Gênesis 2

npioncb (NPIONCB)

1 यसरी आकाशमण्डल, पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसकिए।

2 परमेश्‍वरले सातौँ दिन हुँदासम्म आफूले गरिरहनुभएका काम सक्नुभयो; अनि सातौँ दिनमा उहाँले आफ्ना सबै कामबाट विश्राम लिनुभयो।

3 अनि परमेश्‍वरले सातौँ दिनलाई आशिष् दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो; किनकि यही दिन नै उहाँले सृष्‍टि गर्नुभएका सम्पूर्ण कामबाट विश्राम लिनुभयो।

4 याहवेह परमेश्‍वरले सृष्‍टि गर्नुभएको आकाशमण्डल र पृथ्वीको विवरण यही नै हो।

5 जब याहवेह परमेश्‍वरले आकाशमण्डल र पृथ्वी सृष्‍टि गर्नुभयो, त्यस बेला पृथ्वीमा कुनै वनस्पति र कुनै बोटबिरुवा देखा परेका थिएनन्; किनकि याहवेह परमेश्‍वरले पृथ्वीमा पानी पठाउनुभएको थिएन र जमिनमा काम गर्ने कुनै मानिस थिएन।

6 तर पृथ्वीबाट खोलाहरू निस्केर जमिनको सम्पूर्ण बाहिरी भागलाई भिजाउँथ्यो।

7 याहवेह परमेश्‍वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो।

8 याहवेह परमेश्‍वरले पूर्वपट्टि भएको अदनमा एउटा बगैँचा लगाउनुभएको थियो; अनि आफूले बनाउनुभएको मानिसलाई उहाँले त्यहाँ राख्नुभयो।

9 अनि याहवेह परमेश्‍वरले भूमिबाट सबै किसिमका रूखहरू, अर्थात् हेर्नमा राम्रो र खानलाई असल रूखहरू उमार्नुभयो। अनि बगैँचाको बीचमा जीवनको रूख, साथै असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।

10 बगैँचालाई भिजाउनका निम्ति एउटा नदी अदनबाट बहन्थ्यो; त्यो त्यहाँबाट छुट्टिएर चार वटा शाखामा बाँडिएको थियो।

11 पहिलो नदीको नाम पीशोन हो, जो हवीलाको समस्त मुलुक हुँदै बग्दछ, जहाँ सुन पाइन्छ।

12 (त्यस देशको सुन असल हुन्छ। त्यहाँ बास्‍ना आउने खोटो र गोमेद पनि पाइन्छन्।)

13 दोस्रो नदीको नाम गीहोन हो, जो कूशको समस्त मुलुक भएर बग्दछ।

14 तेस्रो नदीको नाम टाइग्रिस हो, जो अश्शूरको पूर्वतिर हुँदै बग्दछ; अनि चौथो नदीचाहिँ यूफ्रेटिस हो।

15 याहवेह परमेश्‍वरले मानिसलाई लगेर अदनको बगैँचामा काम गर्न र त्यसको हेरचाह गर्नका निम्ति त्यहाँ राख्नुभयो।

16 अनि याहवेह परमेश्‍वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्;

17 तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस्।”

18 याहवेह परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।”

19 याहवेह परमेश्‍वरले भूमिबाट सबै जङ्गली जनावर र आकाशका पक्षीहरूलाई बनाउनुभएको थियो। मानिसले तिनीहरूका के-के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि मानिसले हरेक प्राणीलाई जे-जे भनेर बोलाए, त्यही नै तिनीहरूका नाम रह्‍यो।

20 यसरी मानिसले सबै घरपालुवा जनावरहरू, आकाशका पक्षीहरू र सबै जङ्गली जनावरहरूका नाम राखे।

21 यसकारण याहवेह परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो।

22 अनि याहवेह परमेश्‍वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो।

23 अनि मानिसले भने,

24 यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्।

25 मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, तर तिनीहरू लाज मान्दैनथे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.