João 19

npioncb (NPIONCB)

1 त्यसपछि पिलातसले येशूलाई कोर्राले हान्‍न लगाए।

2 अनि सिपाहीहरूले काँडाहरू बटारेर एउटा मुकुट गुँथेर उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँलाई बैजनी लुगा पहिर्‍याइदिए।

3 घरी-घरी येशूकहाँ आएर “यहूदीहरूका राजाको जय होस्!” भने। अनि तिनीहरूले येशूलाई मुखमा थप्पड लगाए।

4 फेरि एकपल्ट बाहिर निस्केर पिलातसले यहूदीहरूलाई भने, “हेर! म यसलाई अब तिमीहरूका सामु बाहिर ल्याउँदैछु; ताकि तिमीहरूलाई यो स्पष्‍ट थाहा होस्, यस मानिसमा मैले कुनै दोष भेट्टाइनँ।”

5 जब येशू काँडाको मुकुट र बैजनी लुगा लगाएरै बाहिर आउनुभयो, तब पिलातसले भने, “हेर! यो मान्छेलाई!”

6 उहाँलाई देख्नेबित्तिकै मुख्य पुजारीहरू र हाकिमहरू यसरी चिच्याउन थाले, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! क्रूसमा टाँग्नुहोस्!”

7 यहूदीहरूले तिनलाई उत्तर दिए, “हाम्रो आफ्नै व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मानिस मर्नैपर्छ; किनकि यसले आफूलाई परमेश्‍वरको पुत्र भनेर दाबी गरेको छ।”

8 जब पिलातसले यो कुरा सुने, तब तिनी झन् धेरै डराए।

9 तिनले फेरि येशूलाई महलभित्र लगे, र उहाँलाई सोधे, “तिमी कहाँबाट आएका हौ?” तर येशूले केही जवाफ दिनुभएन।

10 पिलातसले सोधे, “के तिमी मलाई उत्तर दिँदैनौ? तिमीलाई छोडिदिने अथवा क्रूसमा टाँग्ने अधिकार मसित छ भनी के तिमी जान्दैनौ?”

11 तब येशूले भन्‍नुभयो, “यदि माथिबाट नदिइएको भए ममाथि तपाईंको केही अधिकार हुनेथिएन। त्यसकारण मलाई तपाईंकहाँ ल्याउने व्यक्ति अझ बढ्ता पापको दोषी छ।”

12 यो सुनेर पिलातसले येशूलाई छोडिदिने कोसिस गरे। तर यहूदीहरूले चिच्याउँदै भने, “तपाईंले यस मान्छेलाई छोडिदिनुभयो भने तपाईं सिजरका मित्र हुनुहुन्‍न। आफूलाई राजा घोषणा गर्ने जो कोही पनि सिजरको विरोधी हुन्छ।”

13 यो कुरा सुनेर पिलातसले फेरि येशूलाई बाहिर तिनीहरूका अगि ल्याए, र आफूचाहिँ ढुङ्गाको पाटी हिब्रू भाषामा “गब्बथा” भनिने न्याय आसनमाथि बसे।

14 यतिबेला निस्तार चाडको तयारी गर्ने दिनको मध्यान्ह भएको थियो।

15 तर तिनीहरूले चिच्याउँदै भने, “त्यसलाई लैजानुहोस्! त्यसलाई लैजानुहोस्! क्रूसमा टाँग्नुहोस्!”

16 आखिरमा पिलातसले येशूलाई क्रूसमा टँगाइनका लागि तिनीहरूका हातमा सुम्पिदिए।

17 येशू आफ्नो क्रूस आफैँले बोकेर खप्परे भनिने ठाउँमा (आरामाईक भाषामा गलगथा भनिन्छ) पुग्नुभयो।

18 त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अरू दुई जनालाई पनि उहाँसँगै एक जनालाई दायाँपट्टि र अर्कोलाई बायाँपट्टि र येशूलाई माझमा टाँगे।

19 अनि यसो भनेर लेखिएको दोषपत्र पिलातसले उहाँको शिरमाथि क्रूसमा टाँसिदिए:

20 धेरै यहूदीहरूले त्यो दोषपत्र पढे; किनकि येशूलाई क्रूसमा टँगाइएको ठाउँ सहरको नजिक थियो। अनि सो दोषपत्र आरामाईक, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।

21 यहूदीहरूका मुख्य पुजारीहरूले आपत्ति जनाउँदै पिलातसलाई भने, “ ‘यहूदीहरूको राजा’ होइन, तर यसले आफूलाई ‘म यहूदीहरूको राजा हुँ’ भन्थ्यो भनी लेखिदिनुहोस्!”

22 तर पिलातसले जवाफ दिए, “मैले जे लेखेँ, सो लेखेँ।”

23 येशूलाई क्रूसमा टाँगेपछि सिपाहीहरूले उहाँको बाहिरी वस्त्रहरूलाई लिएर हरेक सिपाहीका निम्ति एक-एक भाग हुने गरी चार भाग लगाए, उहाँको भित्री वस्त्र लिए जुन नसिलाएको माथिदेखि तलसम्म एउटै थियो।

24 तिनीहरूले आपसमा सल्‍लाह गरे, “यो वस्त्रचाहिँ नच्यातौँ, तर यो कसको भागमा पर्ने हो, चिट्ठा हालेर हेरौँ।”

25 येशूको क्रूसको नजिकै उहाँकी आमा मरियम, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए।

26 जब येशूले त्यहाँ आफ्नी आमालाई र उहाँले धेरै प्रेम गर्नुहुने चेलालाई नजिकैमा उभिरहेको देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी! हेर्नुहोस्, तपाईंको छोरा!”

27 अनि चेलालाई उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा।” त्यस दिनदेखि त्यस चेलाले येशूकी आमालाई आफ्नै घरमा लगे।

28 अब सबै कुरा सिद्धियो भनी जानेर धर्मशास्त्रमा लेखिएको कुरा पूरा होस् भनेर येशूले भन्‍नुभयो, “मलाई तिर्खा लाग्यो।”

29 त्यहाँ सिर्काले भरिएको एउटा घैँटो राखिएको थियो। तब तिनीहरूले एउटा स्पन्ज त्यसमा डुबाई हिसपको डाँठमा अड्काएर उहाँको ओठमा पुर्‍याइदिए।

30 सिर्का लिनुभएपछि येशूले यसो भन्‍नुभयो, “अब पूरा भयो।” त्यसपछि उहाँले शिर निहुराएर आफ्नो प्राण त्याग्नुभयो।

31 त्यो दिनचाहिँ तयारीको दिन थियो। अनि भोलिपल्ट विशेष शब्बाथ दिन थियो। यहूदीहरूले शब्बाथको दिन लासहरू क्रूसमा रहेको चाहँदैनथिए। त्यसकारण तिनीहरूले पिलातसलाई तिनीहरूका खुट्टा भाँचेर लास झार्न लगाउन बिन्ती गरे।

32 सिपाहीहरू आएर येशूसँगै क्रूसमा टाँगिएका अरू दुई मान्छेहरूका खुट्टा भाँचिदिए।

33 तर सिपाहीहरू येशूकहाँ आउँदा तिनीहरूले उहाँलाई अगि नै मरिसक्नुभएको भेट्टाए। यसकारण तिनीहरूले उहाँका खुट्टा भाँचेनन्।

34 तैपनि एक जना सिपाहीले चाहिँ भालाले उहाँको कोखामा घोच्यो, र त्यहाँबाट तुरुन्तै रगत र पानी निस्क्यो।

35 यो देख्ने मान्छेले आफ्नो साक्षी दिएको छ, र उसको साक्षी सत्य छ। साँच्‍चै बोल्दछु भनी उसले जानेकोले तिमीहरूले पनि विश्‍वास गर्न सक भनेर आफ्नो साक्षी उसले यसरी दिएको हो।

36 “उहाँको एउटै हड्डी पनि भाँचिनेछैन” भन्‍ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुराहरू हुन आएको हो।

37 अनि फेरि अर्को ठाउँमा धर्मशास्त्रले भन्दछ, “जसले उहाँलाई घोचेका थिए, तिनीहरूले उहाँलाई हेर्नेछन्।”

38 त्यसपछि अरिमथियाका योसेफले पिलातसकहाँ गएर उहाँको मृत शरीरलाई लैजान पाऊँ भनी अनुमति मागे। योसेफ येशूका चेला थिए। तर यो कुरा गोप्य थियो; किनकि उनी यहूदी अगुवाहरूदेखि डराउँथे। पिलातसको अनुमति लिएर तिनी आएर उहाँको मृत शरीर लगे।

39 येशूकहाँ राति आउने मानिस निकोदेमस पनि उनीसित साथमा थिए। निकोदेमसले चौँतीस किलो जति मूर्र र एलवाले बनिएको सुगन्धित मिश्रण ल्याए।

40 ती दुईले येशूको लासलाई त्यस सुगन्धित मिश्रणमा राखेर लामो मलमलको कपडामा बेह्रे। यहूदीहरूको लास गाड्ने संस्कार यस्तै थियो।

41 येशू क्रूसमा टँगाइनुभएको ठाउँ नजिकै एउटा बगैँचा थियो। त्यस बगैँचामा एउटा नयाँ चिहान थियो, जसमा कहिल्यै कसैलाई राखिएको थिएन।

42 यहूदीहरूको तयारीको दिन परेकोले अनि त्यो चिहान नजिकै भएकोले गर्दा तिनीहरूले येशूको मृत शरीरलाई त्यही चिहानमा राखे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.