Efésios 1

npioncb (NPIONCB)

1 परमेश्‍वरको इच्छाअनुसार ख्रीष्‍ट येशूका प्रेरित पावलबाट,

2 हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

3 हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्‍टमा हरेक आत्मिक आशिष्‌ले स्वर्गीय स्थानहरूमा आशिष् दिनुभएको छ।

4 किनकि उहाँको दृष्‍टिमा हामी प्रेममा पवित्र र निष्खोट हुन सकौँ भनेर उहाँले हामीलाई संसारको सृष्‍टिभन्दा पहिल्यै ख्रीष्‍टमा चुन्‍नुभयो।

5 हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार उहाँले येशू ख्रीष्‍टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो,

6 ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैँमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्।

7 परमेश्‍वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्‍टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ।

8 परमेश्‍वरले आफ्नो सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो।

9 उहाँले आफ्नो असल अभिप्रायअनुसार आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभएको छ, जुन रहस्य ख्रीष्‍टमा राख्नुभएको थियो,

10 ताकि जब समयहरूको पूर्णता हुन्छ, तब स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनको एकतामा ल्याइनेछन्।

11 उहाँले आफ्नो इच्छाअनुसारको उद्देश्य पूरा गर्न सबै काम गर्नुहुन्छ, उहाँको योजनाअनुसार पूर्वनिर्धारण गरेर हामीलाई पनि उहाँमा नै चुन्‍नुभएको छ।

12 हामी जसले ख्रीष्‍टमा पहिल्यै आशा राखेका छौँ, उहाँको महिमाको प्रशंसाको कारण बन्‍न सकौँ।

13 जब तिमीहरूले सत्यको वचन आफ्नो मुक्तिको सुसमाचार सुन्यौ, तिमीहरू पनि ख्रीष्‍टमा समावेश भयौ। जब उहाँमा नै तिमीहरूले विश्‍वास गर्‍यौ, तब तिमीहरूलाई प्रतिज्ञा गरिएका पवित्र आत्माद्वारा छाप लगाइएको थियो।

14 परमेश्‍वरको महिमाको प्रशंसाका निम्ति, तिनीहरू जो उहाँका सम्पत्ति हुन्, पवित्र आत्मा तिनीहरूको पूर्ण उद्धार नहुन्जेल उत्तराधिकारको बैना हुनुहुन्छ।

15 त्यसैले जबदेखि मैले प्रभु येशूमा तिमीहरूको विश्‍वास र सबै सन्तप्रति तिमीहरूको प्रेमको बारेमा सुनेँ,

16 मैले तिमीहरूलाई प्रार्थनामा सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद दिन छोडेको छैनँ।

17 मैले यही बिन्ती गरिरहेको छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धि र प्रकाशको आत्मा देऊन्, ताकि तिमीहरूले उहाँलाई अझ राम्रोसँग जान्‍न सक।

18 म प्रार्थना गर्दछु, तिमीहरूका हृदयका आँखा खोलिऊन्, जुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनुभयो, जुनचाहिँ उहाँका सन्तहरूका महिमित उत्तराधिकारको सम्पत्ति हो, सो तिमीहरूले जान्‍न सक।

19 म यो पनि प्रार्थना गर्दछु, परमेश्‍वरको शक्तिको अतुलनीय महानता, जो उहाँमा विश्‍वास गर्ने हामीहरूका निम्ति हो, तिमीहरूले बुझ्न सक। यो शक्ति महान् सामर्थ्य हो,

20 जसलाई प्रयोग गरेर उहाँले ख्रीष्‍टलाई मृतकबाट पुनर्जीवित पार्नुभयो र स्वर्गीय स्थानहरूमा आफ्नै दाहिने हाततिर बसाल्नुभयो।

21 अनि सबै प्रधानता र अधिकार, शक्ति र राज्य र यस युगमा मात्र होइन, तर आउने युगमा पनि सबै नामभन्दा माथि उहाँलाई राख्नुभयो।

22 यसर्थ परमेश्‍वरले सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो र मण्डलीका निम्ति उहाँलाई नै सबै कुरामाथि शिर तुल्याइदिनुभयो,

23 जुन मण्डली उहाँको शरीर हो; उहाँको पूर्णता हो, जसलाई उहाँले नै सबै कुराले सबै तरिकाले भरिपूर्ण पारिदिनुहुन्छ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Efésios 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.