Ezequiel 41

npioncb (NPIONCB)

1 त्यसपछि ती मानिसले मलाई मुख्य सभा कोठामा ल्याए, र सँघारहरूका नाप लिए; ढोकाको सँघारका चौडाइ सबैपट्टि छ क्यूबिट थियो।

2 प्रवेशद्वार दश क्यूबिट चौडा थियो र त्यसका सबैतिरका बाहिर देखिने भित्ताहरू पाँच क्यूबिट चौडा थिए। तिनले मुख्य सभा कोठा पनि नापे; त्यो चालीस क्यूबिट लामो र बीस क्यूबिट चौडा थियो।

3 त्यसपछि तिनी पवित्रस्थानभित्र पसे, र त्यस पवित्रस्थानको प्रवेशद्वारको प्रत्येक ढोकाको सँघारहरूलाई नापे; प्रत्येक सँघार दुई क्यूबिट चौडा थियो। प्रवेशद्वार छ क्यूबिट चौडा थियो, र त्यसको सबैतिरका बाहिर देखिने भित्ताहरू सात क्यूबिट चौडा थिए।

4 अनि तिनले भित्री पवित्रस्थानको लम्बाइ नापे; त्यो बीस क्यूबिट थियो र बाहिरी पवित्रस्थानको वारपारको चौडाइ बीस क्यूबिट थियो। तिनले मलाई भने, “यो महा-पवित्रस्थान हो।”

5 त्यसपछि तिनले मन्दिरको भित्ता नापे; त्यो छ क्यूबिट बाक्लो थियो; अनि मन्दिरको चारैपट्टि भएका छेउको हरेक कोठा चार क्यूबिट चौडा थिए।

6 छेउका कोठाहरू तीन तलाका थिए, र एक तलामाथि अर्को तला गरी हरेक तलामा जम्मा तीस वटा कोठाहरू थिए। छेउका कोठाहरूलाई टेवा दिनको लागि मन्दिरको भित्ताका चारैतिर पालीहरू थिए, ताकि ती टेवाहरू मन्दिरको भित्ताभित्र घुसार्न नपरोस्।

7 मन्दिरका चारैपट्टिका छेउका कोठाहरूको चौडाइ प्रत्येक माथिल्‍लो तहमा बढ्दै गएका थिए। मन्दिरको चारैतिरका बनावटहरू माथितिर फराकिलो किसिमले बनाइएका थिए, ताकि एउटा तलाबाट माथिको दोस्रो तलामा चढ्दा कोठाहरू चौडाइ हुन्। भुइँतलाबाट बीचको तला हुँदै सबैभन्दा माथिल्‍लो तलासम्म जानलाई खुड्किलाहरू थिए।

8 मैले मन्दिरको चारैतिर अग्लो उठाइएको पेटी देखेँ, जसले छेउका कोठाहरूका निम्ति जगको काम गरिरहेको थियो। यो टाँगोकै नापको थियो, अर्थात् छ क्यूबिट लम्बाइ थियो।

9 छेउका कोठाहरूको बाहिरी भित्ता पाँच क्यूबिट बाक्लो थियो। मन्दिरका छेउका कोठाहरू,

10 र पुजारीहरूका कोठाहरूको बीचमा मन्दिरको चारैपट्टि बीस क्यूबिट चौडाइ थियो।

11 त्यहाँ खुला ठाउँको छेउबाट कोठाहरूमा जाने प्रवेशद्वारहरू थिए, जुन एउटा उत्तरमा र अर्को दक्षिणमा थिए; अनि खुला ठाउँलाई जोड्ने जग चारैतिर पाँच क्यूबिट थियो।

12 पश्‍चिमपट्टि मन्दिरको आँगनतिर फर्केको भवन सत्तरी क्यूबिट चौडाइ थियो। भवनको चारैतिरका भित्ता पाँच क्यूबिट बाक्ला थिए, र त्यसको लम्बाइ नब्बे क्यूबिट थियो।

13 त्यसपछि तिनले मन्दिरलाई नापे, त्यसको लम्बाइ एक सय क्यूबिट थियो; अनि मन्दिरको चोक र त्यसका पर्खालसहितको भवन पनि एक सय क्यूबिट लामो थियो।

14 मन्दिरको पूर्वपट्टिको आँगन र मन्दिरको अगाडिको भागसहितको चौडाइ एक सय क्यूबिट थियो।

15 त्यसपछि तिनले मन्दिरको पश्‍चिमपट्टि आँगनतिर फर्केको मन्दिरको लम्बाइ सहित त्यसको बार्दलीको दुवैपट्टि नापे; त्यो एक सय क्यूबिट थियो।

16 साथै ढोकाका सँघारहरू, साँघुरा झ्यालहरू र तीन वटै तलाका चारैतिरका दलानहरू—ढोकाको सँघारसाथै सबै कुरा काठले मोहोरिएका थिए। भुइँ, झ्यालसम्म भएका भित्ता र झ्यालहरू काठले मोहोरिएका थिए।

17 भित्री पवित्रस्थानमा जाने प्रवेशद्वार बाहिरको माथिल्‍लो खाली ठाउँमा पवित्रस्थानको भित्री र बाहिरी चारैपट्टिका सबै भित्ताहरूका ठिक बीच भागमा,

18 करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए। खजूरका रूखहरू र करूबहरू एकपछि अर्को गरी खोपिएका थिए। हरेक करूबका दुई वटा अनुहारहरू थिए:

19 एकापट्टि खजूरको रूखतिर फर्केको एउटा मानिसको अनुहारजस्तै र अर्कोपट्टि खजूरको रूखतिर फर्केको सिंहको अनुहारजस्तै थियो। ती बुट्टाहरू मन्दिरभरि चारैतिर खोपिएका थिए।

20 भुइँदेखि प्रवेशद्वारको माथिको क्षेत्रसम्म मुख्य सभा कोठाको भित्तामा करूबहरू र खजूरका रूखहरूका बुट्टा खोपिएका थिए।

21 मुख्य सभा कोठामा एउटा आयताकार ढोकाको चौकस थियो, र महा-पवित्रस्थानमा भएको चौकस पनि त्यस्तै थियो।

22 त्यहाँ तीन क्यूबिट अग्लो, दुई क्यूबिट नापको काठको एउटा वेदी थियो; त्यसका कुनाहरू, त्यसको आधार र छेउहरू काठका थिए। ती मानिसले मलाई भने, “याहवेहको सामु राखिने टेबुल यही हो।”

23 मुख्य सभा कोठा र महा-पवित्रस्थान दुवैका दुई वटा ढोकाहरू थिए।

24 प्रत्येक ढोकाको दुई-दुई खापा थिए। प्रत्येक ढोकामा कब्जा लगाइएका दुई वटा खापाहरू थिए।

25 अनि मुख्य सभा कोठाका ढोकाहरूमा खोपिएका करूब र खजूरका रूखहरूका बुट्टाहरू भित्तामाझैँ खोपिएका थिए, र दलानको अगाडि काठको छत थियो।

26 दलानका छेउका भित्ताहरूमा दुवैतिर खजूरका रूखहरूका बुट्टा खोपिएका साँघुरा झ्यालहरू थिए। मन्दिरका छेउका कोठाहरूमा पनि छानाहरू थिए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 41, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.