João 4

npioncb (NPIONCB)

1 यूहन्‍नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र धेरैलाई बप्‍तिस्मा दिँदैहुनुहुन्छ भनी फरिसीहरूले सुने।

2 हुन त येशू आफूले होइन, तर चेलाहरूले बप्‍तिस्मा दिन्थे।

3 प्रभुले यो थाहा पाउनुभएपछि उहाँ यहूदिया प्रदेश छोडेर फेरि एकपल्ट गालील प्रदेश फर्कनुभयो।

4 उहाँलाई सामरियाबाट भएर जानुपर्‍यो।

5 त्यसकारण उहाँ सामरियाको सुखार भन्‍ने सहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो।

6 त्यहाँ याकोबको इनार थियो। अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्‍नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो।

7 जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्‍नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?”

8 (उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरमा गएका थिए।)

9 त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, र म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)

10 येशूले त्यसलाई भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरका वरदानलाई र तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”

11 त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन। अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ?

12 के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफैँले पनि यसै इनारबाट पिए। उनका सन्तान र उनका गाईबस्तुले पनि यही इनारको पानी पिए?”

13 येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ।

14 तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्‍नेछ।”

15 त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ। अनि यहाँ पानी लिन आइरहन नपरोस्।”

16 उहाँले त्यसलाई भन्‍नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।”

17 त्यसले जवाफ दिई, “मेरो पति छैन।”

18 वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।”

19 त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ।

20 हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।”

21 येशूले भन्‍नुभयो, “ए नारी, मलाई विश्‍वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ।

22 तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ।

23 तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ।

24 परमेश्‍वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।”

25 त्यस स्त्रीले भनी, “मचाहिँ मसीह (जसलाई ख्रीष्‍ट भनिन्छ) आउनुहुन्छ भनेर जान्दछु। उहाँ आएपछि उहाँले हामीलाई सबै कुराहरू स्पष्‍ट गरिदिनुहुनेछ।”

26 तब येशूले भन्‍नुभयो, “तिमीसँग बोल्ने, त्यो म नै हुँ।”

27 त्यति नै बेला उहाँका चेलाहरू फर्केर आइपुगे। अनि उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरू छक्‍क परे। तर कसैले पनि “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसित किन कुरा गर्दै हुनुहुन्छ?” भनी उहाँलाई सोधेनन्।

28 त्यसपछि आफ्नो गाग्रो त्यहीँ छोडेर त्यो स्त्री सहरतिर फर्केर गई, र मानिसहरूलाई भनी,

29 “आओ, र एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै कुराहरू मलाई भनिदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?”

30 तिनीहरू सहरबाट निस्केर उहाँकहाँ गए।

31 यसै समयमा उहाँका चेलाहरूले उहाँलाई “गुरुज्यू, केही भोजन गर्नुहोस्” भनी बिन्ती गरे।

32 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसँग खानलाई भोजन छ, जसको बारेमा तिमीहरूलाई थाहा छैन।”

33 त्यसपछि चेलाहरूले एक-अर्कालाई भने, “कसैले उहाँको निम्ति भोजन ल्याइदिएको होला कि?”

34 येशूले भन्‍नुभयो, “मेरो भोजन नै मलाई पठाउनुहुनेको इच्छा पालन गर्नु र उहाँको काम पूरा गर्नु हो।

35 के तिमीहरू ‘अब चार महिना बाँकी छ, तब कटनीको समय हुन्छ’ भनी भन्दैनौ र? म तिमीहरूलाई भन्दछु, आफ्ना आँखा खोलेर खेतबारीहरूमा हेर! त्यो कटनीको निम्ति पाकिसकेको छ।

36 अहिले पनि फसल काट्नेले ज्याला पाउँछ, अहिले पनि उसले अनन्त जीवनको लागि फल बटुल्छ, जसले गर्दा बिउ छर्ने र फसल काट्ने दुवै एकसाथ रमाउँछन्।

37 त्यसैकारण ‘एउटाले छर्छ, अर्कोले काट्छ’ भन्‍ने भनाइ सत्य छ।

38 मैले तिमीहरूलाई त्यसको कटनी गर्न पठाएँ, जसको निम्ति तिमीहरूले काम गरेनौ। अरूहरूले परिश्रम गरेका छन्। अनि तिमीहरूले चाहिँ तिनीहरूका परिश्रमको फलको कटनी गरेका छौ।”

39 “मैले गरेका सबै कामहरू उहाँले मलाई भनिदिनुभयो” भन्‍ने त्यस स्त्रीको गवाहीका कारण त्यस सहरका धेरै सामरीहरूले उहाँमाथि विश्‍वास गरे।

40 यसकारण सामरीहरू उहाँकहाँ आए। अनि तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्‍न अनुरोध गरे। तब उहाँ दुई दिनसम्म त्यहाँ बस्‍नुभयो।

41 अनि उहाँको वचनको कारण अरू धेरै जनाले विश्‍वास गरे।

42 तिनीहरूले त्यस स्त्रीलाई भने, “तिमीले जे भन्यौ केवल त्यसको कारणले मात्र हामीले विश्‍वास गरेका होइनौँ। तर अब त हामी आफैँले सुनेका छौँ, र हामी यो जान्दछौँ, कि उहाँ साँच्‍चै नै संसारका मुक्तिदाता हुनुहुन्छ।”

43 दुई दिनपछि उहाँ गालील जानुभयो।

44 (येशू आफैँले अगमवक्तालाई उसको आफ्नै मुलुकमा आदर हुँदैन भनी औँल्याउनुभएको थियो।)

45 उहाँ गालीलमा आइपुग्नुहुँदा गालीलीहरूले उहाँलाई स्वागत गरे। उहाँले निस्तार चाडको बेलामा यरूशलेममा गर्नुभएका सबै कामहरू तिनीहरूले देखेका थिए। किनकि तिनीहरू पनि त्यहाँ गएका थिए।

46 उहाँ फेरि एकपल्ट गालीलको कानामा जानुभयो, जहाँ उहाँले पानीलाई दाखमद्यमा बदल्नुभएको थियो। अनि त्यहाँ कफर्नहुममा एक जना राजकीय हाकिम थिए। तिनको छोरा बिरामी थियो।

47 जब येशू यहूदियाबाट गालील आइपुग्नुभएको छ भन्‍ने तिनले सुने, तब तिनी उहाँकहाँ गए, र उहाँ आएर तिनको छोरालाई निको पारिदिन उहाँलाई बिन्ती गरे। किनकि तिनको छोरा मर्नै आँटेको अवस्थामा थियो।

48 येशूले तिनलाई भन्‍नुभयो, “अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्‍वास गर्दैनौ।”

49 “हजुर, मेरो छोरा मर्नुभन्दा अगि नै आइदिनुहोस्!” भनी ती हाकिमले भने।

50 “तिमी जान सक्छौ, तिम्रो छोरा बाँच्नेछ।” येशूले जवाफ दिनुभयो।

51 तिनी बाटोमै छँदा नै तिनका सेवकहरूले भेटेर तिनको छोरा निको भइसकेको खबर दिए।

52 छोरा कुन समयदेखि निको भयो भनी तिनले सोध्दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि तिनलाई ज्वरोले छोड्यो।”

53 तब त्यो समय येशूले “तिम्रो छोरा बाँच्नेछ” भनी भन्‍नुभएकै समय रहेछ भनी बुबाचाहिँले थाहा पाए। तब तिनले र तिनका सबै परिवारले विश्‍वास गरे।

54 यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो अलौकिक चिन्ह थियो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.