1 Reis 5

npioncb (NPIONCB)

1 जब सोलोमनलाई आफ्ना पिता दावीदको उत्तराधिकारीको रूपमा राजा अभिषेक गरिएको कुरा टायरका राजा हीरामले सुने, तब तिनले सोलोमनकहाँ आफ्ना दूतहरू पठाए। किनकि तिनी सधैँ दावीदसँग मित्रतामा थिए।

2 सोलोमनले हीरामलाई यो सन्देश पठाए:

3 “मेरा पिता दावीदको विरुद्धमा चारैतिरबाट युद्ध भएको कारण, याहवेह आफ्ना परमेश्‍वरको नामका निम्ति उहाँले एउटा मन्दिर बनाउन सक्नुभएन भन्‍ने कुरा त तपाईंलाई थाहै छ। किनकि याहवेहले उहाँका शत्रुहरूलाई आफ्नो अधीनमा नपारेसम्म उहाँले त्यो बनाउन सक्नुभएन।

4 तर अब याहवेह मेरा परमेश्‍वरले मलाई चारैतिरबाट विश्राम दिनुभएको छ। अनि कतै पनि विरोधी अथवा विपत्ति छैन।

5 यसकारण याहवेह मेरा परमेश्‍वरले मेरा पिता दावीदलाई ‘मैले तेरो ठाउँमा, तेरो सिंहासनमा राखेको तेरो छोराले मेरो नामको निम्ति मन्दिर बनाउनेछ’ भन्‍नुभएअनुसार मैले उहाँको निम्ति एउटा मन्दिर बनाउने विचार गरेको छु।

6 “यसकारण मेरा लागि लेबनानका देवदारुको काठ काट्नको निम्ति हुकुम गर्नुहोस्। मेरा मानिसहरूले तपाईंसित काम गर्नेछन्। अनि म तपाईंका मानिसहरूलाई तपाईंले तोक्नुभएको ज्याला दिनेछु। सीदोनीहरूजस्ता रूख ढाल्ने सिपालु मानिस हामीसित छैनन् भनी तपाईंलाई थाहै छ।”

7 जब हीरामले सोलोमनको सन्देश सुने, तब तिनी अति प्रसन्‍न भएर भने, “आज याहवेहको प्रशंसा होस्; किनकि उहाँले यो महान् जातिमाथि शासन गर्न दावीदलाई एउटा बुद्धिमान् छोरा दिनुभएको छ।”

8 यसकारण हीरामले सोलोमनकहाँ यो खबर पठाए:

9 मेरा मानिसहरूले ती लेबनानबाट समुद्रमा खसाइदिनेछन्। अनि तिनीहरूलाई बाँधेर समुद्रमा तपाईंले भन्‍नुभएको ठाउँसम्म म बगाइदिनेछु। त्यहाँ म तिनीहरूलाई अलग गरिदिनेछु; र तपाईंले ती लान सक्नुहुन्छ। तपाईंले चाहिँ मेरो राजकीय घरानाको निम्ति भोजनको जिम्मा लिइदिनुहोस्।”

10 यस किसिमले हीरामले सोलोमनलाई तिनलाई चाहिएका सबै देवदारु र सल्‍लाका काठहरू दिइरहे।

11 सोलोमनले हीरामलाई तिनको घरानाको भोजनका निम्ति बीस हजार कोर्स गहुँको साथमा बीस हजार बाथ जैतुनको पेलिएको तेल दिए। सोलोमनले हीरामका निम्ति वर्षेनी यसो गरिरहे।

12 याहवेहले सोलोमनलाई आफूले प्रतिज्ञा गर्नुभएझैँ बुद्धि दिनुभयो। हीराम र सोलोमनको बीचमा शान्तिपूर्ण सम्बन्ध थियो, अनि दुवैले आपसमा सन्धि गरे।

13 राजा सोलोमनले सारा इस्राएलबाट तीस हजार मानिसहरूलाई मजदुरी गर्न लगाए।

14 राजाले हरेक महिना तिनीहरूलाई दश-दश हजार गरेर पालैपालो एक महिनाको लागि लेबनानमा पठाउँथे। यसरी तिनीहरू एक महिना लेबनानमा काम गर्थे; र दुई महिना आफ्नै घरमा बस्दथे। अनि अदोनीराम बेतलबी श्रमिकहरूको जिम्मावाल थिए।

15 सोलोमनका भारी बोक्ने भरियाहरू पहाडमा सत्तरी हजार र ढुङ्गा काट्नेहरू असी हजार थिए।

16 साथसाथै सोलोमनले तेत्तीस सय मानिसहरूलाई मजदुरहरूका कामको रेखदेख गर्नलाई खटाए।

17 राजाको आज्ञाअनुसार तिनीहरूले मन्दिरको जगको निम्ति कुँदिएका असल र ठूला ढुङ्गाहरू खानीबाट निकाले।

18 सोलोमन र हीरामका कारिगरहरू र गेबालका मानिसहरूले मन्दिर निर्माणका निम्ति काठ र ढुङ्गाहरू तयार पारे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Reis 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.