João 1

npioncb (NPIONCB)

1 आदिमा वचन हुनुहुन्थ्यो र वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो। अनि वचन परमेश्‍वर हुनुहुन्थ्यो।

2 आदिमा उहाँ परमेश्‍वरसँग हुनुहुन्थ्यो।

3 सबै कुराहरू उहाँद्वारा बनिए; बनाइएका कुराहरूमध्ये कुनै पनि उहाँविना बनिएन।

4 उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।

5 ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेको छैन।

6 परमेश्‍वरबाट पठाइएका एक जना मानिस आए। तिनको नाम यूहन्‍ना थियो।

7 तिनीद्वारा सबै मानिसहरूले विश्‍वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए।

8 तिनी आफैँ त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए।

9 हरेक मानिसलाई ज्योति दिनलाई, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो।

10 उहाँ संसारमा हुनुहुन्थ्यो। अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन।

11 उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्।

12 तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाममाथि विश्‍वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्‍वरका सन्तान हुने अधिकार दिनुभयो।

13 ती सन्तानहरू न त प्राकृतिक वंशक्रमद्वारा, न त शारीरिक इच्छाद्वारा वा कुनै मान्छेको इच्छाद्वारा, तर परमेश्‍वरबाट जन्मेका हुन्।

14 वचन देहधारी हुनुभयो, र हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देखेका छौँ, अर्थात् पिताबाट आउनुभएको अद्वितीय पुत्रको महिमा, जो अनुग्रह र सत्यताले पूर्ण हुनुहुन्छ।

15 यूहन्‍नाले उहाँकै विषयमा गवाही दिए। तिनी यसो भन्दै उच्‍च सोरले कराए, “उहाँ त्यही व्यक्ति हुनुहुन्छ, जसका विषयमा मैले ‘मपछि आउनुहुने मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिबाटै हुनुहुन्थ्यो’ भनी भनेको थिएँ।”

16 उहाँकै अनुग्रहको पूर्णताबाट हामीले एकपछि अर्को आशिष् पाएका छौँ।

17 किनकि व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्‍टद्वारा आए।

18 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन; तर परमेश्‍वरको अद्वितीय पुत्रले मात्र देख्नुभएको छ, जो पिताको साथमा हुनुहुन्छ, र उहाँले नै पितालाई प्रकट गराउनुभएको छ।

19 जब यरूशलेमका यहूदीहरूले तिनी को हुन् भनी सोध्न पुजारीहरू र लेवीहरूलाई पठाए, तब यूहन्‍नाले दिएको गवाही यही थियो।

20 तिनी स्वीकार गर्न चुकेनन्, तर “म ख्रीष्‍ट होइनँ” भनी स्पष्‍ट रूपमा स्वीकार गरे।

21 तिनीहरूले तिनलाई सोधे, “त्यसो भए तिमी को हौ? के तिमी एलिया हौ?”

22 अन्त्यमा तिनीहरूले सोधे, “तिमी को हौ त? हामीलाई पठाउनेहरूलाई बताउनको निम्ति हामीलाई एउटा जवाफ देऊ। तिमी आफ्नो विषयमा के भन्छौ?”

23 यूहन्‍नाले यशैया अगमवक्ताका शब्दहरूमा जवाफ दिए, “ ‘प्रभुका निम्ति मार्ग सीधा बनाओ’ भनी उजाडस्थानमा कराउनेको म एउटा आवाज हुँ।”

24 तब पठाइएका केही फरिसीहरूले

25 तिनलाई सोधे, “यदि तिमी ख्रीष्‍ट अथवा एलिया वा अगमवक्ता कोही पनि होइनौ भने, किन बप्‍तिस्मा दिन्छौ त?”

26 यूहन्‍नाले जवाफ दिए, “म त तिमीहरूलाई पानीद्वारा बप्‍तिस्मा दिन्छु, तर तिमीहरूका बीचमा एक जना हुनुहुन्छ, जसलाई तिमीहरू चिन्दैनौ।

27 मपछि आउनुहुने व्यक्ति उहाँ नै हुनुहुन्छ, जसका जुत्ताको फित्ता खोल्ने सेवक जतिको पनि म योग्यको छैनँ।”

28 यी सबै कुरा यर्दन नदीपारि यूहन्‍नाले बप्‍तिस्मा दिइरहेको ठाउँ बेथानीमा भएको थियो।

29 भोलिपल्ट यूहन्‍नाले येशूलाई आफूतिर आइरहनुभएको देखेर भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!

30 उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जसको विषयमा मैले यसो भनेको थिएँ, ‘मभन्दा पछि एक जना, जो आउँदैहुनुहुन्छ, उहाँ मभन्दा उच्‍च हुनुहुन्छ; किनकि उहाँ मभन्दा अगिदेखि नै हुनुहुन्थ्यो।’

31 म आफैँले उहाँलाई चिनेको थिइनँ, तर इस्राएलमा उहाँ प्रकट हुनुभएको होस् भनेर मैले पानीले बप्‍तिस्मा दिँदै आएँ।”

32 त्यसपछि यूहन्‍नाले यो गवाही दिए, “मैले पवित्र आत्मालाई ढुकुरझैँ स्वर्गबाट ओर्लिआएर उहाँमाथि बस्‍नुभएको देखेँ।

33 मैले उहाँलाई चिनेको थिइनँ। तर जसले मलाई पानीले बप्‍तिस्मा दिनू भनी पठाउनुभयो, उहाँले मलाई भन्‍नुभयो, ‘जुन मानिसमाथि पवित्र आत्मा ओर्लंदै गर्नुभएको तिमीले देख्नेछौ, पवित्र आत्माले बप्‍तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।’

34 अनि मैले देखेँ, र गवाही पनि दिन्छु, उहाँ नै परमेश्‍वरका पुत्र हुनुहुन्छ।”

35 भोलिपल्ट फेरि यूहन्‍ना उनका चेलाहरूमध्ये दुई जनासँग उभिरहेका थिए।

36 जब येशूलाई छेउबाट गइरहनुभएको देखे, तब उनले भने, “हेर! परमेश्‍वरका थुमा!”

37 जब तिनीहरूले उनले भनेको यो कुरा सुने, तब ती दुई चेलाहरू येशूको पछि-पछि लागे।

38 जब येशूले पछिल्तिर फर्केर हेर्नुभयो, तब तिनीहरू पछि-पछि आइरहेका देखेर सोध्नुभयो, “तिमीहरू के चाहन्छौ?”

39 उहाँले जवाफ दिनुभयो, “आओ, र तिमीहरूले देख्नेछौ।”

40 यूहन्‍नाले भनेका कुरा सुन्‍ने र येशूलाई पछ्याउने ती दुई चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियास थिए।

41 तिनले सबैभन्दा पहिले आफ्नो दाजु सिमोनलाई भेटेर तिनलाई भने, “हामीले मसीह अर्थात् ख्रीष्‍टलाई भेट्टाएका छौँ।”

42 अनि तिनले सिमोनलाई येशूकहाँ ल्याए।

43 भोलिपल्ट येशूले गालील जाने निश्‍चय गर्नुभयो। उहाँले फिलिपलाई भेट्नुभयो र भन्‍नुभयो, “मलाई पछ्याऊ।”

44 फिलिप पनि अन्द्रियास र पत्रुसजस्तै बेथसेदा सहरका नै बासिन्दा थिए।

45 फिलिपले नथानेललाई भेट्टाएर भने, “जसका विषयमा मोशाले व्यवस्थामा र अगमवक्ताहरूले पनि लेखेका थिए, उहाँलाई हामीले भेट्टाएका छौँ, योसेफका पुत्र नासरतका येशूलाई।”

46 “नासरत!” नथानेलले छक्‍क पर्दै सोधे, “के त्यहाँबाट पनि कुनै असल कुरा आउनसक्छ र?”

47 येशूले नथानेललाई आफूतिर आउँदैगरेका देख्नुभएपछि तिनको विषयमा भन्‍नुभयो, “हेर, एक जना साँचो इस्राएली, जसमा कुनै छलकपट छैन।”

48 “तपाईंले मलाई कसरी चिन्‍नुभयो?” नथानेलले सोधे।

49 तब नथानेलले “रब्बी, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ। तपाईं नै इस्राएलका राजा हुनुहुन्छ।” भन्दै घोषणा गरे।

50 येशूले भन्‍नुभयो, “मैले तिमीलाई अञ्जीरको रूखमुनि देखेँ भनी तिमीलाई भनेकोले नै तिमी विश्‍वास गर्छौ? तिमीले यीभन्दा अझ ठूला कुराहरू देख्नेछौ।”

51 उहाँले अझै भन्‍नुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, तिमीहरूले स्वर्ग उघ्रिएको र परमेश्‍वरका दूतहरूलाई मानिसको पुत्रमाथि उक्लिँदै-ओर्लिँदैगरेको देख्नेछौ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar João 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.