Êxodo 14

npioncb (NPIONCB)

1 तब याहवेहले मोशालाई भन्‍नुभयो,

2 “इस्राएलीहरूलाई पछि फर्केर मिग्दोल र समुद्रको बीचमा पी-हहीरोतको छेउमा पाल टाँगेर बस्‍नू भन्। तिनीहरू बाल-सेफोनको ठिक विपरीत समुद्रनिर डेरा हालेर बसून्।

3 फारोले विचार गर्नेछ, ‘इस्राएलीहरू त उजाडस्थानमा थुनिएर अलमलमा परी देशमा भौँतारिरहेका छन्।’

4 अनि म फारोको हृदय कठोर पार्नेछु, र त्यसले तिनीहरूलाई खेद्नेछ। तर म फारो र त्यसका सेनाद्वारा आफ्नो महिमा लिनेछु, र इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।” यसकारण इस्राएलीहरूले त्यसै गरे।

5 जब इजिप्टका राजालाई ती मानिसहरू भागे भनी बताइयो, फारो अनि तिनका अधिकारीहरूले तिनीहरूको विषयमा आफ्ना मन बदली गरे, र भने, “हामीले यो के गर्‍यौँ? हामीले इस्राएलीहरूलाई जान दिएर तिनीहरूको सेवा गुमायौँ!”

6 यसकारण तिनले आफ्नो रथ तयार गराए, र आफ्नो सेना आफूसित लिए।

7 तिनले आफ्ना उत्तम रथहरूमध्ये छ सय वटा लिए, र साथमा इजिप्टका अरू सबै रथहरूमाथि पदाधिकारीहरू सवार गराए।

8 याहवेहले इजिप्टका राजा फारोको हृदय कठोर पारिदिनुभयो, र तिनले साहससित अगि बढिरहेका इस्राएलीहरूलाई खेदे।

9 इजिप्टियनहरू—फारोका सबै घोडाहरू, रथहरू, घोडसवारहरू र सेनाले—इस्राएलीहरूलाई खेदे, र बाल-सेफोनको विपरीत पी-हहीरोतको नजिक समुद्रनिर डेरा हालेर बसेको बेलामा तिनीहरूलाई भेटे।

10 फारो नजिक आइपुग्दा इस्राएलीहरूले आँखा उठाएर हेरे, र इजिप्टियनहरूलाई तिनीहरूको पछि आइरहेका देखे। तिनीहरू साह्रै डराए; अनि याहवेहलाई पुकार गरे।

11 तिनीहरूले मोशालाई भने, “के इजिप्टमा चिहानहरू थिएनन् र तपाईंले हामीलाई यस उजाडस्थानमा मर्न भनी ल्याउनुभयो? हामीलाई इजिप्टबाट यहाँ ल्याएर तपाईंले यो के गर्नुभएको?

12 के हामीले इजिप्टमा तपाईंलाई ‘हामीलाई त्यसै छोडिदिनुहोस्; हामीलाई इजिप्टियनहरूको सेवा गर्न दिनुहोस्’ भनेका थिएनौँ र? यस उजाडस्थानमा मर्नुभन्दा त हामीलाई इजिप्टियनहरूको सेवा गर्नु असल हुनेथियो।”

13 मोशाले मानिसहरूलाई जवाफ दिए, “नडराओ, दृढतासाथ खडा रहो। आज याहवेहले तिमीहरूमा ल्याउनुहुने छुटकारा तिमीहरूले देख्नेछौ। तिमीहरूले आज देखेका इजिप्टियनहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।

14 याहवेहले तिमीहरूका पक्षमा युद्ध गर्नुहुनेछ; तिमीहरू केवल शान्त होऊ।”

15 तब याहवेहले मोशालाई भन्‍नुभयो, “तिमीहरू किन मेरो पुकार गर्छौ? इस्राएलीहरूलाई अगि बढ्नू भन्।

16 तेरो लहुरो उठा, र इस्राएलीहरू समुद्र भएर ओबानो जमिनबाट जाऊन् भनेर पानी दुई भाग गर्नलाई तेरो हात पसार्।

17 म इजिप्टियनहरूको हृदय कठोर पारिदिनेछु, र तिनीहरू उनीहरूको पछि-पछि समुद्रभित्र जानेछन्। अनि म फारो र त्यसका सेनाद्वारा, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा महिमित हुनेछु।

18 जब फारो, त्यसका रथहरू र त्यसका घोडसवारहरूद्वारा मेरो महिमा हुनेछ, तब इजिप्टियनहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।”

19 त्यसपछि इस्राएली सेनाको अगि-अगि यात्रा गरिरहेका परमेश्‍वरका स्वर्गदूत पछि सरेर तिनीहरूका पछिल्तिर गए। बादलको खामो पनि अगिल्तिरबाट सरेर तिनीहरूका पछिल्तिर उभियो;

20 अनि इजिप्ट र इस्राएलीहरूका सेनाका बीचमा आयो। रातभरि त्यस बादलले एकातिर अँध्यारो र अर्कोतिर उज्यालो ल्यायो। यसकारण रातभरि एकपट्टिको मानिस अर्कोपट्टि गएन।

21 तब मोशाले समुद्रमाथि आफ्ना हात पसारे; अनि याहवेहले रातभरि शक्तिशाली पूर्वीय बतास चलाएर समुद्रलाई पछिल्तिर ठेलिदिनुभयो, र त्यसलाई ओबानो जमिनमा परिणत गरिदिनुभयो। पानी दुई भाग भयो,

22 अनि इस्राएलीहरू समुद्रबीच ओबानो जमिनबाट भएर गए; तिनीहरूका दाहिने र देब्रेतिर पानीको पर्खाल खडा भयो।

23 ती इजिप्टियनहरूले तिनीहरूलाई खेदे, र फारोका सबै घोडाहरू, रथहरू र घोडसवारहरूले तिनीहरूलाई समुद्रमा पछ्याए।

24 मिरमिरे बिहानी याहवेहले आगो र बादलको खामोबाट इजिप्टका सेनालाई तल हेर्नुभयो र तिनीहरूलाई अलमल पारिदिनुभयो।

25 उहाँले तिनीहरूका रथहरूका चक्‍काहरू फुस्काइदिनुभयो, र तिनीहरूलाई कुदाउन कठिन पर्‍यो। अनि इजिप्टियनहरूले भने, “हामी इस्राएलीहरूदेखि भागौँ! याहवेह तिनीहरूको पक्षमा भई हाम्रो विरुद्धमा युद्ध गर्दै हुनुहुन्छ।”

26 तब याहवेहले मोशालाई भन्‍नुभयो, “पानी फेरि इजिप्टियनहरू, तिनीहरूका रथहरू र घोडसवारहरूमाथि पछिल्तिर फर्केर ओइरियोस् भनेर तेरो हात समुद्रमाथि पसार्।”

27 मोशाले आफ्ना हात समुद्रमाथि पसारे, र बिहान समुद्र फेरि आफ्नो ठाउँमा सर्‍यो। इजिप्टियनहरू यसको विपरीत भाग्दैथिए; अनि याहवेहले तिनीहरूलाई सोहोरेर समुद्रमा हालिदिनुभयो।

28 पानी फर्केर आयो, र इस्राएलीहरूलाई समुद्रमा पछिबाट लखेट्ने रथहरू र घोडसवारहरू, फारोका सम्पूर्ण सेनालाई ढाकिदियो। तिनीहरूमध्ये एउटै पनि बाँचेनन्।

29 तर इस्राएलीहरू त तिनीहरूका दाहिने र देब्रेतिर पानीका पर्खाल भएकाले समुद्रबाट ओबानो जमिन भएर गए।

30 त्यस दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूको हातबाट बचाउनुभयो; अनि इस्राएलीहरूले इजिप्टियनहरूलाई किनारमा मरेर पस्रिरहेका देखे।

31 जब याहवेहले इजिप्टियनहरूको विरुद्धमा महान् शक्ति देखाउनुभएको इस्राएलीहरूले देखे, तब मानिसहरू याहवेहसित डराए र आफ्नो भरोसा याहवेह र उहाँका सेवक मोशामाथि राखे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 14, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.