Êxodo 2

npioncb (NPIONCB)

1 लेवी घरानाका एक जना मानिसले एउटी लेवी कुलकी स्त्रीलाई विवाह गरे।

2 अनि तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन्। जब तिनले त्यस बालकलाई सुन्दर देखिन्, तब तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्।

3 तर जब तिनले त्यसलाई अझै लुकाउन सकिनन्, तब तिनले त्यसको निम्ति एउटा काँसको टोकरी ल्याइन् र त्यसलाई लिसाइलो माटो र अलकत्राले लिपिन्। तब तिनले त्यस बालकलाई त्यसमा हालेर नील नदीको किनारमा अग्ला काँसघारीहरूका बीचमा राखिदिइन्।

4 त्यसलाई के हुन्छ भनी त्यो हेर्नलाई तिनकी दिदी टाढामा उभिरहिन्।

5 तब फारोकी छोरी नुहाउनलाई नील नदीमा आइन्, र तिनका दासीहरू नदीका किनारतिर हिँड्दैथिए। तिनले काँसघारीहरूका बीचमा टोकरी देखिन्, र आफ्नी दासीलाई त्यो लिन पठाइन्।

6 जब तिनले खोल्दा त्यस बालकलाई देखिन्; तब त्यो बालक रोइरहेको थियो, र उसप्रति दयाले भरिएर तिनले भनिन्, “यो त कुनै हिब्रूको बालक हो।”

7 तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “के यस बालकलाई हेरचाह गर्नका निम्ति म गएर हिब्रू स्त्रीहरूमध्ये कुनै एउटी धाईलाई तपाईंको निम्ति बोलाऊँ?”

8 तब फारोकी छोरीले जवाफ दिइन्, “हुन्छ, जाऊ।” अनि ती केटी गएर त्यस बालककी आमालाई लिएर आई।

9 फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लैजाऊ, र मेरा निम्ति दूध खुवाऊ र हेरचाह गर। म तिमीलाई ज्याला दिनेछु।” यसकारण त्यस स्त्रीले बालकलाई लिएर दूध खुवाउने गरिन्।

10 बालक ठूलो भएपछि तिनले त्यसलाई फारोकी छोरीकहाँ लगिन्, र ऊ तिनको छोरा भयो, र “मैले उसलाई पानीबाट बाहिर निकालेकी हुँ” भन्दै तिनले उसको नाम मोशा राखिन्।

11 मोशा ठूलो भएपछि एक दिन तिनी आफ्ना मानिसहरूकहाँ गए, र तिनीहरूले कठोर परिश्रम गरेको देखे। तिनले एक जना इजिप्टियनले हिब्रू जातिको एक जनालाई हिर्काइरहेको देखे।

12 तिनले यताउता हेरे, र कोही पनि नदेखेपछि तिनले त्यस इजिप्टियनलाई मारे, र त्यसलाई बालुवामा पुरिदिए।

13 अर्को दिन तिनी बाहिर निस्के; तब दुई जना हिब्रूहरूलाई झगडा गरिरहेका देखे। तिनले गल्ती गर्नेलाई सोधे, “तिमी किन आफ्नै मान्छेलाई हिर्काउँछौ?”

14 तब त्यस मानिसले भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो? के तिमीले त्यस इजिप्टियनलाई मारेझैँ मलाई पनि मार्ने विचार गर्दैछौ?” तब मोशा डराए, र सोचे, “मैले जे गरेँ, त्यो सबैलाई थाहा भइसक्यो होला!”

15 जब फारोले यो सुने, तब उनले मोशालाई मार्न खोजे; तर मोशा फारोदेखि भागेर गए, र मिद्यानमा बस्‍न लागे; अनि त्यहाँ तिनी एउटा इनारको छेउमा बसे।

16 मिद्यानका एक जना पुजारीका सात जना छोरीहरू थिए। आफ्ना पिताका बगाललाई पानी खुवाउन तिनीहरू इनारमा आए, र पानी उघाउँदै डुँडमा भर्न लागे।

17 तब त्यहाँ केही गोठालाहरू पनि आए र तिनीहरूलाई धपाए; तर मोशा उठे, र तिनीहरूलाई सहायता गरे, र तिनीहरूका बगाललाई पानी पिउन दिए।

18 जब ती ठिटीहरू आफ्ना पिता रूएलकहाँ फर्किए, तब तिनले तिनीहरूलाई सोधे, “आज तिमीहरू कसरी यति चाँडो फर्कियौ?”

19 तिनीहरूले जवाफ दिए, “एक जना इजिप्टियनले हामीलाई गोठालाहरूका हातबाट बचाए। तिनले त हाम्रा निम्ति पानी पनि उघाइदिए, र बगाललाई समेत पानी खुवाए।”

20 उनले आफ्ना छोरीहरूलाई सोधे, “अनि तिनी कहाँ छन्? तिमीहरूले तिनलाई किन छोडिदियौ? तिनलाई खानलाई निम्तो देऊ।”

21 त्यसपछि मोशा ती मानिससित बस्‍न राजी भए; र उनले आफ्नी छोरी सिप्पोरालाई मोशासित विवाह गरिदिए।

22 सिप्पोराले एउटा छोरा जन्माइन्, र मोशाले “म अर्काको मुलुकमा प्रवासी भएँ” भनेर त्यसको नाम गेर्शोम राखे।

23 समय बितेपछि इजिप्टका राजा मरे। आफ्ना दासत्वमा इस्राएलीहरूले सुस्केरा हाले; अनि पुकार गर्न थाले। दासत्वको कारण तिनीहरूले सहायताको लागि गरेको चीत्कार परमेश्‍वरकहाँ पुग्यो।

24 तब परमेश्‍वरले तिनीहरूको सुस्केरा सुन्‍नुभयो; अनि उहाँले अब्राहाम, इसहाक र याकोबसित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो।

25 यसकारण परमेश्‍वरले इस्राएलीहरूमाथि दृष्‍टि लगाउनुभयो, र तिनीहरूको वास्ता गर्नुभयो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.