1 Samuel 24

npioncb (NPIONCB)

1 शाऊलले पलिश्तीहरूसँग लडाइँ गरेर फर्किएपछि तिनलाई भनियो, “दावीद एन-गदीको उजाडस्थानमा छन्।”

2 यसकारण शाऊलले सारा इस्राएलबाट तीन हजार बलिया मानिसहरूलाई लिए; अनि दावीद र तिनका मानिसहरूलाई खोज्न जङ्गली घोरल-चट्टानको छेउतिर गए।

3 तिनी बाटो छेउको भेडागोठमा आइपुगे; जहाँ एउटा ओडार थियो, अनि शाऊल दिसा बस्‍नलाई गए। दावीद र तिनका मानिसहरू त्यस ओडारभित्र लुकेर बसेका थिए।

4 ती मानिसहरूले भने, “याहवेहले तपाईंलाई ‘म तेरो शत्रुलाई तेरो हातमा सुम्पिदिनेछु र तैँले जे मन लाग्छ, त्यसलाई त्यसै गर्नू’ भन्‍नुभएको दिन यही हो।” तब दावीद थाहा नपाउने तरिकाले घस्रँदै गएर शाऊलको खास्टोको एक किनार काटे।

5 तर दावीदले शाऊलको खास्टोको किनार काटिसकेपछि तिनलाई तिनको विवेकले दोष दिन थाल्यो।

6 तब तिनले आफ्ना मानिसहरूलाई भने, “मैले याहवेहका अभिषिक्त जन, मेरा मालिकसँग यस्तो काम गर्नु, अर्थात् तिनको विरुद्धमा हात उठाउनबाट याहवेहले मलाई रोकून्; किनकि उहाँ याहवेहको अभिषिक्त जन हुनुहुन्छ।”

7 यसो भनेर दावीदले आफ्ना मानिसहरूलाई कडा रूपमा हप्काए र शाऊललाई आक्रमण गर्न दिएनन्। शाऊल ओडारबाट निस्के, र आफ्नो बाटो लागे।

8 तब दावीद पनि ओडारबाट बाहिर निस्के, र शाऊललाई बोलाएर भने, “हे मेरो मालिक महाराजा! जब शाऊलले पछि फर्केर हेरे, तब दावीदले निहुरेर भुइँमा घोप्टो परी दण्डवत् गरे।”

9 तिनले शाऊललाई भने, “जब मानिसहरूले ‘दावीदले तपाईंको नोक्सानी गर्न निश्‍चय गरेको छ’ भनी भन्दा, तपाईंले किन तिनीहरूका कुरा सुन्‍नुहुन्छ?

10 यस ओडारमा कसरी याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभएको थियो, भनी तपाईंले आफ्नै आँखाले देख्नुभएको छ। मलाई कति जनाले तपाईंलाई मार्न दबाउ दिएका थिए; तर मैले मेरो मालिक तपाईंलाई छोडिदिएँ, र मैले भने, ‘म आफ्नो मालिकको विरुद्धमा हात उठाउनेछैनँ। किनकि उहाँ याहवेहका अभिषिक्त जन हुनुहुन्छ।’

11 हेर्नुहोस्, मेरा पिता, मेरो हातमा तपाईंको लुगाको टुक्रा हेर्नुहोस्! मैले तपाईंको खास्टोको किनार काटेँ, तर तपाईंलाई चाहिँ मारिनँ। म तपाईंको हानि गर्ने, अथवा तपाईंको विरोधी होइन भनी बुझ्नुहोस्। मैले तपाईंको हानि गरेको छैनँ; तर तपाईंचाहिँ मेरो प्राण लिन मलाई खेद्नुहुन्छ।

12 याहवेहले तपाईं र मेरो बीचमा न्याय गरिदेऊन्। तपाईंले मेरो हानि गर्नुभएकोमा याहवेहले बदला लिऊन्, तर मेरो हातले तपाईंलाई छुनेछैनँ।

13 पुरानो उखानअनुसार, ‘दुष्‍टहरूबाट दुष्‍ट कामहरू नै निस्कन्छन्,’ यसकारण मेरो हातले तपाईंलाई छुनेछैनँ।

14 “इस्राएलका राजा तपाईं कसको विरुद्धमा निस्केर आउनुभएको छ? तपाईंले कसलाई खेद्‌दैहुनुहुन्छ? के एउटा मरेको कुकुरलाई? के एउटा उपियाँलाई?

15 याहवेह नै न्यायकर्ता भएर हाम्रो बीचमा फैसला गरिदेऊन्। याहवेहले नै मेरो मामिलामाथि विचार गरेर मलाई समर्थन गरिदेऊन्, र उहाँले मलाई तपाईंको हातबाट बचाऊन्।”

16 दावीदले यति भनिसकेपछि शाऊलले दावीदलाई सोधे, “मेरा छोरा दावीद, के यो सोर तिम्रो हो?” अनि तिनी चर्को सोरमा रोए।

17 तब तिनले भने, “तिमी मभन्दा धर्मी रहेछौ। तिमीले मलाई भलो गर्‍यौ, तर मैले त तिमीलाई कुभलो गरेँ।

18 तिमीले मप्रति गरेको भलाइको बारेमा अहिले तिमीले मलाई भन्यौ। याहवेहले मलाई तिम्रो हातमा सुम्पिदिनुभएको थियो, तर तिमीले मलाई मारेनौ।

19 के कुनै मानिसले आफ्नो शत्रुलाई भेट्टायो भने उसले हानि नगरी त्यसलाई छोडिदिन्छ र? तिमीले मप्रति आज जुन किसिमको व्यवहार गरेका छौ, त्यसको निम्ति याहवेहले तिमीलाई यसको इनाम देऊन्।

20 तिमी निश्‍चय नै राजा हुनेछौ। इस्राएलको राज्य तिम्रै हातमा स्थापित हुनेछ भनी म जान्दछु।

21 अब तिमीले मेरा सन्तानहरूलाई मार्नेछैनौ, र मेरा पिताको परिवारबाट मेरो नाम मेटिदिनेछैनौ भनी याहवेहको नाममा मसँग शपथ खाऊ।”

22 यसकारण दावीदले शाऊलसँग शपथ खाए। अनि शाऊल घर फर्के। तर दावीद र तिनका मानिसहरूचाहिँ आफ्नो किल्‍लातिर गए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.