Lucas 5

npioncb (NPIONCB)

1 एक दिन येशू गनेसरेत तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्‍वरको वचन सुन्‍न ठेलमठेल गरिरहेका थिए।

2 त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुई वटा डुङ्गाहरू देख्नुभयो; मछुवाहरूचाहिँ जाल धोइरहेका थिए।

3 उहाँ ती दुईमध्ये सिमोनको डुङ्गामा चढ्नुभयो, र किनारबाट अलिक पर लैजान भन्‍नुभयो। उहाँले डुङ्गामा बसेर मानिसहरूलाई शिक्षा दिनुभयो।

4 बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई गहिरोतिर लैजाऊ, र माछा पक्रन जाल हान।”

5 सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्‍यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्‍नुहुन्छ भने म जाल हाल्नेछु।”

6 जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो।

7 त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा डुब्ला झैँ भयो।

8 जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, “हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म एउटा पापी मानिस हुँ!”

9 किनकि तिनी र तिनका साथीहरू आफूले पक्रेका त्यति धेरै माछा देखेर छक्‍कै परेका थिए;

10 त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्‍ना पनि, जो सिमोनका साझेदारहरू थिए।

11 यसैले डुङ्गालाई तानेर किनारमा ल्याएपछि तिनीहरूले सबै कुराहरू त्यागेर उहाँको पछि लागे।

12 येशू कुनै एउटा सहरमा हुनुभएको बेला एक जना कुष्‍ठरोगले ढाकेको मानिस आयो। येशूलाई देखेपछि भुइँमा घोप्टो परी त्यसले बिन्ती गर्‍यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”

13 येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ।” अनि तुरुन्तै कुष्‍ठरोगले त्यसलाई छोड्यो।

14 त्यसपछि येशूले त्यस मानिसलाई आज्ञा दिनुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ र आफैँलाई पुजारीकहाँ देखाऊ, र मोशाले तिमीहरूको शुद्धीकरणका निम्ति दिएका आज्ञाअनुसार तिनीहरूका साक्षीका लागि बलिदानहरू चढाऊ।”

15 तर उहाँको विषयमा झन् धेरै चर्चा फैलियो, जसले गर्दा मानिसहरूका ठूला-ठूला भीड उहाँको शिक्षा सुन्‍न र आ-आफ्ना रोगहरूबाट निको हुन उहाँकहाँ आउँथे।

16 तर येशू प्रायः तिनीहरूबाट अलग भई एकान्त स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।

17 एक दिन येशूले शिक्षा दिइरहनुहुँदा गालील प्रदेशका हरेक गाउँ, यहूदिया प्रदेश र यरूशलेमबाट आएका फरिसीहरू र व्यवस्थाका शिक्षकहरू त्यहीँ बसिरहेका थिए। अनि बिरामीहरूलाई निको पार्नका लागि प्रभुको शक्ति उहाँसँग थियो।

18 केही मानिसहरूले पक्षघात भएको एउटा मानिसलाई ओछ्यानमा बोकेर ल्याए, र त्यस मानिसलाई येशूको अगिल्तिर राखिदिन घरभित्र लैजान प्रयास गरे।

19 तर भीडको कारणले गर्दा केही उपाय नलागेपछि तिनीहरू छानामाथि चढे, र छानालाई उक्‍काएर त्यसको ओछ्यानसमेत नै त्यहीँबाट ठिक येशूको सामु ओरालिदिए।

20 जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “मित्र, तिम्रा पापहरू क्षमा भएका छन्।”

21 फरिसी र व्यवस्थाका शिक्षकहरूले आफैँमा विचार गर्न लागे, “ईश्‍वरनिन्दा गर्ने यो मानिस को हो? परमेश्‍वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ?”

22 तिनीहरूका विचारहरू थाहा पाएर येशूले सोध्नुभयो, “आफ्ना हृदयमा तिमीहरूले किन यस्ता कुराहरू विचार गर्दैछौ?

23 के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ र हिँड’ भन्‍नु?

24 तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।”

25 त्यो तुरुन्तै तिनीहरूका बीचमा उठ्यो, र आफू जुन ओछ्यानमा थियो, त्यसलाई बोकेर परमेश्‍वरको प्रशंसा गर्दै घर फर्कियो।

26 सबै जनाले अचम्म माने र परमेश्‍वरको प्रशंसा गरे। तिनीहरू भयभीत भएर भने, “आज हामीले आश्‍चर्यका कामहरू देखेका छौँ।”

27 त्यसपछि येशू बाहिर जानुभयो, र उहाँले लेवी नाम भएका एक जना कर उठाउनेलाई तिनको अड्डामा बसिरहेका देख्नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “मेरो पछि लाग।”

28 तिनी सबै कुरा छोडेर उठे र उहाँको पछि लागे।

29 त्यसपछि लेवीले आफ्नो घरमा येशूका निम्ति एउटा ठूलो भोजको आयोजना गरे। कर उठाउनेहरू र अरू मानिसहरू ठूलो संख्यामा भोजमा बसिरहेका थिए।

30 तर तिनीहरूका सम्प्रदायका फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले उहाँका चेलाहरूसँग गनगन गरे, “तिमीहरू किन कर उठाउनेहरू र पापीहरूसित खानपान गर्दछौ?”

31 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्दछ।

32 म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्‍चात्तापको निम्ति बोलाउन आएको हुँ।”

33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्दछन् र प्रार्थना गर्दछन्; अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्, तर तपाईंका चेलाहरू भने सधैँ खानपान नै गरिरहन्छन्।”

34 येशूले जवाफ दिनुभयो, “के दुलहा साथमा रहुन्जेल जन्तीहरूलाई तिमीहरूले उपवास बस्‍न लगाउन सक्छौ?

35 तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।”

36 उहाँले तिनीहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो: “कुनै मानिसले नयाँ लुगा च्यातेर टालो निकालेर पुरानो लुगामा टाल्दैन; किनकि त्यसले नयाँ लुगा पनि फटाउँछ र नयाँ टालो पुरानोसँग मिल्दैन पनि।

37 त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन; नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्; दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्‍ट हुन्छ।

38 त्यसो हुन नदिन नयाँ दाखमद्य नयाँ मशकमै राखिनुपर्दछ।

39 अनि पुरानो दाखमद्य पिएपछि कसैले पनि नयाँको चाहना गर्दैन; किनकि त्यसले भन्छ, ‘पुरानै असल छ।’ ”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.