Deuteronômio 13

npioncb (NPIONCB)

1 यदि तिमीहरूमध्ये कोही अगमवक्ता वा स्वप्नदर्शी निस्केर कुनै अचम्मको चिन्ह वा अद्‌भुत कार्यको घोषणा गर्छ भने,

2 अनि यदि त्यसले भनेका कुराहरू, अलौकिक चिन्ह वा अद्‌भुत कार्य साँचो भयो भने त्यस अगमवक्ताले यसो भन्छ, “हामी अरू देवी-देवताहरूका पछि लागौँ, (तिमीहरूले नजानेका देवी-देवताहरू) र तिनीहरूलाई पूजौँ,”

3 तिमीहरूले त्यस अगमवक्ता अथवा स्वप्नदर्शीका कुरा नसुन्‍नू। किनकि उहाँलाई तिमीहरूका सारा हृदयले, सारा प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनेर याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जाँच गरिरहनुभएको हुनेछ।

4 याहवेह तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले पछ्याउनू। अनि तिमीहरूले उहाँकै आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र आज्ञाकारी हुनू; उहाँकै सेवा गर्नू। अनि उहाँमा विश्‍वासयोग्य भइरहनू।

5 त्यस अगमवक्ता अथवा स्वप्नदर्शीलाई चाहिँ मार्नू; किनकि त्यसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटकारा दिएर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरको विरुद्धमा विद्रोही बन्‍नलाई उक्साएको छ। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मान्‍नू भनेर आज्ञा गर्नुभएका मार्गहरूबाट त्यसले तर्काएर लैजाने कोसिस गर्‍यो। तिमीहरूले आफ्नो बीचबाट दुष्‍टतालाई हटाउनैपर्छ।

6 यदि तिमीहरूका आफ्नै दाजुभाइले, अथवा तिमीहरूका छोराछोरीले, अथवा तिमीहरूले प्रेम गरेकी पत्नी अथवा तिमीहरूका घनिष्‍ठ मित्रले तिमीहरूलाई यसो भनेर गुप्‍तमा बहकाउँछ भने, “हामी जाऔँ, र अरू देवी-देवताहरूलाई पूजा गरौँ” (तिमीहरू र तिमीहरूका पितापुर्खाहरूले नजानेका देवी-देवताहरू,

7 तिमीहरूका वरिपरि भएका मानिसहरू, नजिक अथवा टाढा भएका, देशको एक छेउदेखि अर्को छेउसम्म भएका),

8 तिमीहरू तिनीहरूका कुरामा नलाग्नू, वा तिनीहरूको कुरा नसुन्‍नू। तिनीहरूलाई दया नदेखाउनू। तिनीहरूलाई बाँकी नराख्नू वा नजोगाउनू।

9 तिमीहरूले तिनीहरूलाई निश्‍चय नै मार्नू। तिनीहरूलाई मार्नका लागि तिमीहरूका हात पहिला उठोस्, र त्यसपछि अरू सबैका हातहरू उठून्।

10 तिनीहरूलाई ढुङ्गाले हिर्काएर मार्नू; किनकि तिनीहरूले तिमीहरूलाई इजिप्टबाट, दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्‍वरदेखि बहकाउन खोजे।

11 तब सारा इस्राएलीहरूले यो सुन्‍नेछन् र डर मान्‍नेछन्। अनि तिमीहरूको बीचमा कहिल्यै कसैले पनि यस्तो दुष्‍ट काम फेरि गर्नेछैन।

12 यदि याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने सहरहरूमध्ये कुनै एउटा सहरको बारेमा तिमीहरूले यस्तो कुरा सुन्यौ,

13 कि तिमीहरूबीच दुष्‍ट मानिसहरू निस्केर सहरका मानिसहरूलाई बहकाएर यसो भन्दैछन्, “हामी जाऔँ, र अरू देवी-देवताहरूलाई पूजा गरौँ”, (तिमीहरूले नचिनेका देवी-देवताहरू),

14 तब तिमीहरूले त्यस बारेमा सावधानीसाथ सोधपुछ गर्नू, जाँच गर्नू र छानबिन गर्नू। यदि तिमीहरूका बीचमा यस्तो घृणित काम गरिएको साँचो हो भन्‍ने प्रमाणित भयो भने,

15 तिमीहरूले त्यस सहरमा बस्‍ने सबैलाई निश्‍चित रूपमा तरवारले मार्नुपर्छ। तिमीहरूले तिनीहरूका मानिसहरू र गाईबस्तु दुवैलाई पूर्ण रूपले नाश गर्नू।

16 त्यस सहरका सबै लुटका मालसामानहरू सार्वजनिक चोकको माझमा जम्मा गर्नू। अनि त्यस सहर र त्यसका सबै लुटका मालसामानहरूलाई याहवेह तिमीहरूका परमेश्‍वरको निम्ति होमबलिको रूपमा जलाइदिनू। त्यो सहर सदाका निम्ति भग्नावशेषको रूपमा रहोस्। अनि त्यस सहरको पुनर्निर्माण कहिल्यै नहोस्।

17 विनाशका लागि तय गरिएका कुनै पनि चीजहरू तिमीहरूसँग नरहोस्। तब याहवेह आफ्नो डरलाग्दो रिसबाट फर्केर तिमीहरूमाथि कृपा देखाउनुहुनेछ, र दयालु हुनुहुनेछ। उहाँले तिमीहरूका पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूको संख्यामा वृद्धि गराउनुहुनेछ;

18 किनकि आज मैले तिमीहरूलाई दिइरहेका उहाँका सबै आज्ञाहरू तिमीहरूले पालन गर्दै उहाँको दृष्‍टिमा जे ठिक छ, त्यही गरिरहेका छौ।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Deuteronômio 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.