1 Reis 6

npioncb (NPIONCB)

1 सोलोमनले इस्राएलमाथि शासन गरेको चौथो वर्षको दोस्रो महिना, अर्थात् जीव नामक दोस्रो महिनामा तिनले याहवेहको मन्दिर निर्माण गर्न सुरु गरे। यो कार्य इस्राएलीहरू इजिप्टबाट निस्किआएको चार सय असी वर्षमा भएको थियो।

2 याहवेहको निम्ति राजा सोलोमनले बनाएको मन्दिर साठी क्यूबिट लामो, बीस क्यूबिट चौडा र तीस क्यूबिट अग्लो थियो।

3 मन्दिरको सामुको मुख्य कोठाको दलान मन्दिरको चौडाइ बराबरको, लगभग बीस क्यूबिट थियो अनि मन्दिरको अगाडिबाट दश क्यूबिट बाहिर निस्केको थियो।

4 तिनले मन्दिरका भित्ताहरूमा आँखीझ्यालहरू बनाए।

5 तिनले भवनको मुख्य कोठा र भित्री पवित्रस्थानको भित्तामा जोडिने गरी भवनको वरिपरि एउटा संरचना बनाए। जसका छेउ-छेउमा कोठाहरू थिए।

6 यो भवन तीन तले थियो। सबैभन्दा तल्‍लो तला पाँच क्यूबिट चौडा, बीचको तला छ क्यूबिट चौडा, र तेस्रो तला सात क्यूबिट चौडा थियो। मन्दिरका भित्ताहरूमा केही पनि छेड्न नपरोस् भनेर तिनले मन्दिरको बाहिर चारैतिर पालीहरू बनाए।

7 मन्दिर बनाउँदा खानीमा कुँदिएका ठूला ढुङ्गाहरू प्रयोग गरिए। मन्दिर बनिँदै गर्दा त्यस ठाउँमा कुनै घन, छिनो अथवा कुनै फलामको औजारको आवाज सुनिएन।

8 भुइँतलाको प्रवेशद्वार मन्दिरको दक्षिणतिर थियो। त्यसबाट बीचको तलामा र त्यहाँबाट तेस्रो तलामा जानलाई घुमेको भर्‍याङ बनाइएको थियो।

9 यसरी तिनले मन्दिर बनाएर सिद्ध्याए। अनि त्यसमा देवदारुका दलिन र फल्याकहरूबाट छानो बनाए।

10 तिनले मन्दिरको वरिपरि कोठाहरू बनाए। प्रत्येकको उचाइ पाँच क्यूबिट थियो, र तिनीहरू देवदारुका काठले मन्दिरसित जोडिएका थिए।

11 त्यसपछि याहवेहको वचन सोलोमनकहाँ आयो:

12 “तैँले बनाइरहेको यस भवनको विषयमा चाहिँ यसो हुनेछ, यदि तैँले मेरा आदेशहरूअनुसार मेरा आज्ञाहरू र नियमहरू पालन गरिस् अनि आज्ञाकारी भइस् भने म तेरा पिता दावीदलाई गरेको प्रतिज्ञा तँद्वारा पूरा गर्नेछु।

13 अनि म इस्राएलीहरूका बीचमा बास गर्नेछु र आफ्नो जाति इस्राएललाई त्याग्नेछैनँ।”

14 अब यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए।

15 तिनले त्यसका भित्री भित्ताहरूमा भुइँदेखि छानासम्मै देवदारुका काठहरू लगाए। मन्दिरको भुइँचाहिँ सल्‍लाका फल्याकहरूले ढाकिदिए।

16 तिनले भवनको पछिल्‍लो भागपट्टि बीस क्यूबिट छुट्याएर भुइँदेखि छानासम्मै देवदारुका फल्याकहरूले बारे। अनि त्यस भवनको भित्रपट्टि भित्री पवित्रस्थान, लगभग महा-पवित्रस्थान बनाए।

17 त्यस कोठाको सामुको मुख्य कोठा चालीस क्यूबिट लामो थियो।

18 मन्दिरको भित्री भागचाहिँ देवदारुको काठमा बेलबुट्टा र फक्रेका फूलका आकारहरू कुँदेर बनाइएका थिए। सबै कुरामा देवदारु नै थिए; कुनैमा पनि ढुङ्गा देखिँदैनथ्यो।

19 तिनले याहवेहको करारको सन्दुक राख्नको निम्ति मन्दिर भित्रपट्टि पवित्रस्थान तयार पारे।

20 त्यो भित्री पवित्रस्थान बीस क्यूबिट लम्बाइ, बीस क्यूबिट चौडाइ, र बीस क्यूबिट उचाइ भएको थियो। तिनले भित्री भागलाई सुनले मोहोरे, र देवदारुको वेदीलाई पनि सुनले मोहोरे।

21 सोलोमनले मन्दिरको भित्री भागलाई निखुर सुनले ढाकिदिए। अनि सुनले मोहोरेको भित्री पवित्रस्थानको अगाडि सुनका सिक्रीहरू टाँगे।

22 यसरी तिनले सम्पूर्ण भित्री भागलाई सुनले मोहोरे। तिनले भित्री पवित्रस्थानको वेदीलाई पनि सुनले मोहोरे।

23 तिनले भित्री पवित्रस्थानमा जैतुनको काठका दश क्यूबिट अग्ला दुई वटा करूबहरू बनाए।

24 पहिलो करूबको पहिलो पखेटा पाँच क्यूबिट लामो र अर्को पखेटा पनि पाँचै क्यूबिट लामो थियो, अर्थात् एउटा पखेटाको टुप्पादेखि अर्को पखेटाको टुप्पासम्म दश क्यूबिट थियो।

25 दोस्रो करूबको नाप पनि दश क्यूबिट नै थियो। किनकि दुवै करूबहरूको नाप र आकार उस्तै थियो।

26 प्रत्येक करूबको उचाइ दश क्यूबिट थियो।

27 तिनले करूबहरूलाई मन्दिरको सबैभन्दा भित्री कोठामा तिनीहरूका पखेटा फैलिएको अवस्थामा राखिदिए। एउटा करूबको पखेटाले एउटा भित्तालाई छोएको थियो भने अर्कोको पखेटाले अर्को भित्तालाई छोएको थियो। अनि तिनीहरूका पखेटाहरूले कोठाको बीचमा एक-अर्कालाई छोएका थिए।

28 तिनले करूबहरूलाई सुनले मोहोरे।

29 मन्दिरका भित्री र बाहिरी कोठाहरूका चारैतिरका भित्ताहरूमा तिनले करूबहरू, खजूरका रूखहरू र फक्रेका फूलहरूका बुट्टाहरू खोपे।

30 तिनले मन्दिरका भित्री र बाहिरी कोठाहरूका भुइँलाई सुनले ढाकिदिए।

31 भित्री पवित्रस्थानका प्रवेशद्वारका निम्ति तिनले पाँचकुने खापा भएका जैतुनको काठका दुई ढोकाहरू बनाए।

32 अनि जैतुनको काठका दुई ढोकाहरूमा करूबहरू र खजूरका रूखहरू अनि फक्रेका फूलहरूका बुट्टाहरू खोपे। अनि करूबहरू र खजूरका रूखहरूलाई सुन पिटेर मोहोरे।

33 त्यही प्रकारले तिनले मुख्य कोठाको प्रवेशद्वारका निम्ति जैतुनको काठका चारकुने चौखट बनाए।

34 तिनले सल्‍लाको काठबाट दुई वटा ढोकाहरू बनाए; प्रत्येक ढोकामा दुई-दुई वटा खापा थिए। अनि ढोका खोल्दा ती खापाहरू एक-अर्कामा खप्टिन्थे।

35 तिनले तिनीहरूमाथि करूबहरू, खजूरका रूखहरू र फक्रेका फूलहरूका बुट्टाहरू खोपे। अनि ती बुट्टाहरूमाथि एकैनासले सुन पिटेर मोहोरे।

36 तिनले काटेका ढुङ्गाका तीन लहर र छाँटेका देवदारुका काठका एक लहरबाट भित्री चोक बनाए।

37 याहवेहको भवनको जग चौथो वर्षको जीव महिनामा बसालियो।

38 एघारौँ वर्षको आठौँ महिना, अर्थात् बूल महिनामा त्यसको हरेक भाग त्यसकै नमुनाअनुसार मन्दिर बनाइसिद्ध्याइयो। यसरी त्यस भवनलाई बनाउन तिनलाई सात वर्ष लाग्यो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Reis 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.