Levítico 10

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 त्यसपछि हारूनका छोराहरू नादाब र अबीहूले परमप्रभुअघि धूप जलाउनको लागी आफ्नो धूपदानीमा आगो प्रयोग गर्दै सल्काए जसकालागि उहाँले तिनीहरूलाई अनुमति दिनु भएको थिएन।

2 यसर्थ परमप्रभुको उपस्थितिबाट आगो निस्कियो र तिनीहरूलाई परमप्रभुको सामुन्ने जलायो।

3 त्यसपछि मोशाले हारूनलाई भने, “परमप्रभुले जे भन्नु भएको थियो त्यसको अर्थ यही थियो। ‘पूजाहारीहरू जो मेरो सामुन्ने आउँछन् तिनीहरूद्वारा म सम्मानित हुनुपर्छ अनि सबैकोअघि म पवित्र हुनुपर्छ।’” अनि हारून नबोली बसे।

4 मोशाले हारूनका काका उज्जीएलका छोराहरू मीशाएल र एलसापानलाई बोलाए अनि भने। उनले तिनीहरूलाई भने, “आऊ अनि आफ्ना काकाको छोराहरूलाई पवित्र स्थानबाट बाहिर पालसम्म लैजाऊ।”

5 यसैले तिनीहरूले उनीहरूलाई पहिरेकै पोषाकमा मोशाको आदेश अनुसार पाल बाहिर उनीहरूलाई उठाएर लगे।

6 तब मोशाले हारून र तिनका छोरा एलाजार र ईतामारलाई भने, “तिनीहरूको शिरको कपाल नखौर शोक देखाउनलाई आफ्ना लुगाहरू नच्यात, तब तिमीहरू मर्ने छैनौ, अनि परमप्रभु सबै मानिसहरूको विरूद्धमा क्रोधित हुनुहुने छैन। तर नादाब र अबीहूका लागि जो परमप्रभुद्वारा उत्पन्न गरेको आगोले गर्दा मरे, इस्राएलका सारा बासिन्दाहरू जो तिमीहरूका आफन्त छन् विलाप गर्न सक्छन्।

7 भेट हुने पालको प्रवेशद्वार, बाहिर तिमीहरू नजानु नत्र तिमीहरू मर्ने छौ। किनभने परमप्रभुले अभिषेक गरेको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूलाई मोशाले जे भनेका थिए त्यही गरे।

8 त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो,

9 “जब तिमी र तिम्रा छोराहरू भेट हुने पालभित्र पस्छौ तिमीहरूले दाखरस अथवा मादक वस्तु पिउनु हुदैन नत्र तिमीहरू मर्नेछौ। यो नियम भविष्यका तिम्रा सन्तानहरूको निम्ति सँधै रहोस्।

10 किनभने तिमीहरूले कुन पवित्र अनि कुन अपवित्र र कुन शुद्ध अनि कुन अशुद्धमा भेद राख्नुपर्छ।

11 अनि परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएको नियमहरू तिनीहरूलाई सिकाउनुपर्छ।”

12 मोशाले हारूनका बाँचेका छोराहरू एलाजार र ईतामरलाई भने, “अन्नबलि लैजाऊ जो रहेको छ यसमा कुनै खमीर नमिसाऊ अनि वेदीको नजिक गएर खाऊ किनभने यो अतिनै पवित्र छ।

13 अनि यो तिमीहरूले पवित्र ठाउँमा खानु किनभने यो तिमी अनि तिम्रा छोराहरूको निम्ति परमप्रभुलाई चढाइएको अंश हो। त्यसको लागि मैले आज्ञा दिएकोछु।

14 “तिमी र तिम्रा छोरा-छोरीहरूले समारोह शुद्ध ठाउँमा बसेर डोलाउने बलिको ह्याकुलो र तिघ्रो खान सक्छौ किनभने तिनीहरू तिमी र तिम्रा छोरा-छोरीहरूको निम्ति इस्राएलका मानिसहरूद्वारा मेलबलिको रूपमा दिइएका छन्।

15 तिनीहरूले डोलाइएको बलिको तिघ्रा र ह्याकुलो अनि बोसो पनि आगोद्वारा चढाउन ल्याउनु पर्छ। यो तिमी र तिम्रा नानीहरूको निम्ति परमप्रभुको आदेश अनुसार सँधैको निम्ति हुनेछ।”

16 जब मोशाले पापबलिको बोको खोजे तब उनले त्यो पहिले नै पोली सकेको पाए। यसर्थ एलाजार र ईतामार, जो हारूनका बाँचेका छोराहरू हुन, तिनीहरूसित मोशा रिसाए उनले भने,

17 “तिमीहरूले किन पापबलिको मासु पवित्र स्थनमा बसेर खाएनौ? किनभने त्यो बलि अत्यन्तै पवित्र हो। अनि परमेश्वरले मानिसहरूको दोष निवारणको निम्ति परमप्रभुअघि तिमीहरूलाई दिनुभएको हो।

18 तिमीहरूले बोकाको रगत पवित्र स्थलभित्र ल्याएनौ। यसर्थ मैले आदेश अनुसार तिमीहरूले पवित्र स्थान भित्र मासु खाएको हुनु पर्छ।”

19 तब हारूनले मोशालाई भने, “आज कै दिन तिनीहरूले आफ्ना पापबलि र होमबलि परमप्रभुको सामु चढाए तापनि ममाथि यस्ता कुराहरू परिआएका छन्। यदि मैले आज पापबलिको मासु खाएको भए, के यसले परमप्रभुलाई खुशी बनाउने थियो?”

20 जब मोशाले यी कुरा सुने, तिनी यो कुरासँग सहमत भए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Levítico 10, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.