई शुद्ध पारेकी थिइन्)। त्यसपछि तिनी घर फर्किन्।

5 तिनी गर्भवती भइन् र तिनले दावीदकहाँ, “म गर्भवती भएको छु,” भनेर खबर पठाइन्।

6 तब दावीदले योआबलाई यो खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ।” अनि योआबले तिनलाई दावीदकहाँ पठाए।

7 जब उरियाह तिनीकहाँ आए, तब दावीदले तिनलाई योआबको अवस्था कस्तो छ, सेनाहरू कस्ता छन् र लडाइँ कसरी चल्दैछ भनी सोधे।

8 त्यसपछि दावीदले उरियाहलाई भने, “आफ्नो घरमा जाऊ, र आराम गर।” यसकारण उरियाह महलबाट गए। राजाले दिएको उपहार तिनको पछि-पछि पठाइयो।

9 तर उरियाहचाहिँ तिनका मालिकका नोकरहरूसित महलको मूलढोकामा सुते; तल आफ्नो घरमा गएनन्।

10 जब दावीदलाई उरियाह आफ्नो घर नगएको कुरा बताइयो, तब तिनले उरियाहलाई बोलाएर सोधे, “के तिमी युद्ध यात्राबाट आएको होइनौ? तिमी किन घर गएनौ?”

11 उरियाहले दावीदलाई भने, “सन्दुक र इस्राएल अनि यहूदाका सबै मानिसहरू पालमा बसिरहेका छन्। अनि मेरा मालिक योआब र मेरा स्वामीका मानिसहरू खुल्‍ला मैदानमा रहेका छन्। मचाहिँ कसरी आफ्नो घरमा खानपिन गरी आफ्नो पत्नीसित सुत्नलाई जाऊँ? राजालाई साक्षी राखेर म भन्दछु, म यस्तो काम गर्नेछैनँ!”

12 तब दावीदले तिनलाई भने, “आज एक दिन अझै यहाँ बस, र भोलि म तिमीलाई फिर्ता पठाउनेछु।” यसकारण उरियाह त्यस दिन र भोलिपल्टसम्म यरूशलेममा बसे।

13 दावीदको निम्तोमा तिनले तिनीसित खाए र पिए। दावीदले तिनलाई मताए। तर साँझमा उरियाह आफ्ना मालिकका नोकरहरूसित सुत्न भनी तिनकै ओछ्यानमा गए; तिनी घरमा गएनन्।

14 भोलिपल्ट बिहान दावीदले योआबलाई एउटा पत्र लेखे, र त्यो उरियाहको हातमा पठाए।

15 त्यसमा तिनले यसरी लेखे, “उरियाहलाई डरलाग्दो युद्ध भएको ठाउँमा पहिलो पङ्‌क्तिमा राख्नू। तब तिमीहरू ऊदेखि पछि हट्नू, ताकि त्यसलाई प्रहार होस्, र त्यो मारियोस्।”

16 यसकारण योआबले सहरलाई घेरा हालेको बेला तिनले जानेअनुसार बलिया शत्रुहरू भएको ठाउँमा उरियाहलाई खटाए।

17 जब सहरका मानिसहरू बाहिर निस्किआए र योआबको विरुद्धमा युद्ध गरे, दावीदका सेनाका केही मानिसहरू मारिए। त्यसरी नै हित्ती उरियाह पनि मारिए।

18 योआबले दावीदलाई युद्धको बारेमा सम्पूर्ण विवरण पठाए।

19 तिनले दूतलाई यसरी निर्देशन दिए: “जब तैँले राजालाई युद्धको बारेमा यो खबर दिन्छस्,

20 तब राजा धेरै रिसाउनुहुनेछ, र उहाँले तँलाई यसरी सोध्न सक्नुहुन्छ, ‘तिमीहरू युद्ध गर्नलाई सहरको यति नजिक किन गयौ? तिनीहरूले पर्खालबाट काँडहरू हान्‍नेछन् भनी के तिमीहरूलाई थाहा थिएन?’

21 यरूब-बेशेतको छोरा अबीमेलेकलाई कसले मार्‍यो? के एउटी स्त्रीले पर्खालबाट जाँतोको माथिल्‍लो भाग तिनीमाथि खसाइदिएको कारण तिनी तेबेसमा मरेका होइनन् र? तिमीहरू पर्खालको यति नजिक किन गयौ?” यदि उहाँले तँलाई यसरी सोध्नुभयो भने, तब उहाँलाई भन्‍नू, “हजुरको सेवक हित्ती उरियाह पनि मारिए।”

22 त्यो दूत हिँड्यो र जब दावीदकहाँ आइपुग्यो, योआबले जे खबर भन्‍न पठाएका थिए, ती हरेक कुरा बताइदियो।

23 त्यस दूतले दावीदलाई भन्यो, “ती मानिसहरूले हामीलाई मिच्न लागे र हाम्रो विरुद्धमा खुल्‍ला ठाउँमा आए। तर हामीले तिनीहरूलाई सहरको मूलढोकाको प्रवेशद्वारसम्म नै लखेट्यौँ।

24 तब धनुर्धारीहरूले पर्खालबाट तपाईंका सेवकहरूमाथि काँड हाने; अनि राजाका केही मानिसहरू मरे। तपाईंको सेवक हित्ती उरियाह पनि मारिए।”

25 दावीदले त्यस दूतलाई भने, “योआबलाई यसरी भन्‍नू: ‘यस कुराले तिमीलाई निराश नपारोस्; किनकि तरवारले एउटालाई नाश गरेजस्तै अर्कोलाई पनि नाश गर्छ। त्यस सहरको विरुद्धमा युद्ध जारी राखेर त्यसलाई नष्‍ट गरिदेओ।’ यो कुरा योआबलाई उत्साहित पार्नलाई भन्।”

26 जब उरियाहकी पत्नीले आफ्नो पति मरेको कुरा सुनिन्, तब तिनले आफ्नो पतिका निम्ति शोक गरिन्।

27 जब तिनको शोकको समय समाप्‍त भयो, तब दावीदले बतशेबालाई आफ्नो घरमा ल्याए। तिनी दावीदको पत्नी भइन्। अनि तिनले एउटा छोरा जन्माइन्। तर दावीदले गरेको यस कामले याहवेहलाई अप्रसन्‍न तुल्यायो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Samuel 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.