Mateus 9

npioncb (NPIONCB)

1 येशू डुङ्गामा चढ्नुभयो, र वारिपट्टि तरेर आफ्नै सहरमा आउनुभयो।

2 केही मानिसहरूले ओछ्यानमा पस्रिरहेको एक जना पक्षघातीलाई उहाँकहाँ ल्याए। जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, तब उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, साहस गर, तिम्रा पापहरू क्षमा भएका छन्।”

3 यो देखेर व्यवस्थाका केही शिक्षकहरूले मनमनै यसो भन्‍न लागे, “यस मानिसले ईश्‍वरनिन्दा गरिरहेको छ।”

4 तिनीहरूका विचार थाहा पाएर येशूले भन्‍नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्‍ट विचारहरूलाई ठाउँ दिन्छौ?

5 के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ र हिँड’ भन्‍नु?

6 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।”

7 अनि त्यो मानिस उठ्यो र घर गयो।

8 जब भीडले त्यो देखे, तिनीहरू भयभीत भए: अनि परमेश्‍वरले मानिसलाई यस्तो शक्ति दिनुभएकोमा उहाँको प्रशंसा गरे।

9 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, तब उहाँले मत्ती नाम भएका एक जना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। उहाँले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे, र उहाँको पछि लागे।

10 येशू मत्तीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू र पापीहरू आए, र उहाँ र उहाँका चेलाहरूसित खाए।

11 जब फरिसीहरूले यो देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे, “तिमीहरूका गुरु किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?”

12 यो सुनेर येशूले भन्‍नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ।

13 अब जाऊ, र यसको अर्थ के रहेछ, सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।”

14 तब यूहन्‍नाका चेलाहरू आएर उहाँलाई सोधे, “हामी र फरिसीहरू प्रायजसो उपवास बस्छौँ, तर तपाईंका चेलाहरूचाहिँ किन बस्दैनन्?”

15 येशूले जवाफ दिनुभयो, “दुलहा साथमा हुँदा उहाँका पाहुनाहरू कसरी विलाप गर्न सक्छन्? तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, तब तिनीहरू उपवास बस्‍नेछन्।

16 “कसैले पनि पुरानो कपडामा नयाँ कपडाको टालोले टाल्दैन; किनकि नयाँ टालो खुम्चिन्छ र पुरानोबाट च्यात्तिएर जान्छ; अनि त्यो वस्त्र फाटेर झन् नराम्रो हुन्छ।

17 न त मानिसहरूले पुरानो मशकमा नयाँ दाखमद्य हाल्छन्। यदि तिनीहरूले त्यसो गरे भने छालाहरू फुट्छन्। अनि दाखमद्य पोखिन्छ र मशक नष्‍ट हुनेछ। त्यसो हुन नदिन तिनीहरूले नयाँ दाखमद्य नयाँ मशकमै हाल्नुपर्दछ र दुवै जोगिन्छन्।”

18 येशूले यी कुराहरू भनिरहनुहुँदा एक जना शासकले उहाँकहाँ आएर उहाँको अगि घुँडा टेकेर भने, “मेरी छोरी भर्खरै मरी, तर तपाईं आएर त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, र त्यो बाँच्नेछे।”

19 येशू उठेर तिनीसित जानुभयो, र उहाँका चेलाहरू पनि उहाँसँगै गए।

20 ठिक त्यसै बेला बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री उहाँको पछिल्तिर आई, र उहाँको लुगाको किनार छोई।

21 त्यसले मनमनै यसो भनी, “यदि मैले उहाँको वस्त्र मात्र छुन पाएँ भने म निको हुनेछु।”

22 येशू पछिल्तिर फर्कनुभयो, र त्यसलाई देख्नुभयो। उहाँले भन्‍नुभयो, “हे छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” अनि त्यो स्त्री त्यसै बेला निको भई।

23 जब येशू त्यस शासकको घरमा पस्‍नुभयो, उहाँले शोक धुनको बाँसुरी बजाउनेहरू र कोलाहल गर्नेहरूका भीडलाई देख्नुभयो।

24 अनि भन्‍नुभयो, “बाहिर जाओ। केटी मरेकी छैन, तर निदाएकी मात्र छे।” तर तिनीहरूले उहाँको कुरालाई हाँसोमा उडाइदिए।

25 भीडलाई बाहिर निकालेपछि उहाँ भित्र पस्‍नुभयो। अनि त्यस केटीको दाहिने हात समात्नुभयो; अनि त्यो केटी उठी।

26 यो कुराको खबर त्यस मुलुकभरि फैलियो।

27 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, दुई जना दृष्‍टिविहीन मानिसहरूले यसो भन्दै उहाँलाई पछ्याए, “हे दावीदका पुत्र, हामीमाथि दया गर्नुहोस्!”

28 जब उहाँ घरभित्र पस्‍नुभयो, ती दृष्‍टिविहीन मानिसहरू उहाँकहाँ आए; अनि उहाँले तिनीहरूलाई सोध्नुभयो, “म यसो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?”

29 तब उहाँले तिनीहरूका आँखा छोएर भन्‍नुभयो, “तिमीहरूको विश्‍वासअनुसार तिमीहरूलाई होस्।”

30 अनि तिनीहरूका आँखा खुले। येशूले तिनीहरूलाई यसरी कडा चेतावनी दिनुभयो, “यो कुरा कसैले थाहा नपाओस्।”

31 तर तिनीहरू गइहाले; अनि उहाँको बारेमा सारा मुलुकभरि खबर फिँजाए।

32 उहाँहरू जाँदै गर्नुहुँदा एक जना भूत लागेको र बोल्न नसक्ने मानिसलाई उहाँकहाँ ल्याइयो।

33 अनि जब भूत निकालियो, तब त्यो बोल्न नसक्ने मानिस बोल्यो र भीडले छक्‍क पर्दै भने, “इस्राएलमा यस्तो कहिल्यै देखिएको थिएन।”

34 तर फरिसीहरूले भने, “यिनले त भूतहरूको शासकको सहायताले भूतहरू धपाउँछन्।”

35 येशूले सबै सहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो।

36 भीडहरूलाई देखेर उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो; किनकि तिनीहरू गोठाला नभएका भेडाहरूझैँ हैरान र असहाय भएका थिए।

37 अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्।

38 त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Mateus 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.