Êxodo 16

npioncb (NPIONCB)

1 इस्राएलीहरूका सारा समुदाय एलीमबाट हिँडे, र सीनैको उजाडस्थानमा आइपुगे। यो एलीम र सीनैको बीचमा थियो। तिनीहरू इजिप्टबाट निस्केर आएको दोस्रो महिनाको पन्ध्रौँ दिन भइसकेको थियो।

2 त्यस उजाडस्थानमा सारा इस्राएलीहरू मोशा र हारूनको विरुद्धमा गनगनाए।

3 इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी इजिप्टमै याहवेहका हातद्वारा मरेका भए असल हुनेथियो! त्यस ठाउँमा छँदा हामी मासुका भाँडाको वरिपरि बस्थ्यौँ, र हामीले अघाउन्जेल भोजन खान्थ्यौँ; तर तपाईंले हामीलाई निकालेर यस उजाडस्थानमा यो सारा समुदायलाई भोकभोकै मार्न ल्याउनुभएको छ।”

4 तब याहवेहले मोशालाई भन्‍नुभयो, “म तिमीहरूका लागि स्वर्गबाट रोटी बर्साउनेछु। यी मानिसहरू हरेक दिन बाहिर जाऊन्, र त्यस दिनको भाग बटुलून्; ताकि तिनीहरूले मेरा आज्ञाहरू मान्छन् कि मान्दैनन् भनी म तिनीहरूलाई जाँच्न सकूँ।

5 छैटौँ दिनमा तिनीहरूले जे भित्र ल्याउनेछन्, त्यसलाई तयार पारून्; र त्यो अरू दिन बटुलेको भन्दा दोबर होस्।”

6 यसकारण मोशा र हारूनले सारा इस्राएलीहरूलाई भने, “याहवेहले नै तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूले बेलुकीपख जान्‍नेछौ।

7 अनि बिहान तिमीहरूले याहवेहको महिमा देख्नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्‍नुभएको छ। हामी को हौँ, र तिमीहरू हाम्रो विरुद्धमा गनगनाउँछौ?”

8 मोशाले यो पनि भने, “जब याहवेहले तिमीहरूलाई बेलुकी खानलाई मासु र बिहानीपख चाहेजति रोटी दिनुहुनेछ, तब त्यसलाई दिनुहुने याहवेह नै हुनुहुन्छ भनी तिमीहरूले जान्‍नेछौ; किनकि तिमीहरूले उहाँको विरुद्धमा गनगनाएको उहाँले सुन्‍नुभएको छ। हामी को हौँ र? तिमीहरू हाम्रो विरुद्धमा होइन, तर परमेश्‍वरको विरुद्धमा गनगनाइरहेका छौ।”

9 तब मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्‍नुहोस्, ‘याहवेहको सामु आओ; किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ।’ ”

10 हारून सारा इस्राएली समुदायसित बोल्दैगर्दा तिनीहरूले उजाडस्थानतिर हेरे; अनि त्यहाँ याहवेहको महिमा बादलमा देखा पर्‍यो।

11 याहवेहले मोशालाई भन्‍नुभयो,

12 “मैले इस्राएलीहरूको गनगन सुनेको छु। तिनीहरूलाई भन्, ‘बेलुकी तिमीहरूले मासु खानेछौ र बिहानचाहिँ तिमीहरू रोटीले अघाउनेछौ। तब म नै याहवेह तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ।’ ”

13 त्यस बेलुकी बट्टाई चराहरू आएर छाउनी नै ढाकिदिए; अनि बिहानचाहिँ छाउनीका चारैतिर शीत पर्‍यो।

14 शीत सुकेपछि उजाडस्थानभरि मसिना डल्‍लाहरू, तुसारोजस्ता चीजहरू देखा परे।

15 जब इस्राएलीहरूले त्यो देखे, तब तिनीहरूले आपसमा भने, “यो के हो?” किनकि त्यो के थियो, तिनीहरूलाई थाहा थिएन।

16 याहवेहले यसो भनी आज्ञा दिनुभएको छ: ‘हरेकले आफूलाई चाहिए जति बटुल्नू। तिमीहरूसित पालभित्र भएका हरेक व्यक्तिको निम्ति एक ओमेर लिनू।’ ”

17 मोशाले भनेझैँ इस्राएलीहरूले गरे; अनि कतिले धेरै, कतिले थोरै बटुले।

18 जब तिनीहरूले त्यसलाई ओमेरले नापे, तब धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन। तिनीहरू हरेकले आफूलाई जति चाहिन्छ, त्यति नै बटुले।

19 मोशाले तिनीहरूलाई भने, “कसैले पनि यसबाट बाँकी भाग बिहानसम्म नराख्नू।”

20 तैपनि कसै-कसैले मोशाको कुरामा ध्यान दिएनन्; र त्यसबाट केही भाग बिहानसम्म राखे। तर त्यसमा किरा पर्‍यो, र गनाउन थाल्यो। यसकारण मोशा तिनीहरूसित क्रोधित भए।

21 प्रत्येक बिहान हरेकले आफूलाई चाहिने जति बटुल्थे; अनि घाम छिप्पिएपछि त्यो पग्लिहाल्थ्यो।

22 छैटौँ दिनमा भने तिनीहरूले दोबर अर्थात् हरेकका लागि दुई ओमेर बटुले; अनि समुदायका अगुवाहरूले यो कुरा मोशालाई बताइदिए।

23 तब तिनले उनीहरूलाई भने, “याहवेहले यसो भनी आज्ञा गर्नुभएको छ: ‘भोलि शब्बाथ दिन, याहवेहका निम्ति समर्पित पवित्र शब्बाथ दिन हो। तिमीहरू जे पकाउन चाहन्छौ, त्यो पकाओ; अनि जे उमाल्न चाहन्छौ, उमाल; अनि जे उब्रिन्छ, त्यो बिहानसम्म राखिछोड।’ ”

24 यसकारण मोशाले भनेझैँ तिनीहरूले त्यसलाई बिहानसम्म राखे; त्यसमा गन्ध आएन, र त्यसमा किरा पनि परेन।

25 तब मोशाले भने, “त्यो खानेकुरा आज खाओ; किनकि आज याहवेहका निम्ति समर्पित शब्बाथ दिन हो। तिमीहरूले आज जमिनमा त्यसको केही भाग पनि पाउनेछैनौ।

26 छ दिन तिमीहरूले त्यसलाई बटुल्नू, तर सातौँ दिन, अर्थात् शब्बाथ दिनमा चाहिँ केही पनि हुनेछैन।”

27 तैपनि केही मानिसहरू ती बटुल्नलाई सातौँ दिनमा बाहिर गए, तर तिनीहरूले केही भेटेनन्।

28 तब याहवेहले मोशालाई भन्‍नुभयो, “कहिलेसम्म तिमीहरू मेरा आज्ञा र अर्तीहरू पालन गर्न अस्वीकार गर्छौ?

29 यो कुरा मनमा राख: याहवेहले तिमीहरूका निम्ति शब्बाथ दिन दिनुभएको छ; यसैकारण छैटौँ दिनमा उहाँले तिमीहरूलाई दुई दिनका लागि रोटी दिनुभएको छ। सातौँ दिन तिमीहरू हरेक आ-आफ्नै ठाउँमा बस्‍नू; कोही बाहिर नजानू।”

30 यसकारण मानिसहरूले सातौँ दिनमा विश्राम गरे।

31 अनि इस्राएलका मानिसहरूले त्यस रोटीलाई मन्‍न भनी भने। त्यो धनियाँको बिउजस्तो सेतो देखिन्थ्यो; अनि स्वादचाहिँ मह मिसाएर बनाएको बाबरजस्तो थियो।

32 मोशाले भने, “याहवेहले यसो भनी आज्ञा दिनुभएको छ: ‘मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउँदा उजाडस्थानमा तिमीहरूलाई कस्तो रोटी खुवाएको थिएँ भनेर पछिका पुस्ताहरूलाई देखाउन भनी एक ओमेर मन्‍न जोगाएर राख्नू।’ ”

33 यसकारण मोशाले हारूनलाई भने, “एउटा भाँडो लिएर त्यसमा एक ओमेर मन्‍न भर्नुहोस्, र त्यसलाई पछि आउने पुस्तौँ-पुस्तासम्म रहोस् भनेर याहवेहको सामु राख्नुहोस्।”

34 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, हारूनले त्यस मन्‍नलाई जोगाएर राख्न भनी करारको सन्दुकको सामु राखिदिए।

35 इस्राएलीहरूले चालीस वर्षसम्म मन्‍न खाए; तिनीहरू कनान देशसम्म पुगेर बसोबास नगरुन्जेल मन्‍न खाइरहे।

36 (एक ओमेर भनेको एपाको दशौँ भाग हो।)

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 16, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.