Ezequiel 47

npioncb (NPIONCB)

1 ती मानिसले मलाई मन्दिरको प्रवेशद्वारमा फेरि फर्काएर ल्याए; अनि मैले मन्दिरको सँघारको मुन्तिरबाट पानी पूर्वपट्टि निस्किरहेको देखेँ (किनकि मन्दिर पूर्वपट्टि नै फर्केको थियो)। त्यो पानी मन्दिरको दक्षिण भागको मुन्तिरबाट बगेर वेदीको दक्षिणबाट तल निस्किरहेको थियो।

2 त्यसपछि तिनले मलाई उत्तरको मूलढोकाबाट बाहिर ल्याए, र मलाई पूर्वपट्टि फर्केको बाहिरी मूलढोकाको बाहिर ल्याए; अनि पानीचाहिँ दक्षिणपट्टिबाट बगिरहेको थियो।

3 अनि जब ती मानिस आफ्नो हातमा नाप्‍ने डोरी लिएर पूर्वपट्टि गए, तब तिनले एक हजार क्यूबिट नापे, र मलाई गोलीगाँठासम्मको पानीबाट भएर लगे।

4 तिनले अर्को एक हजार क्यूबिट नापे र मलाई घुँडासम्मको पानीबाट भएर लगे। तिनले अर्को एक हजार क्यूबिट नापे, र मलाई कम्मरसम्मको पानीबाट भएर लगे।

5 तिनले अर्को एक हजार क्यूबिट नापे, तर अब त्यो एउटा नदी भयो, जुन मैले पार गर्नै नसक्ने रहेछ; किनकि पानी बढेको थियो र पौडी खेल्न सकिने गहिरो थियो—त्यो एउटा यस्तो नदी थियो, जसलाई कसैले पार गर्न सकिँदैनथ्यो।

6 तिनले मलाई सोधे, “हे मानिसको छोरा, के तँ यो देख्दैछस्?”

7 जब म त्यहाँ आइपुगेँ, तब मैले नदीका दुवै किनारमा धेरै रूखहरू देखेँ।

8 तिनले मलाई भने, “यो पानी पूर्वी इलाकापट्टि बग्छ, र त्यहाँदेखि अराबामातिर जान्छ; त्यसपछि यो पानी मृत सागरमा मिसिन्छ। जब यो समुद्रमा पस्छ, तब त्यहाँको नुनिलो पानी सफा हुन्छ।

9 जहाँ-जहाँ यो नदी बग्छ, त्यहाँ जीवित प्राणीहरूका झुण्डहरू जीवित रहनेछन्। त्यहाँ धेरै संख्यामा माछाहरू हुनेछन्; किनकि त्यो पानी त्यहाँ बग्छ, ताकि नुनिलो पानीलाई ताजा बनाइदिओस्; यसरी जहाँ यो नदी बग्छ, त्यहाँ सबै कुरा जीवित रहनेछन्।

10 जालहारीहरू समुद्रको किनारामा उभिनेछन्; एन-गदीदेखि एन-एग्लैमसम्म जाल फिँजाउने ठाउँहरू हुनेछन्। त्यहाँ धेरै किसिमका माछाहरू हुनेछन्—भूमध्य सागरका माछाहरूजस्तै धेरै किसिमका माछाहरू हुनेछन्।

11 तर दलदले ठाउँ र सिमसारहरू सफा पारिनेछैनन्; ती नुनकै निम्ति नुनिला छोडिनेछन्।

12 नदीका दुवै किनारहरूमा सबै किसिमका फलफूलका रूखहरू उम्रेर बढ्नेछन्। तिनीहरूका पातहरू ओइलाउने छैनन्, न त तिनीहरूले फल दिन छोड्नेछन्। तिनीहरूले प्रत्येक महिना ताजा फल दिनेछन्; किनकि ती फलफूलको बोटहरूका निम्ति पवित्रस्थानबाट पानी बगेर आउँछ। तिनीहरूका फलहरू भोजनका निम्ति र तिनीहरूका पातहरू औषधीका निम्ति काम लाग्नेछन्।”

13 प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “यी ती सिमानाहरू हुन्, जसअनुसार तिमीहरूले इस्राएलका बाह्र कुलको बीचमा उत्तराधिकारको रूपमा योसेफको निम्ति दुई भाग सहित देशलाई विभाजन गर्नेछौ।

14 तिमीहरूले आफ्नो बीचमा बराबर गरी भागबण्डा गर्नुपर्नेछ। मैले तिमीहरूका पितापुर्खाहरूलाई दिनेछु भनी मेरा हात उठाएर शपथ खाएको कारण यो देश तिमीहरूका उत्तराधिकार हुनेछ।”

15 यो देशको सिमाना यस्तो हुनेछ:

16 बेरोताह र सिब्रैममा (जुनचाहिँ दमस्कसको उत्तरमा र हमातको दक्षिण सिमानाको बीचमा पर्छ) हौरनको सिमानामा भएको हासेर-हात्तीकोनसम्म जान्छ।

17 यसरी उत्तरी सिमाना भूमध्य सागरदेखि दमस्कसको उत्तरी सिमानामा हसर-एनोनसम्म पुग्नेछ, त्यसको उत्तरमा हमातको सिमानासम्म फैलिनेछ। योचाहिँ उत्तरी सीमा हुनेछ।

18 पूर्वपट्टिको सिमाना हौरन र दमस्कसको माझहुँदै यर्दन नदीको किनारै-किनार गिलाद र इस्राएल देशको बीच पूर्वी मृत सागर र दक्षिणपट्टि तामारसम्म नै जानेछ। योचाहिँ पूर्वी सिमाना हुनेछ।

19 दक्षिणपट्टिको सिमाना, यो तामारबाट मेरीबा कादेशका पानीसम्म पुग्नेछ; त्यहाँबाट इजिप्टको बेँसीको किनारै-किनार भएर भूमध्य सागरसम्म जान्छ। योचाहिँ दक्षिणी सिमाना हुनेछ।

20 पश्‍चिमपट्टिको सिमानाचाहिँ लेबो हमातको विपरीत किनारासम्म भूमध्य सागर नै सिमाना हुनेछ। योचाहिँ पश्‍चिमी सिमाना हुनेछ।

21 “तिमीहरूले यो देशलाई इस्राएलका कुलअनुसार आफ्ना बीचमा विभाजन गर्नू।

22 तिमीहरूले यस देशलाई तिमीहरूका निम्ति र तिमीहरूका बीचमा बसोबास गर्ने र सन्तान भएका विदेशीहरूका निम्ति उत्तराधिकारको रूपमा चिट्ठा हालेर भागबण्डा गर्नू। तिमीहरूले तिनीहरूलाई स्वदेशमै जन्मेका स्वदेशी इस्राएलीहरूजस्तै व्यवहार गर्नू; तिमीहरूसितै तिनीहरूले पनि चिट्ठा हालेर इस्राएलका कुलहरूको बीचमा उत्तराधिकार पाउनुपर्छ।

23 जुनसुकै कुलमा ती विदेशीहरू बसोबास गरे तापनि त्यहाँ तिमीहरूले तिनीहरूलाई तिनीहरूको उत्तराधिकार दिनू,” प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 47, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.