Tiago 1

npioncb (NPIONCB)

1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकोबबाट,

2 मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूले धेरै किसिमका आपत्-विपत्‌हरूका सामना गर्नुपर्दा त्यसलाई अति आनन्द सम्झ;

3 किनकि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्पन्‍न गराउँछ भनी तिमीहरू जान्दछौ।

4 तिमीहरू परिपक्व र पूर्ण भएर कुनै कुराको अभाव नहोस् भनेर धैर्यताले आफ्नो काम पूरा गर्नुपर्छ।

5 यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको कमी छ भने उदार चित्तले नझर्की दिनुहुने परमेश्‍वरसँग मागोस्, र त्यसलाई त्यो दिइनेछ।

6 तर जब कसैले माग्छ, त्यसले विश्‍वास गर्नुपर्छ र शङ्का गर्नुहुन्‍न; किनकि शङ्का गर्नेचाहिँ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तै हो।

7 त्यस मानिसले प्रभुबाट केही पाउँछु भनी नसोचोस्।

8 दोहोरो मन भएको मानिस उसका सबै कामहरूमा अस्थिर हुन्छ।

9 गरिबी अवस्थाका विश्‍वासीहरूले परमेश्‍वरले दिनुभएको आफ्नो उच्‍च पदमा गर्व गरून्,

10 तर धनीले चाहिँ आफू होच्याइएकोमा गर्व गरून्; किनकि तिनीहरू त घाँसको फूलझैँ ओइलाएर जानेछन्।

11 किनकि चर्को तापसित सूर्य उदाउँछ, र बोटबिरूवालाई ओइलाइदिन्छ; त्यसको फूल झरिहाल्छ, र त्यसको सौन्दर्य नष्‍ट भइजान्छ। यस्तै किसिमले धनी मानिस आफ्नो उपलब्धीसँगै हराएर जानेछ।

12 त्यो मानिस धन्यको हो, जो आपत्-विपत्‌हरूमा स्थिर रहन्छ; किनकि त्यस जाँचमा त्यो पक्‍का ठहरिएपछि त्यसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ।

13 परीक्षामा पर्दा कसैले पनि “परमेश्‍वरले मलाई परीक्षा गर्नुहुँदैछ” भनी नभनोस्; किनकि दुष्‍ट कुराहरूबाट परमेश्‍वर परीक्षित हुन सक्नुहुन्‍न, न त उहाँले कसैलाई परीक्षा गर्नुहुन्छ।

14 तर हरेक व्यक्ति आफ्नै खराब इच्छाहरूद्वारा खिँचिन्छ र मोहित भएर परीक्षामा पर्दछ।

15 त्यसपछि त्यो खराब इच्छाले गर्भधारण गरेर पापलाई जन्माउँछ; अनि पाप पूरा बढेपछि त्यसले मृत्युलाई जन्माउँछ।

16 त्यसैले मेरा प्यारा दाजुभाइ-दिदीबहिनीहरू हो, धोकामा नपर!

17 हरेक असल र सिद्ध दान माथिबाट अर्थात् स्वर्गीय ज्योतिका पिताबाट आउँछ, जो बदली रहने छायाजस्तो बदलिनुहुन्‍न।

18 सृष्‍टि गरिएका सबै थोकहरूमा हामी अगौटे फलजस्तै बनौँ भनेर उहाँले हामीलाई सत्यको वचनद्वारा जन्माउन चुन्‍नुभयो।

19 मेरा प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, यस कुरालाई विचार गर: हरेक मानिस सुन्‍नमा छिटो, बोल्न र रिस गर्नमा ढिलो होस्;

20 किनकि मानिसको रिसले परमेश्‍वरले चाहनुभएको धार्मिकताको काम गर्दैन।

21 यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्‍टतालाई त्याग; अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ।

22 वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर।

23 जसले वचन सुन्छ, तर यसले के भन्छ, सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो, जसले आफ्नो अनुहार ऐनामा हेर्छ;

24 अनि आफूलाई हेरिसकेपछि ऊ गइहाल्छ; तब ऊ कस्तो देखिन्छ, सो झट्टै बिर्सिहाल्छ।

25 तर जसले स्वतन्त्रता दिने सिद्ध व्यवस्थालाई ध्यानसित हेर्छ, र आफूले सुनेको कुरालाई नबिर्सी गरिरहन्छ; तब त्यसले गरेको काममा त्यसले आशिष् पाउँछ।

26 यदि कसैले आफैँलाई धर्मी सम्झन्छ र पनि आफ्नो जिब्रोमा लगाम लाउँदैन भने उसले आफूलाई धोका दिन्छ र त्यसको धर्मचाहिँ व्यर्थको हुन्छ।

27 हाम्रा पिता परमेश्‍वरले शुद्ध र निर्दोष ठहराउनुभएको धर्म यही हो: अर्थात् अनाथ र विधवाहरूलाई तिनीहरूका सङ्कष्‍टमा हेरचाह गर्नु; अनि आफूलाई संसारको दूषित कुराहरूदेखि जोगाएर राख्नु।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Tiago 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.