Juízes 7

npioncb (NPIONCB)

1 बिहान सबेरै यरूब-बाल (जो, गिदोन हुन्), र तिनका सबै मानिसहरूले हेरोदको पानीको मूलमा छाउनी हाले। मिद्यानको छाउनीचाहिँ तिनीहरूको उत्तरतिर मोरेको डाँडाको छेउको बेँसीमा थियो।

2 याहवेहले गिदोनलाई भन्‍नुभयो: “मिद्यानीहरूलाई तिमीहरूका हातमा सुम्पिदिनलाई तँसित अति धेरै मानिसहरू छन्। नत्रता त इस्राएलले मेरो विरुद्ध घमण्ड गर्नेछ, ‘मेरो आफ्नै शक्तिले आफूलाई बचाएको हुँ।’

3 अब मानिसहरूलाई सूचित गर, ‘डरले काँप्नेहरू जो कोही गिलाद डाँडालाई छोडेर फर्किजाऊन्।’ ” यसकारण बाइस हजार जना फर्के, र दश हजारचाहिँ रहे।

4 तर याहवेहले गिदोनलाई भन्‍नुभयो, “मानिसहरू अझ पनि धेरै छन्। तिनीहरूलाई तल पानीमा लैजानू र त्यहाँ म तिनीहरूलाई तेरा निम्ति छान्‍नेछु। यदि मैले तँलाई ‘योचाहिँ तँसित जानेछ’ भनेर जब म भन्छु, तब त्यो जानेछ; तर यदि मैले ‘योचाहिँ तँसित जानेछैन’ भनेर जब म भन्छु, तब त्योचाहिँ जानेछैन।”

5 यसकारण गिदोनले तिनीहरूलाई तल पानीमा लगे। त्यहाँ याहवेहले तिनलाई भन्‍नुभयो, “जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ, त्यसलाई घुँडा टेकेर पिउनेबाट अलग्गै राख्।”

6 तीन सय जनाले आफ्ना हात मुखमा लगेर पानी चाटेर पिए। बाँकी सबैले आफ्ना घुँडा टेकाएर पानी पिए।

7 याहवेहले गिदोनलाई भन्‍नुभयो: “ती पानी चाट्ने तीन सय जना मानिसद्वारा म तिमीहरूलाई छुटकारा गर्नेछु र मिद्यानीहरूलाई तिमीहरूका हातमा दिनेछु। अरू सबै मानिसहरू आ-आफ्ना घरमा जाऊन्।”

8 यसकारण गिदोनले बाँकी इस्राएलीहरूलाई तिनीहरूका पालहरूमा पठाइदिए। तर तीन सय जनालाई चाहिँ राखे, जसले अरूका सामग्री र तुरहीहरू आफ्ना जिम्मामा लिए।

9 त्यस रात याहवेहले गिदोनलाई भन्‍नुभयो, “उठ्, र त्यस छाउनीको विरुद्धमा तल झर्; किनकि त्यसलाई मैले तेरो हातमा सुम्पिदिन लागेको छु।

10 यदि तँलाई आक्रमण गर्न डर लाग्यो भने तेरो सेवक पूराहसित तल छाउनीमा जा।

11 अनि तिनीहरूले के भनिरहेका छन्, त्यो सुन्। त्यसपछि तँलाई छाउनीमाथि आक्रमण गर्ने साहस मिल्नेछ।” यसकारण तिनी र तिनका सेवक पूराह छाउनीको बाहिरी भागको तलतिर गए।

12 मिद्यानीहरू, अमालेकीहरू र पूर्वका अरू मानिसहरू त्यस बेँसीमा सलहजत्तिकै बाक्लो गरी बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवाझैँ अनगन्ती थिए।

13 जब गिदोन त्यहाँ आइपुगे, तब एक जना मानिसले आफ्नो साथीलाई एउटा सपना सुनाइरहेको थियो। त्यसले सपना सुनाउँदै भन्यो, “मैले एउटा सपना देखेँ। जौको एउटा गोलो रोटी मिद्यानीहरूको छाउनीभित्र गुड्दै आयो। त्यसले पाललाई यति जोडसित प्रहार गर्‍यो कि पाल नै पल्टेर भत्कियो।”

14 त्यसको साथीले जवाफ दियो, “यो त इस्राएली योआशको छोरा गिदोनको तरवारबाहेक अरू केही हुन सक्दैन। परमेश्‍वरले मिद्यानीहरू र सम्पूर्ण छाउनीलाई तिनको हातमा सुम्पिदिनुभएको छ।”

15 त्यो सपना र त्यसको अर्थ सुनेपछि गिदोनले परमेश्‍वरलाई साष्‍टाङ्ग दण्डवत् र आराधना गरे। तिनी इस्राएलको छाउनीमा फर्के, र जोडसित आह्वान गरे, “उठ! याहवेहले मिद्यानीहरूका छाउनीलाई तिमीहरूका हातमा दिनुभएको छ।”

16 अनि तिनले ती तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। तिनले तुरहीहरू र भित्र राँकाहरू भएका रित्ता गाग्राहरू तिनीहरू सबैका हातमा राखिदिए।

17 अनि तिनले तिनीहरूलाई भने, “मतिर ध्यान देओ।” मेरो पछि-पछि लाग। जब म छाउनीको किनारमा पुग्छु, तब मैले गरेझैँ गर।

18 जब म र मसित भएका सबैले आफ्ना तुरही फुक्छौ, तब छाउनीका चारैतिरबाट तिमीहरूका तुरही फुकेर चिच्याउनू, “याहवेहका निम्ति र गिदोनका निम्ति!”

19 गिदोन र तिनीसँग भएका एक सय मानिसहरू मध्यरात अगि छाउनीको छेउमा पुगे। त्यति बेला पहरेदारको पालो भर्खर फेरिएको थियो। तिनीहरूले आफ्ना तुरही फुके, र आफ्ना हातमा भएका गाग्राहरू फुटाए।

20 ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके, र गाग्राहरू फुटाए। तिनीहरूले देब्रे हातमा राँको समाते र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “याहवेहको निम्ति र गिदोनको निम्ति तरवार!”

21 प्रत्येक मानिसले छाउनीको चारैतिर आ-आफ्नो मोर्चा सम्हालेको बेला सबै मिद्यानीहरू चिच्याउँदै भागे।

22 जब तीन सय वटा तुरहीहरू फुकिए, तब याहवेहले मानिसहरूलाई आफ्ना तरवार लिएर छाउनीभरि एक-अर्कालाई हमला गर्न लगाउनुभयो। त्यो फौज तब्बातको छेउमा भएको अबेल-महोलाको सिमानासम्म सरेरातिरको बेथ-शित्तामा भाग्यो।

23 नप्‍ताली, आशेर र सम्पूर्ण मनश्शेबाट इस्राएलीहरू बोलाइए, र तिनीहरूले मिद्यानीहरूलाई लखेटे।

24 गिदोनले एफ्राइमको पहाडी मुलुकभरि यसो भन्दै दूतहरू पठाए, “मिद्यानीहरूका विरुद्धमा ओर्लिआओ, र बेथ-बारासम्म तिनीहरूको सामु यर्दनको पानीलाई घेरा लगाओ।”

25 तिनीहरूले मिद्यानीहरूका दुई जना शासकहरू ओरेब र जीबलाई दाखको कोलमा पक्रे। तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा र जेबहलाई जीबको दाखको कोलमा मारे। तिनीहरूले मिद्यानीहरूलाई खेद्‌दै गए, र ओरेब र जेबहका शिरहरू यर्दन वारि गिदोनकहाँ ल्याए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Juízes 7, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.