Êxodo 28

npioncb (NPIONCB)

1 “इस्राएलीहरूका बीचबाट तेरा दाजु हारून र त्यसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार पुजारी भई मेरो सेवा गर्न भनेर तँकहाँ बोला।

2 तेरा दाजु हारूनलाई मर्यादा र सम्मान दिनलाई त्यसका निम्ति पवित्र पोशाकहरू बनाउनू।

3 मैले यस्ता कामका लागि बुद्धि दिएका सबै दक्ष मानिसहरूलाई भन् कि तिनीहरूले हारूनलाई पुजारी भई मेरो सेवा गर्न नियुक्त गर्नका लागि पोशाकहरू बनाऊन्।

4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यिनै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको कुर्ता, फेटा र पटुका। तिनीहरूले यी पवित्र पोशाकहरू तेरा दाजु हारून र त्यसका छोराहरूका निम्ति पुजारी भई मेरो सेवा गर्नका लागि बनाउनुपर्छ।

5 तिनीहरूले सुन, निलो, बैजनी र रातो धागो अनि मसिनो सुती कपडा चलाऊन्।

6 “एपोदचाहिँ सुन, निलो, बैजनी र रातो धागोका अनि मसिनो बाटेको सुती कपडाका सिपालु शिल्पकारको काम भएको बनाउनू।

7 त्यसमा दुई कुनामा जोडिएका अनि बाँध्न सकिने काँधका दुई वटा टुक्राहरू हुनुपर्छ।

8 त्यसको सिपालु गरी बुनेको पटुका अनि एपोदसित एउटै भएको, र त्यो सुन अनि निलो, बैजनी र रातो धागो अनि मसिनोसित बाटेको सुती कपडाले बनिएको हुनुपर्छ।

9 “दुई वटा गोमेद पत्थर लिएर त्यसमा इस्राएलका छोराहरूका नाम खोप्नू।

10 ती तिनीहरूका जन्मअनुसार एउटा पत्थरमा छ वटा नामहरू र अर्कोमा बाँकी रहेका नामहरू खोप्नू।

11 इस्राएलका छोराहरूका नाम ती दुई पत्थरहरूमा शिल्पकारले जसरी छाप खोप्छ, त्यसरी नै खोप्नू। त्यसपछि ती पत्थरहरूलाई सुनका मणिघरमा राख्नू।

12 तिनीहरूलाई इस्राएलका छोराहरूका निम्ति सम्झना गराउने पत्थरझैँ एपोदका काँधे-जोर्नीहरूमा कसिदिनू। हारूनले ती नामहरू सम्झनाझैँ याहवेहको सामु आफ्नो काँधमा बोक्नुपर्छ।

13 सुनका मणिघर बनाउनू

14 र निखुर सुनका डोरीझैँ बाटेका दुई वटा सिक्रीहरू बनाएर ती सिक्रीहरूलाई सुनका मणिघरमा जोड्नू।

15 “न्याय गर्नका लागि एउटा छाती-पाता दक्ष शिल्पकारद्वारा बनाउनू। त्यसलाई एपोदझैँ सुनको, निलो, बैजनी र रातो धागो अनि मसिनो गरी बाटेको सुती कपडाको बनाउनू।

16 त्यो एक बित्ता लामो र एक बित्ता चौडा, वर्गाकार, दोबर पट्याइएर बनाउनू।

17 त्यसपछि त्यसमा चार पङ्‌क्ति बहुमूल्य पत्थरहरू जोड्नू। पहिलो पङ्‌क्तिमा माणिक, पुष्पराज र पन्‍ना;

18 दोस्रो पङ्‌क्तिमा फिरोजा, नीलमणि र हीरा;

19 तेस्रो पङ्‌क्तिमा धूम्रकान्त, सूर्यकान्त र नीलमणि;

20 र चौथो पङ्‌क्तिमा फिरोज, गोमेद र स्फटिक लगाउनू। अनि ती सुनको मणिघरहरूमा जड्नू।

21 बाह्र पत्थरहरूमा इस्राएलका बाह्र कुलहरू जनाउन प्रत्येकमा छापमा खोपेझैँ एक-एक गरी इस्राएलका छोराहरूका नाम हुनुपर्छ।

22 “छाती-पाताको निम्ति डोरीजस्तो निखुर सुनको बाटेका सिक्रीहरू बनाउनू।

23 त्यसका लागि सुनका दुई वटा मुन्द्राहरू बनाएर छाती-पाताको दुई किनारमा बाँध्नू।

24 सुनका ती दुई सिक्रीहरूलाई छाती-पाताको किनारका मुन्द्रीमा बाँध्नू,

25 अनि सिक्रीका अरू छेउहरूलाई अगिल्तिर भएको एपोदका काँधे-जोर्नीहरूका अगाडिपट्टि मिलाएर दुवैलाई सुनका मणिघरहरूमा बाँध्नू।

26 सुनका दुई वटा मुन्‍द्रा बनाएर एपोदको अर्का दुई भित्री किनारमा भएको छाती-पाताको अर्का छेउहरूमा लगाउनू।

27 सुनका अझ अरू दुई वटा मुन्द्रीहरू बनाएर एपोदको अगाडिपट्टि पटुकाको ठिक माथि जोडिएको भागको नजिक, काँधे टुक्राको फेदमा लगाइदिनू।

28 छाती-पाताका मुन्द्राहरूलाई, छाती-पाता एपोदबाट नहल्‍लिओस् भनेर त्यसलाई कम्मरको पटुकासित जोडेर एपोदको मुन्द्रीसित निलो डोरीले बाँध्नू।

29 “जहिले-जहिले हारून पवित्रस्थानमा प्रवेश गर्नेछ, त्यसले याहवेहको सामु सधैँको सम्झनाको रूपमा इस्राएलका छोराहरूका नाम आफ्नो हृदयमा निर्णयको छाती-पातामा राख्नेछ।

30 जहिले-जहिले हारून याहवेहको उपस्थितिमा पस्‍नेछ, ऊरीम र तुम्मीम पनि त्यसको हृदयमा रहोस् भनेर तिनलाई पनि छाती-पातामा लगाउनू। यसरी हारूनले इस्राएलीहरूको निर्णय लिने साधनलाई याहवेहको सामु सधैँ आफ्नो हृदयमाथि बोक्नेछ।

31 “एपोदको अलखा सबै निलो कपडाको बनाउनू।

32 त्यसको बीचमा टाउको छिराउनको लागि खुला भाग राख्नू। त्यो नफाटोस् भनेर त्यस खुला भागको चारैतिर बुनेको बिट होस्।

33 लबेदाको बिटको चारैतिर बीच-बीचमा सुनको घण्टी राखेर निलो, बैजनी र रातो धागोका दारिमहरू बनाउनू।

34 सुनका घण्टीहरू र दारिमहरू एउटाको पछि अर्को गरेर लबेदाको बिटको चारैतिर होऊन्।

35 हारूनले सेवा गर्दा त्यो लगाउनैपर्छ। ऊ याहवेहको उपस्थितिमा पवित्रस्थानभित्र पस्दा र बाहिर निस्कँदा, ती घण्टीहरूका आवाज सुनियोस् र हारून नमरोस्।

36 “तैँले निखुर सुनको एउटा पाता बनाएर औँठीको छापमा खोप्नूः

37 त्यसलाई फेटामा लगाउनको लागि त्यसमा निलो डोरी कस्‍नू। यो टोपीको अगिल्तिर होस्।

38 यो हारूनको निधारमा हुनेछ, र इस्राएलीहरूले जुनसुकै भेटी चढाए पनि तिनीहरूले पवित्र भेटीहरू चढाएको काममा रहेको दोष हारूनले बोक्नेछ। तिनीहरू याहवेहकहाँ ग्रहणयोग्य होऊन् भनेर त्यो सधैँ हारूनको निधारमा रहनेछ।

39 “लबेदा मसिनो सुती कपडाले बुन्‍नू र टोपी मसिनो सुती कपडाको बनाउनू। पटुका बुट्टा भर्नेले गरेको काम हुनुपर्दछ।

40 हारूनका छोराहरूका निम्ति तिनीहरूलाई मर्यादा र सम्मान दिनलाई लबेदा, पटुका र टोपी बनाउनू।

41 तैँले आफ्ना दाजु हारून र त्यसका छोराहरूलाई यी वस्त्रहरू लगाइदिएपछि तिनीहरूलाई अभिषेक गरी नियुक्त गर्नू। तिनीहरूले पुजारी भई मेरो सेवा गरून् भनेर तिनीहरूलाई अर्पण गर्नू।

42 “शरीर ढाक्नलाई कम्मरदेखि जाँघसम्म पुग्ने सुतीका भित्री पोशाकहरू बनाउनू।

43 हारून र त्यसका छोराहरू जहिले-जहिले समागम पालभित्र पस्छन् अथवा पवित्रस्थानमा सेवा गर्न वेदीको छेउमा जान्छन्, ती लगाऊन्, ताकि तिनीहरू दोष लागेर नमरून्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.