Levítico 24

npioncb (NPIONCB)

1 याहवेहले मोशालाई भन्‍नुभयो,

2 “इस्राएलीहरूलाई आज्ञा दिनू, कि तिनीहरूले उज्यालोका निम्ति पेलेको जैतुनको शुद्ध तेल ल्याऊन्, र दियाहरू निरन्तर बलिरहून्।

3 समागम पालमा गवाही पर्दाको बाहिर हारूनले साँझदेखि बिहानसम्मै लगातार याहवेहको सामु बत्तीहरूको रेखदेख गरिरहोस्। यो भावी पुस्ताका लागि सदा रहिरहने विधि हुनुपर्छ।

4 याहवेहको सामु निखुर सुनको पानसमा बत्तीहरूको रेखदेख लगातार भइरहनुपर्छ।

5 “प्रत्येक रोटीको लागि एपाको दश भागको दुई भाग प्रयोग गरेर मसिनो पिठोको बाह्र वटा रोटीहरू पकाउनू।

6 तिनीहरूलाई एक लहरमा छ वटा गरेर दुई लहरमा, याहवेहका सामु निखुर सुनको टेबुलमा मिलाएर राख्नू।

7 याहवेहकहाँ अग्निबलि हुन दिनलाई र रोटीको प्रतिनिधित्व गर्नलाई सम्झनाको भागस्वरूप प्रत्येक लहरमा केही शुद्ध धूप बाल्नू।

8 यी रोटीलाई इस्राएलीहरूको पक्षबाट सदाको करारस्वरूप याहवेहका सामु हरेक शब्बाथ दिनमा नियमित रूपले राख्नू।

9 त्यो हारून र त्यसका छोराहरूका निम्ति हुनेछ, तिनीहरूले त्यसलाई पवित्र ठाउँमा खाऊन्। किनभने यो याहवेहका निम्ति आगोद्वारा चढाइएको बलिबाट तिनीहरूका नियमित अति पवित्र भाग हो।”

10 अब एउटी इस्राएली आमा र इजिप्टियन बुबाको छोरा इस्राएलीहरूको बीचमा गयो। अनि त्यस इस्राएली स्त्रीको छोरा र इस्राएलीहरू बीचको छाउनीमा झगडा सुरु भयो।

11 इस्राएली स्त्रीको छोराले सरापेर याहवेहको निन्दा गर्‍यो। त्यसकारण तिनीहरूले त्यसलाई मोशाकहाँ ल्याए। (त्यसकी आमाको नाम शलोमीत थियो, जो दान कुलको दिब्रीकी छोरी थिइन्।)

12 याहवेहको इच्छा स्पष्‍ट नभएसम्म तिनीहरूले त्यसलाई थुनामा राखे।

13 तब याहवेहले मोशालाई भन्‍नुभयो:

14 “यस ईश्‍वर निन्दकलाई छाउनीबाहिर लैजानू। त्यसले बोलेका सुन्‍नेहरू सबैले त्यसको शिरमाथि हात राखून्। अनि सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्।

15 इस्राएलीहरूलाई भन्: ‘यदि कसैले परमेश्‍वरलाई सराप्छ भने त्यो पापको जिम्मेवार ठहरिनेछ।

16 यदि कसैले याहवेहको नामको निन्दा गर्छ भने त्यो मारियोस्। सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्। चाहे परदेशी होस् वा स्वदेशमा जन्मेको होस्। कसैले याहवेहको नामको निन्दा गर्‍यो भने त्यो मारियोस्।

17 “ ‘यदि कसैले मानिसको हत्या गर्‍यो भने त्यो मारिनुपर्छ।

18 जसले कसैको पशुलाई मार्छ भने त्यसले हर्जाना तिर्नुपर्छ—प्राणको साटो प्राण।

19 यदि कसैले आफ्नो छिमेकीलाई चोट पार्‍यो भने त्यसले उसलाई जे गरेको छ, त्यसलाई पनि त्यसै गरियोस्।

20 हाड भाँचिदिएको सट्टा हाड; आँखाको सट्टा आँखा; दाँतको सट्टा दाँत। जसरी त्यसले अरूलाई चोट पारेको छ, त्यसरी नै त्यस मानिसलाई पनि चोट पारिनुपर्छ।

21 जसले कुनै पशु मार्छ, त्यसले हर्जाना तिर्नुपर्छ; तर जसले मानिस मार्छ, त्यो मारिनैपर्छ।

22 परदेशी वा स्वदेशी मानिसका निम्ति तिमीहरूको एउटै कानुन हुनुपर्छ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

23 त्यसपछि मोशाले इस्राएलीहरूसित कुरा गरे, र तिनीहरूले त्यस ईश्‍वर निन्दकलाई छाउनीबाहिर लगे, र ढुङ्गाले हिर्काए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Levítico 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.