2 Tessalonicenses 3

npioncb (NPIONCB)

1 अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रो लागि प्रार्थना गरिदेओ; यसकारणले कि प्रभुको सन्देश तीव्रतासाथ फैलिओस् र तिमीहरूका माझमा पुगेझैँ सबैतिर महिमित भएको होस्।

2 सबै जनासँग विश्‍वास हुँदैन; त्यसकारण हामी दुष्‍ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ।

3 तर प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँले तिमीहरूलाई सामर्थ्य दिनुहुनेछ र शैतानबाट रक्षा गर्नुहुनेछ।

4 हाम्रा आज्ञाहरू तिमीहरूले पालन गरिरहेका छौ र गरी नै रहनेछौ भनी हामी प्रभुमा निश्‍चित छौँ।

5 प्रभुले तिमीहरूका हृदयलाई परमेश्‍वरको प्रेम र ख्रीष्‍टको धैर्यतामा डोर्‍याऊन्।

6 हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्‍टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्‍वासी अल्छे छ र बाधा पुर्‍याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्‍वासीबाट अलग बस।

7 किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैँलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे भएर बसेनौँ,

8 न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्‍यौँ।

9 हामीलाई सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका थियौँ।

10 किनकि जब हामी तिमीहरूसँग थियौँ, हामीले तिमीहरूलाई यो आज्ञा दिएका थियौँ, “यदि कुनै मानिसले काम गर्दैन भने त्यसले खाँदै नखाओस्।”

11 तिमीहरूमध्ये कोही-कोही अल्छे छन्, र बाधा पुर्‍याउने गर्छन् भनी हामी सुन्छौँ। तिनीहरू आफैँ त काम गर्दैनन्, तर अर्काको काममा व्यर्थै हात हाल्छन्।

12 यस्ता मानिसहरूलाई हामी प्रभु येशू ख्रीष्‍टमा आज्ञा दिन्छौँ र बिन्ती गर्छौँ: तिनीहरू व्यवस्थित भएर बसून् र आफ्ना भोजन आफैँ जुटाऊन्।

13 अनि दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूचाहिँ भलाइ गर्नमा कहिल्यै नथाक।

14 यदि कसैले यस पत्रमा हामीले लेखेका निर्देशन पालन गर्दैन भने त्यसलाई चिनिराख र त्यससँग सम्बन्ध नराख, ताकि त्यो आफैँ शर्ममा परोस्।

15 तापनि तिनीहरूलाई शत्रुजस्तो व्यवहार नगर, तर सङ्गी विश्‍वासीलाई जस्तै तिनीहरूलाई चेतावनी देओ।

16 अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्।

17 म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। योचाहिँ मेरा सबै पत्रहरूको प्रमाण हो। यसरी नै म लेख्छु।

18 हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरू सबैसँग रहोस्!

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Tessalonicenses 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.