Levítico 6

npioncb (NPIONCB)

1 याहवेहले मोशालाई भन्‍नुभयो:

2 “यदि कसैले छिमेकीले सुम्पेको केही सामान त्यसलाई अथवा त्यसको जिम्मामा राखेको कुनै सामान चोरी भएको छ भने वा आफ्नो छिमेकीलाई ठगेर पाप गर्छ भने, र याहवेहप्रति विश्‍वासघाती बन्छ भने,

3 अथवा त्यसले कुनै हराएको सम्पत्ति पाएर त्यस विषयमा झूटो बोल्छ, अथवा झूटो शपथ खान्छ भने, अथवा मानिसहरूले गर्नेजस्ता पाप गर्छ भने;

4 जब त्यसले यसरी पाप गर्छ, र त्यो दोषी भएको आभास गर्छ; त्यसले चोरेको अथवा लुटेको सामान अथवा त्यसलाई सुम्पेको सामान अथवा हराएको सामान त्यसले भेट्टाएको छ,

5 अथवा जुनसुकै कुरा, जसको बारेमा त्यसले झूटो शपथ खाएको छ; त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ भाग थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढाउने दिनमा, त्यो सामान जसको हो, उसैलाई दिनुपर्छ।

6 अनि दण्डस्वरूप त्यसले पुजारीकहाँ आफ्नो दोषबलि याहवेहका लागि आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा भेडा ल्याओस्।

7 यसरी पुजारीले याहवेहको सामु त्यसका निम्ति प्रायश्‍चित गर्नेछ। अनि आफूलाई दोषी ठहराउने कामबाट त्यसलाई क्षमा मिल्नेछ।”

8 याहवेहले मोशालाई भन्‍नुभयो:

9 “हारून र त्यसका छोराहरूलाई यो आज्ञा दिनू: ‘होमबलिका नियमहरू यिनै हुन्: होमबलि दाउरामाथि रातभरि वेदीको आगो बल्ने स्थानमा बिहानसम्मै रहिरहोस् र वेदीमा आगो बलिरहोस्।

10 त्यसपछि पुजारीले आफ्ना सुतीका पोशाकहरू र भित्री सुती पोशाकहरू शरीरमा लगाओस्, र वेदीमा आगोले जलाएको होमबलिको खरानी निकालेर वेदीको छेउमा राखोस्।

11 तब त्यसले यी वस्त्र फुकालेर अर्को वस्त्र लगाएर छाउनीदेखि बाहिर एउटा चोखो ठाउँमा त्यो खरानी बोकेर लैजाओस्।

12 वेदीमाथिको आगो जलिरहोस्; र त्यो निभ्न नपाओस्। हरेक बिहान पुजारीले त्यसमा दाउरा थपेर होमबलिलाई आगोमाथि मिलाओस् र त्यसमाथि मेलबलिको बोसो जलाओस्।

13 वेदीमाथि आगो निरन्तर जलिरहोस्; त्यो कहिल्यै ननिभोस्।

14 “ ‘अन्‍नबलिका नियमहरू यिनै हुन्: हारूनका छोराहरूले त्यसलाई याहवेहको सामु वेदीको अगिल्तिर ल्याओस्।

15 पुजारीले एक मुठी मसिनो पिठो र केही जैतुनको तेल, र सबै धूपहरू त्यस अन्‍नबलिमाथि लिएर सम्झनाको भाग याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा वेदीमाथि जलाओस्।

16 बाँकी रहेको भाग हारून र त्यसका छोराहरूले खानेछन्। तर त्यो खमिरविना पवित्रस्थानमा समागम पालको आँगनमा खाइनुपर्छ।

17 त्यसलाई खमिरसित पकाइनुहुँदैन। त्यो म याहवेहलाई अग्निबलिको रूपमा चढाइएका भेटीहरूबाट तिनीहरूको भागस्वरूप मैले तिनीहरूलाई दिएको छु। पाप शुद्धीकरण बलि र दोषबलिझैँ त्यो अति पवित्र छ।

18 हारूनका सन्ततिमध्ये कुनै पनि पुरुषले त्यो खान सक्छ। याहवेहलाई अग्निबलिको रूपमा चढाइएका बलिहरूबाट त्यो तिनीहरूका आउने पुस्ताहरूका निम्ति नियमित भाग हो। जजसले यी बलिहरूलाई छुन्छन्, तिनीहरू पवित्र हुनेछन्।’ ”

19 याहवेहले मोशालाई भन्‍नुभयो,

20 “हारून र तिनका छोराहरू अभिषेक भएका दिन तिनीहरूले यी भेटी याहवेहकहाँ ल्याऊन्। मसिनो पिठो एपाको दशौँ भाग नियमित अन्‍नबलिको रूपमा बिहान आधा र बेलुका आधा।

21 त्यसलाई तेलसँग ताप्केमा तयार पारेर राम्रो गरी मिसाएर ल्याउनू। त्यो अन्‍नबलि टुक्रा-टुक्रा गरी भाँचेर याहवेहलाई मनपर्ने बास्‍नाको रूपमा प्रस्तुत गर्नू।

22 जुन छोराले पछि प्रधान पुजारीको रूपमा कार्यभार सम्हाल्नेछ, त्यसैले त्यो तयार गरोस्। त्यो याहवेहको नियमित भाग हो, र त्यसलाई पूरा जलाइओस्।

23 पुजारीको हरेक अन्‍नबलि सबै जलाइओस्, यो खानुहुँदैन।”

24 याहवेहले मोशालाई भन्‍नुभयो,

25 “हारून र त्यसका छोराहरूलाई यसो भन्: ‘पाप शुद्धीकरण बलिका नियमहरू यिनै हुन्: पाप शुद्धीकरण बलिलाई होमबलि मारिएको ठाउँमा याहवेहको सामु मारियोस्, त्यो अति पवित्र हो।

26 जुन पुजारीले त्यो चढाउनेछ, त्यसले नै त्यो खानेछ। त्यसलाई पवित्रस्थानमा समागम पालको आँगनमा खाइयोस्।

27 जुन कुरोले यो मासुलाई छुन्छ, त्यो पवित्र हुनेछ। अनि रगतबाट केही छिर्का कुनै लुगामा पर्‍यो भने तिमीहरूले त्यसलाई कुनै पवित्र ठाउँमा धुनुपर्छ।

28 मासु पकाएको माटोको भाँडा फुटाइनुपर्छ। तर यदि त्यसलाई काँसोको भाँडामा पकाइएको हो भने त्यो भाँडालाई राम्ररी माझेर पानीमा पखाल्नुपर्छ।

29 पुजारीका परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ, त्यो अति पवित्र हो।

30 तर कुनै पाप शुद्धीकरण बलिको रगत पवित्र ठाउँमा प्रायश्‍चितका लागि समागम पालभित्र ल्याइयो भने त्यसलाई खानुहुँदैन। यसलाई आगोमा जलाइनुपर्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Levítico 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.