Jeremias 38

npioncb (NPIONCB)

1 मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा येहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भनिरहेका सुने,

2 “याहवेह यसो भन्‍नुहुन्छ: ‘यस सहरमा जो बस्छ, त्यो तरवार, अनिकाल र रूढीले मर्नेछ; तर बेबिलोनी सेनाहरूकहाँ गएर आफैँलाई समर्पण गर्नेचाहिँ जीवित रहनेछ। त्यसले आफ्नो प्राण जोगाउनेछ र जीवित रहनेछ।’

3 अनि याहवेह यसो भन्‍नुहुन्छ: ‘यो सहर निश्‍चय नै बेबिलोनको राजाका सेनाको हातमा दिइनेछ, जसले यस सहरलाई कब्जा गर्नेछ।’ ”

4 तब अधिकारीहरूले राजालाई भने, “यो मानिसलाई मार्नुपर्छ; किनकि यसले मानिसहरूलाई भनिरहेका कुराहरूले यस सहरमा बाँकी रहेका सेना र सबै मानिसहरूलाई समेत निरुत्साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलाइ होइन, तर तिनीहरूको हानि गर्न चाहन्छ।”

5 तब राजा सिदकियाहले जवाफ दिए, “त्यो मानिस तिमीहरूकै हातमा छ। म तिमीहरूलाई रोक्न सक्दिनँ।”

6 यसकारण तिनीहरूले यर्मियालाई लगेर राजाको छोरा मल्कियाहको पानीको खाडलमा हालिदिए। त्यो खाडल पहरेदारको चोकमा थियो। तिनीहरूले यर्मियालाई डोरीबाट तल अँध्यारो बन्द खाडलभित्र झारिदिए; त्यस अँध्यारो खाडलमा पानी थिएन, तर हिलो मात्र थियो; यसकारण यर्मिया हिलोमा भासिए।

7 तर राजमहलका एक जना नपुंसक अधिकारी कूशी एबेद-मेलेकले तिनीहरूले यर्मियालाई बन्द खाडलमा हालेको कुरा सुने। त्यस बेला राजा बेन्यामीन ढोकामा बसिरहेका थिए।

8 तब एबेद-मेलेक महलबाट निस्केर गएर राजालाई यसो भने,

9 “मेरा प्रभु महाराजा, यी मानिसहरूले यर्मिया अगमवक्तालाई अति दुष्‍टतापूर्ण व्यवहार गरेका छन्। तिनीहरूले उनलाई खाडलभित्र खसालिदिएका छन्, जहाँ उनी भोकै मर्नेछन्; किनकि सहरमा अब केही खानेकुरा बाँकी छैन।”

10 तब राजाले कूशी एबेद-मेलेकलाई आज्ञा दिए, “यहाँबाट आफूसँग तीस जना मानिसहरू लैजाऊ र तिनी मर्नुभन्दा अगि नै यर्मिया अगमवक्तालाई त्यस खाडलबाट निकाल।”

11 यसकारण एबेद-मेलेकले आफूसँग ती मानिसहरू लिएर महलमा भएको भण्डारमुनिको कोठामा गए। तिनले त्यहाँबाट केही फाटेका र पुराना लुगाहरू लिए। अनि तिनले ती कपडाहरू डोरीमा बाँधेर खाडलभित्र यर्मिया अगमवक्ताकहाँ झारिदिए।

12 अनि कूशी एबेद-मेलेकले यर्मियालाई भने, “यी फाटेका र पुराना कपडाहरूलाई डोरीले नदुःखोस् भनेर तिम्रा काखीमुनि लगाऊ।” तब यर्मियाले त्यसै गरे।

13 अनि तिनीहरूले ती डोरीहरूको सहायताले यर्मियालाई खाडलबाट बाहिर निकाले। त्यसपछि यर्मिया पहरेदारको चोकमा रहन थाले।

14 तब राजा सिदकियाहले यर्मिया अगमवक्तालाई बोलाउन पठाए, र तिनलाई याहवेहको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरा सोध्न लागेको छु। मबाट केही कुरा पनि नलुकाऊ!”

15 यर्मियाले सिदकियाहलाई भने, “यदि मैले तपाईंलाई जवाफ दिएँ भने के तपाईंले मलाई मार्नुहुन्‍न र? यदि मैले तपाईंलाई सल्‍लाह दिएँ भने तापनि तपाईंले मेरो कुरा सुन्‍नुहुनेछैन।”

16 तर राजा सिदकियाहले यर्मियासँग गुप्‍तमा यो शपथ खाए: “हामीलाई सास दिनुहुने जीवित याहवेहको नाममा शपथ खाएर भन्छु, म तिमीलाई मार्नेछैनँ, न त तिमीलाई मार्न चाहनेहरूका हातमा नै तिमीलाई सुम्पिदिनेछु।”

17 तब यर्मियाले सिदकियाहलाई भने, “याहवेह सेनाहरूका परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘यदि तैँले बेबिलोनको राजाका अधिकारीहरूको हातमा आफूलाई समर्पण गरिस् भने तँ जीवित रहनेछस्, र तिनीहरूले यो सहरलाई जलाएर भस्म पार्नेछैनन्; तेरो परिवारसहित तँ जीवित रहनेछस्।

18 तर यदि तैँले बेबिलोनका राजाका अधिकारीहरूको हातमा समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा सुम्पिनेछ, र तिनीहरूले यस सहरलाई जलाएर भस्म पार्नेछन्; तँ आफैँ पनि तिनीहरूका हातबाट उम्कनेछैनस्।’ ”

19 राजा सिदकियाहले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ शरण लिन गएका यहूदीहरूसँग मलाई डर लागिरहेको छ; किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान्, र तिनीहरूले मसँग दुर्व्यवहार गर्लान्।”

20 यर्मियाले जवाफ दिए, “तिनीहरूले तपाईंलाई सुम्पिनेछैनन्। मैले तपाईंलाई भनेका कुरा गरेर याहवेहको आज्ञापालन गर्नुहोस्। तब तपाईंको भलो हुनेछ, र तपाईं जीवित रहनुहुनेछ।

21 तर यदि तपाईंले समर्पण गर्न इन्कार गर्नुभयो भने याहवेहले मलाई यो कुरा प्रकट गर्नुभएको छ:

22 सुन्‍नुहोस्, यहूदाको राजाका महलमा छोडिएका ती सबै स्त्रीहरू बेबिलोनका अधिकारीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। ती स्त्रीहरूले तपाईंलाई यसो भन्‍नेछन्:

23 “तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ बाहिर निकालेर ल्याइनेछन्। तपाईं आफैँ पनि तिनीहरूका हातबाट उम्कनु हुनेछैन, तर बेबिलोनका राजाद्वारा कब्जामा पारिनुहुनेछ; अनि यो सहरचाहिँ आगोले जलेर भस्म पारिनेछ।”

24 तब सिदकियाहले यर्मियालाई भने, “यस कुराकानीको बारेमा अरू कसैलाई पनि केही नभन्‍नू, नत्रता तिमी मर्नेछौ।

25 यदि मैले तिमीसँग बातचित गरेको कुरा अधिकारीहरूले सुनेछन् भने, र तिनीहरू तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्यौ र राजाले तिमीलाई के भन्‍नुभयो हामीलाई भन; यो कुरा हामीबाट नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौँ,’ भनी भनेछन् भने,

26 तब तिनीहरूलाई भनिदेऊ, ‘मलाई मर्नका निम्ति जोनाथनको घरमा फर्काएर नपठाउनुहोस् भनेर म राजासँग बिन्ती गर्दैथिएँ।’ ”

27 ती सबै अधिकारीहरू यर्मियाकहाँ आए, र तिनलाई सोधे; अनि यर्मियाले राजाले अधिकारीहरूलाई जे भन्‍ने आदेश दिएका थिए, ती हरेक कुरा तिनीहरूलाई भनिदिए। यसकारण अधिकारीहरूले यर्मियालाई अरू केही भनेनन्; किनकि राजासित भएको तिनको कुराकानी कसैले पनि सुनेका थिएनन्।

28 अनि यरूशलेमको कब्जा हुने दिनसम्म नै यर्मिया राजमहलको पहरेदारको चोकमा नै रहे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 38, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.