1 Crônicas 17

npioncb (NPIONCB)

1 दावीद आफ्नो महलमा सरिसकेपछि तिनले अगमवक्ता नातानलाई भने, “यहाँ म देवदारुको महलमा बसिरहेको छु, तर याहवेहको करारको सन्दुकचाहिँ पालमा छ।”

2 नातानले दावीदलाई जवाफ दिए, “तपाईंको मनमा जे छ, त्यो गर्नुहोस्; किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्छ।”

3 तर त्यस रात परमेश्‍वरको यो वचन नातानकहाँ आयो:

4 “जा, र मेरो सेवक दावीदलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ, मेरो वासस्थानको भवन बनाउने व्यक्ति तँ होइनस्।

5 मैले इस्राएललाई इजिप्टबाट ल्याएको समयदेखि आजको दिनसम्म म कुनै भवनमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पाल र एउटा वासस्थानदेखि अर्को वासस्थानमा सर्दैआएको छु।

6 म इस्राएलीहरूसँग जहाँ-जहाँ गएँ, के मेरा प्रजा इस्राएलीहरूका गोठाला हुने आज्ञा दिएका तिनीहरूका अगुवाहरूमध्ये कसैलाई कहिल्यै भनेको छु, “तिमीहरूले मेरा निम्ति देवदारुको घर किन बनाएनौ?” ’

7 “यसकारण अब मेरो सेवक दावीदलाई भन्, “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: मैले तँलाई भेडाको गोठबाट बगाललाई चराउने कामबाट ल्याएँ; र मेरा जाति इस्राएलमाथि शासक नियुक्त गरेँ।

8 तँ जहाँ-जहाँ गइस्, म तेरो साथमा रहेँ, र मैले तेरा सारा शत्रुहरूलाई तेरो सामुबाट नष्‍ट गरिदिएको छु। अब म तेरो नामलाई संसारका अति महान् मानिसहरूका नामहरूझैँ बनाउनेछु।

9 अनि म मेरो जाति इस्राएलको निम्ति एउटा ठाउँ तयार गर्नेछु; अनि तिनीहरूलाई बसाल्नेछु, ताकि तिनीहरूका निम्ति आफ्नै बस्‍ने घर होस्; ताकि अब उप्रान्त तिनीहरू विचलित नहुन्। दुष्‍ट जातिहरूले तिनीहरूलाई फेरि सताउने छैनन्, जसरी विगतमा तिनीहरूले गरेका थिए,

10 मैले आफ्नो जाति इस्राएलमाथि अगुवाहरू नियुक्त गरेको समयदेखि सताउँदैआएका थिए। म तेरा सबै शत्रुहरूलाई तेरो अधीनमा पार्नेछु।

11 जब तेरो दिन पूरा हुनेछ, र तँ आफ्ना पुर्खाहरूसित मिल्नलाई जान्छस्, तब म तेरो सन्तानलाई तँपछि तेरो ठाउँमा खडा गर्नेछु, अर्थात् म तेरा छोराहरूमध्ये एक जनाको राज्य स्थापित गर्नेछु।

12 त्यसले नै मेरो निम्ति एउटा भवन बनाउनेछ; म त्यसको सिंहासन सदाका निम्ति स्थापित गर्नेछु।

13 म त्यसको पिता हुनेछु, र त्यो मेरो छोरो हुनेछ। मैले शाऊलबाट आफ्नो अचुक प्रेम हटाएझैँ, म त्यसबाट आफ्नो अचुक प्रेम कहिल्यै हटाउनेछैन।

14 म त्यसलाई सदाका निम्ति मेरो भवन र मेरो राज्यमा स्थिर गर्नेछु, र त्यसको सिंहासन सदासर्वदा स्थिर रहनेछ।’ ”

15 नातानले यी सम्पूर्ण दर्शनका कुराहरू दावीदलाई सुनाइदिए।

16 त्यसपछि राजा दावीद भित्र गएर याहवेहको सामु बसे, र तिनले भने:

17 हे परमेश्‍वर, यो पनि तपाईंको दृष्‍टिमा कम भएझैँ, तपाईंले आफ्नो सेवकको घरको भविष्यको बारेमा भन्‍नुभएको छ। हे याहवेह परमेश्‍वर, तपाईंले मलाई एक अति उच्‍च प्रसिद्ध मानिसझैँ मसँग व्यवहार गर्नुभएको छ।

18 “तपाईंले आफ्नो सेवकलाई सम्मान दिनुभएकोमा दावीदले अझ बढी के भन्‍न सक्छ र? किनकि तपाईं आफ्नो सेवकलाई जान्‍नुहुन्छ।

19 हे याहवेह, आफ्नो सेवकको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यो महान् काम गर्नुभएको छ। अनि तपाईंले यी सबै महान् प्रतिज्ञाहरू जान्‍न दिनुभएको छ।

20 “हे याहवेह, तपाईंजस्तो अरू कोही छैन; र हामीले आफ्नै कानले सुनेझैँ तपाईंबाहेक अर्को परमेश्‍वर छैन।

21 तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र? पृथ्वीमा भएको एउटा यस्तो जाति, जसका परमेश्‍वरले तिनीहरूलाई आफ्नो जाति बनाउन आफैँ गएर दासत्वबाट छुटाउनुभयो। तपाईंले त्यो जातिलाई इजिप्टबाट छुटकारा दिलाएर, आफ्नो महान् नाम बनाउनुभयो। तपाईंका जातिको सामुबाट अरू जातिहरूलाई धपाएर तपाईंले महान् र अद्‌भुत कार्यहरू गर्नुभयो।

22 तपाईंले आफ्नो जाति इस्राएललाई सदाका निम्ति आफ्नै निजी प्रजा बनाउनुभयो; अनि हे याहवेह, तपाईं तिनीहरूका परमेश्‍वर हुनुभएको छ।

23 “यसकारण अब हे याहवेह, तपाईंले आफ्नो सेवक र उसको घरानाको बारेमा गर्नुभएको प्रतिज्ञा, तपाईंले प्रतिज्ञा गर्नुभएझैँ, सदाको निम्ति कायम गर्नुहोस्।

24 ताकि त्यो प्रतिज्ञा कायम रहोस्, र तपाईंको नाम सदाका निम्ति महान् होस्। तब मानिसहरूले भन्‍नेछन्, ‘सेनाहरूका याहवेह, इस्राएलमाथिका परमेश्‍वर नै, इस्राएलका परमेश्‍वर हुनुहुन्छ!’ अनि तपाईंको सेवक दावीदको घराना तपाईंको सामु स्थापित हुनेछ।

25 “हे मेरा परमेश्‍वर, तपाईंले आफ्नो सेवकलाई उसको निम्ति एउटा घर बनाइदिनुहुनेछ भनी तपाईंले प्रकट गर्नुभएको छ। त्यसैले तपाईंको सेवकले तपाईंलाई प्रार्थना गर्ने हिम्मत गरेको छु।

26 हे याहवेह, तपाईं नै परमेश्‍वर हुनुहुन्छ! तपाईंले आफ्नो सेवकलाई यी असल कुराहरू प्रतिज्ञा गर्नुभएको छ।

27 अहिले तपाईं आफ्नो सेवकको घरलाई आशिष् दिन प्रसन्‍न हुनुभएको छ; ताकि यो तपाईंको दृष्‍टिमा सदा बनिरहोस्; किनभने, हे याहवेह, तपाईंले नै आशिष् दिनुभएको छ; यसकारण यो सदाका लागि आशिषित रहनेछ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.