Apocalipse 20

npioncb (NPIONCB)

1 त्यसपछि मैले एक जना स्वर्गदूतलाई स्वर्गबाट निस्केर तल आइरहेको देखेँ। तिनको हातमा अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो थियो

2 तिनले त्यस अजिङ्गर अर्थात् त्यो पुरानो सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधेर राखे।

3 तिनले त्यसलाई त्यस नरक कुण्डमा फालिदिए; अनि एक हजार वर्ष नबितुन्जेल राष्ट्रहरूलाई नछलोस् भनेर त्यो अतल कुण्ड बन्द गरी त्यसमाथि छाप लगाइदिए। त्यसपछि केही समयको लागि त्यसलाई फुक्‍का गरिनुपर्छ।

4 तब मैले सिंहासनहरू देखेँ; अनि ती सिंहासनहरूमा मैले न्याय गर्ने अख्तियार पाएकाहरूलाई बसिरहेको देखेँ। अनि मैले येशूको गवाहीको निम्ति र परमेश्‍वरको वचनको निम्ति शिर काटिएकाहरूका आत्माहरूलाई देखेँ। तिनीहरूले त्यस पशु वा त्यसको मूर्तिको आराधना गरेका थिएनन्; अनि आफ्ना निधारहरू र हातहरूमा त्यसको छाप लगाएका थिएनन्। तिनीहरू फेरि जीवित भए, र ख्रीष्‍टसित एक हजार वर्षसम्म राज्य गरे।

5 (अरू बाँकी मरेकाहरूचाहिँ एक हजार वर्ष नबितुन्जेल जीवित भएनन्।) यो पहिलो पुनरुत्थान हो।

6 पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। तिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही अधिकार गर्न सक्दैन, तर तिनीहरू परमेश्‍वरका र ख्रीष्‍टका पुजारीहरू हुनेछन्, र उहाँसित एक हजार वर्षसम्म राज्य गर्नेछन्।

7 एक हजार वर्ष बितेपछि त्यो शैतानलाई त्यसको कैदबाट छोडिनेछ;

8 अनि पृथ्वीका चारै दिशामा भएका राष्ट्रहरूलाई अर्थात् गोग र मागोगलाई लडाइँको लागि बहकाउन र भेला गर्न त्यो निस्केर जानेछ। संख्यामा तिनीहरू समुद्रको किनारमा भएका बालुवा जतिकै हुनेछन्।

9 तिनीहरूले पृथ्वीको परिक्रमा गरेर परमेश्‍वरका जातिका छाउनी अर्थात् उहाँको प्रिय सहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्‍यो।

10 अनि तिनीहरूलाई ठग्ने त्यो दियाबलसलाई, गन्धक जल्दैगरेको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झूटा अगमवक्ता पनि फालिएका थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदा यातना भोग्नेछन्।

11 तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। पृथ्वी र आकाश उहाँको उपस्थितिबाट बिलाएर गए; अनि तिनीहरू कतै पाइएनन्।

12 अनि मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामु उभिरहेका देखेँ, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका तिनीहरूका कामका आधारमा मृतकहरूको न्याय गरियो।

13 समुद्रले त्यससित भएका मुर्दाहरू दिइहाल्यो, र मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरू दिइहाले; अनि प्रत्येकले गरेका कामअनुसार तिनीहरूलाई न्याय गरियो।

14 मृत्यु र पाताल अग्निकुण्डमा फालिए। त्यो अग्निकुण्ड दोस्रो मृत्यु हो।

15 जसको नाम जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यसलाई अग्निकुण्डमा फालियो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Apocalipse 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.