Josué 17

npioncb (NPIONCB)

1 त्यसपछि योसेफको पहिलो सन्तान मनश्शेको कुललाई छुट्ट्याइएको भाग यही थियो। माकीरचाहिँ गिलादीहरूका पुर्खा थिए; जसले गिलाद र बाशान पाएका थिए। किनकि माकीरहरू महान् योद्धाहरू थिए।

2 यसकारण यो भागचाहिँ मनश्शेका बाँकी रहेका मानिसहरू—अबीएजेर, हेलेक, अस्रीएल, शेकेम, हेपेर र शमीदाका वंशहरूका लागि थियो। तिनीहरू आफ्ना वंशअनुसार योसेफका छोरा मनश्शेका कुलका मुखियाहरू हुन्।

3 मनश्शेका छोरा माकीर, तिनका छोरा गिलाद, तिनका छोरा हेपेर, तिनका छोरा सलोफादका कुनै छोराहरू थिएनन्; तर छोरीहरू मात्र थिए। तिनीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा नाम भएका थिए।

4 तिनीहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र अगुवाहरूकहाँ गएर भने, “हामीलाई हाम्रा दाजुभाइहरूसँग नै अधिकार दिनू भनेर याहवेहले मोशालाई आज्ञा दिनुभएको थियो।” यसकारण यहोशूले तिनीहरूलाई याहवेहको आज्ञाअनुसार तिनीहरूका बुबाका दाजुभाइहरूसँग उत्तराधिकारको भाग दिए।

5 मनश्शेको भागमा यर्दनको पूर्वपट्टिको गिलाद र बाशानको छेउमा भएका ठाउँका दश वटा भागहरू पर्‍यो।

6 किनकि मनश्शेको कुलका छोरीहरूले छोराहरूसँगै उत्तराधिकार पाएका थिए। गिलादचाहिँ मनश्शेका बाँकी रहेका सन्तानहरूका निम्ति दिइयो।

7 मनश्शेको प्रान्त आशेरदेखि शेकेमको पूर्वपट्टि मिक्मतातसम्म फैलिएको थियो। त्यहाँदेखि सिमाना दक्षिणतिर बढेर एन-तप्पूहमा बस्‍ने बासिन्दाहरूसम्म पुगेको थियो।

8 (मनश्शेसँग तप्पूहको जमिन थियो। तर मनश्शेको सिमानामा भएको तप्पूहचाहिँ एफ्राएमीहरूको थियो।)

9 त्यसपछि त्यो सिमाना दक्षिणतिर अगि बढेर कनाको खोल्सासम्म पुगेको थियो। त्यहाँ मनश्शेका सहरहरूमा बस्‍ने एफ्राएमीहरूका सहरहरू थिए। तर मनश्शेको सिमाना खोल्साको उत्तरपट्टि थियो, र महासागरमा टुङ्गिएको थियो।

10 दक्षिणपट्टिको भाग एफ्राइमको थियो र उत्तरमा मनश्शेको थियो। मनश्शेको प्रान्त महासागरमा पुगेको थियो। अनि उत्तरतिर आशेरको र पूर्वपट्टि इस्साखारको सिमाना थियो।

11 इस्साखार र आशेरभित्र बेथ-शान, यिबलाम र डोर, एन्दोर, तानाक र मगिद्दोका मानिसहरू साथै चारैतिरका बस्तीहरू पनि मनश्शेका थिए (त्यस सूचीमा तेस्रोचाहिँ नापोत हो)।

12 तैपनि मनश्शेका सन्तानहरूले यी सहरहरू अधिकार गर्न सकेनन्; किनकि कनानीहरूले त्यस इलाकामा बस्‍ने निश्‍चय गरेका थिए।

13 तर पनि जब इस्राएलीहरू बलिया भए, तब तिनीहरूले कनानीहरूलाई जबरजस्ती मजदुरीमा खटाए। तर तिनीहरूलाई पूर्ण रूपले धपाएनन्।

14 योसेफका मानिसहरूले यहोशूलाई भने, “किन तपाईंले हामीलाई उत्तराधिकारको एउटै बाँडफाँडमा एक भाग मात्र दिनुभयो? जबकि हामी संख्यामा धेरै छौँ। अनि याहवेहले हामीलाई प्रशस्त मात्रामा आशिष् दिनुभएको छ।”

15 यहोशूले जवाफ दिए, “यदि तिमीहरू संख्यामा धेरै छौ, र एफ्राइमको पहाडी मुलुक तिमीहरूका लागि अति सानो भएको छ भने परिज्जी र रपाईहरूको देशमा गएर आफ्ना लागि जङ्गल फँडानी गर।”

16 योसेफका मानिसहरूले जवाफ दिए, “त्यो पहाडी मुलुक हाम्रा निम्ति पर्याप्‍त छैन। अनि मैदानमा बस्‍ने कनानीहरूसँग, बेथ-शान र त्यसमा बस्‍नेहरू अनि यिजरेलको बेँसीमा बस्‍ने सबैसँग फलामका रथहरू छन्।”

17 तर यहोशूले योसेफको कुल—एफ्राइम र मनश्शेलाई भने, “तिमीहरू संख्यामा धेरै छौ; र अति शक्तिशाली पनि छौ। त्यसैले तिमीहरूको एउटा मात्र भाग हुनेछैन।

18 यहाँ जङ्गल भएको पहाडी मुलुक पनि छ। त्यसलाई फँडानी गर। अनि त्यसको पल्‍लो छेउसम्म नै त्यो तिमीहरूको हुनेछ। कनानीहरूसँग फलामका रथहरू भए तापनि र तिनीहरू बलिया भए तापनि तिमीहरूले तिनीहरूलाई धपाउन सक्नेछौ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.