Êxodo 19

npioncb (NPIONCB)

1 इस्राएलीहरूले इजिप्ट छोडेको तेस्रो महिनाको पहिलो दिन, त्यही दिन तिनीहरू सीनैको उजाडस्थानमा आइपुगे।

2 इस्राएलीहरू रेफिदीमबाट हिँडेपछि सीनैको उजाडस्थानमा प्रवेश गरे, र तिनीहरूले त्यही पर्वतको सामु उजाडस्थानमा पाल टाँगेर बसे।

3 तब मोशा माथि डाँडामा परमेश्‍वरलाई भेट्न गए; अनि याहवेहले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकोबको घरानालाई भन्‍नुपर्ने र इस्राएलका मानिसहरूलाई बताउनुपर्ने यही हो:

4 ‘मैले इजिप्टलाई के गरेँ, मैले कसरी तिमीहरूलाई गरुडहरूझैँ पखेटामा उडाएर मकहाँ ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।

5 अब यदि तिमीहरूले मैले भनेको कुरा सुन्यौ, र मेरा करारहरू पूर्ण पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरू मेरा निज धन हुनेछौ। सारा पृथ्वी मेरै हुन्।

6 तिमीहरू मेरा निम्ति पुजारीहरूको एउटा राज्य र एउटा पवित्र जाति हुनेछौ।’ तैँले इस्राएलीहरूलाई भन्‍नुपर्ने कुराहरू यिनै हुन्।”

7 मोशा फर्किएर मानिसहरूका प्रधानहरूलाई बोलाइपठाए, र याहवेहले तिनलाई आज्ञा गर्नुभएका सबै कुराहरू तिनीहरूका सामु राखिदिए।

8 ती सबै मानिसहरूले एकसाथ जवाफ दिए, “याहवेहले भन्‍नुभएका सबै कुराहरू हामी गर्नेछौँ।” यसकारण मोशाले तिनीहरूका जवाफ याहवेहकहाँ आएर सुनाए।

9 याहवेहले मोशालाई भन्‍नुभयो, “म बाक्लो बादलमा तँकहाँ आउनेछु; मानिसहरूले म तँसित कुरा गरेको सुनून्, र तिनीहरूले सधैँ आफ्ना भरोसा तँमाथि राखून्।” तब मोशाले याहवेहलाई मानिसहरूले भनेका कुरा भनिदिए।

10 याहवेहले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध पार्। तिनीहरूले आफ्ना वस्त्र धोऊन्,

11 अनि तेस्रो दिनको लागि तिनीहरू तयार रहून्; किनकि त्यस दिन याहवेह सबै मानिसहरूका आँखाका सामु सीनै पर्वतमाथि ओर्लिआउनुहुनेछ।

12 पर्वतको चारैतिर मानिसहरूका लागि सिमाना लगाएर तिनीहरूलाई यसो भन्‍नू, ‘होशियार रहो, पर्वतमाथि नचढ्नू र त्यसको फेद पनि नछुनू। जसले यस पर्वतलाई छुन्छ, त्यो निश्‍चय मारिनेछ।

13 त्यसलाई कसैले पनि नछुनू। तर त्यसलाई ढुङ्गाले हानेर अथवा काँडले छेडेर मार्नू। मानिस होस् वा पशु, त्यो जीवित रहनेछैन।’ केवल तुरही फुकेको आवाज सुनेपछि मात्र तिनीहरू पर्वतको नजिक जाऊन्।”

14 मोशा पर्वतबाट तल मानिसहरूकहाँ ओर्लेर आएपछि तिनले उनीहरूलाई शुद्ध पारे; अनि तिनीहरूले आफ्ना वस्त्रहरू धोए।

15 तब तिनले मानिसहरूलाई भने, “आफूलाई तेस्रो दिनको लागि तयार पार्नू। यौन सम्बन्धबाट अलग रहनू।”

16 तेस्रो दिनको बिहान गर्जन भयो, बिजुली चम्क्यो र पर्वतमा बाक्लो बादल देखियो; अनि अति चर्को आवाजले तुरही बजेको आवाज सुनियो। छाउनीमा भएका हरेक व्यक्ति थरथर कामे।

17 तब मोशाले मानिसहरूलाई परमेश्‍वरसित भेट्न छाउनीबाहिर निकालेर ल्याए; अनि तिनीहरू पर्वतको फेदमा उभिए।

18 सीनै पर्वत धुवैँधुवाँले भरिएको थियो; किनकि याहवेह त्यहाँ आगोमा भई ओर्लनुभएको थियो। त्यहाँ इँटाभट्टाको धुवाँझैँ मुस्लो उठिरहेको थियो; अनि सम्पूर्ण पर्वत जोडसित काम्यो,

19 र तुरहीको आवाज झन्-झन् चर्को हुँदैगयो। तब मोशा बोले, र परमेश्‍वरको आवाजले तिनलाई जवाफ दियो।

20 याहवेह सीनै पर्वतको टाकुरामा ओर्लनुभयो; र मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो। यसकारण मोशा माथि गए,

21 अनि याहवेहले मोशालाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई चेतावनी दे, र याहवेहलाई हेर्न भनी तिनीहरू जबरजस्ती नआऊन्, र तिनीहरूमध्ये धेरै नमरून्।

22 याहवेहको नजिकमा आउने पुजारीहरू समेतले आफूलाई शुद्ध पारून्, नत्रता याहवेहले तिनीहरूलाई नाश गर्नुहुनेछ।”

23 मोशाले याहवेहलाई भने, “मानिसहरू सीनै पर्वतमाथि आउन सक्दैनन्; किनकि तपाईंले हामीलाई ‘पर्वतका चारैतिर सिमाना लगाएर त्यसलाई पवित्र गरी अलग गर्नू’ भनी चेतावनी दिनुभएको छ।”

24 याहवेहले जवाफ दिनुभयो, “तल गएर हारूनलाई तँसित माथि लिएर आइज; तर पुजारीहरू र मानिसहरू याहवेहकहाँ जबरजस्ती गरेर नआऊन्; नत्रता उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ।”

25 यसकारण मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा भनिदिए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 19, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.