Jeremias 28

npioncb (NPIONCB)

1 त्यही वर्षको पाँचौँ महिनामा, यहूदाका राजा सिदकियाहको शासनकालको चौथो वर्षको सुरुवातमा गिबोनमा बस्‍ने अज्जूरको छोरा हनन्याह अगमवक्ताले याहवेहको भवनमा पुजारीहरू र मानिसहरूका उपस्थितिमा मलाई भने,

2 “सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु।

3 बेबिलोनको राजा नबूकदनेसरले यस ठाउँबाट निकालेर बेबिलोनमा लगेका याहवेहको भवनका सबै सामग्रीहरू दुई वर्षभित्र नै म फर्काएर ल्याउनेछु।

4 यहोयाकीमका छोरा यहूदाको राजा यहोयाकीन र यहूदाबाट निकालिएर बेबिलोनमा लगिएका अरू सबै मानिसहरूलाई पनि म यस ठाउँमा फर्काएर ल्याउनेछु,’ याहवेह घोषणा गर्नुहुन्छ; ‘किनकि म बेबिलोनको राजाको जुवा भाँचिदिनेछु।’ ”

5 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई याहवेहको भवनमा उभिरहेका पुजारीहरू र सबै मानिसहरूको सामु जवाफ दिए।

6 तिनले भने, “आमेन! याहवेहले त्यसै गरून्! याहवेहको भवनका सबै सामग्रीहरू र निर्वासनमा लगिएका सबैलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याउने भनेर, तिमीले गरेको अगमवाणीका वचनहरू याहवेहले पूरा गरिदेऊन्।

7 तापनि सुन, तिमी र सबै मानिसहरूले सुन्‍ने गरी म केही कुरा भन्‍न चाहन्छु सुन:

8 सुरुदेखि नै तिमी र मभन्दा अगिका अगमवक्ताहरूले धेरै देशहरू र ठूला राज्यहरूको विरुद्धमा लडाइँ, विपत्ति र रूढीको अगमवाणी गर्थे।

9 तर याहवेहको शान्तिको अगमवाणी गर्ने अगमवक्तालाई साँच्‍चै याहवेहले नै पठाउनुभएको हो भनेर तब मात्र चिनिन्छ, जब त्यसले भनेको अगमवाणीहरू पूरा हुन्छ।”

10 तब अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर त्यसलाई भाँचिदिए;

11 अनि तिनले सबै मानिसहरूको सामु भने, “याहवेह यसो भन्‍नुहुन्छ: ‘यसै गरी म दुई वर्षभित्र सबै राष्ट्रहरूका काँधबाट बेबिलोनको राजा नबूकदनेसरको जुवा भाँचिदिनेछु।’ ” त्यसपछि अगमवक्ता यर्मियाचाहिँ आफ्नो बाटो लागे।

12 अगमवक्ता हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिएपछि यर्मियाकहाँ याहवेहको वचन आयो:

13 “जा, र हनन्याहलाई भन्, ‘याहवेह यसो भन्‍नुहुन्छ: तैँले काठको जुवा भाँचिस्, तर त्यसको ठाउँमा फलामको जुवा पाउनेछस्।’

14 सेनाहरूका याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘बेबिलोनको राजा नबूकदनेसरको सेवा गरून् भनेर म यी सबै राष्ट्रहरूका काँधमा फलामको जुवा राखिदिनेछु; अनि तिनीहरूले नबूकदनेसरको सेवा गर्नेछन्। म त्यसलाई जङ्गली जनावरहरूमाथि पनि अधिकार गर्नलाई दिनेछु।’ ”

15 तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन, हनन्याह! याहवेहले तिमीलाई पठाउनुभएको थिएन, तर पनि तिमीले यस राष्ट्रलाई झूटो अगमवाणीका कुराहरूमा विश्‍वास गर्न लगायौ।

16 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई पृथ्वीबाट हटाउन लागेको छु। तँ यही वर्ष नै मर्नेछस्; किनभने तैँले याहवेहको विरुद्धमा विद्रोहको प्रचार गरिस्।’ ”

17 अनि त्यही वर्षको सातौँ महिनामा अगमवक्ता हनन्याहको मृत्यु भयो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.