Apocalipse 22

npioncb (NPIONCB)

1 तब त्यस स्वर्गदूतले मलाई परमेश्‍वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए,

2 जुनचाहिँ सहरको मूल बाटोको बीचबाट बगिरहेको थियो। नदीका दुवैतिर प्रत्येक महिना बाह्र किसिमका फलहरू फलाउने जीवनको रूख थियो। ती रूखहरूका पातहरूचाहिँ राष्ट्रहरूलाई निको पार्नको लागि हुन्।

3 त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्‍वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्।

4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ।

5 अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्‍वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्।

6 ती स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्। परमप्रभु, जो अगमवक्ताहरूका आत्माका परमेश्‍वर हुनुहुन्छ, उहाँले उहाँका सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू देखाउनलाई आफ्ना स्वर्गदूत पठाउनुभएको छ।”

7 “हेर, म चाँडै आउँदैछु! यस पुस्तकका अगमवाणीका वचनहरू पालन गर्नेहरू धन्यका हुन्।”

8 यी कुराहरू सुन्‍ने र देख्ने म, स्वयम् यूहन्‍ना हुँ। अनि जब मैले यी सुनेँ र देखेँ, तब यी कुराहरू मलाई देखाइरहने स्वर्गदूतलाई आराधना गर्न भनेर म तिनको पाउमा घोप्टो परेँ।

9 तर ती स्वर्गदूतले मलाई भने, “यसो नगर! म त तिमीजस्तै एक सङ्गी-सेवक हुँ। म तिम्रा सङ्गी-अगमवक्ता र यस पुस्तकका वचनहरू पालन गर्नेहरूजस्तै हुँ। परमेश्‍वरलाई मात्र दण्डवत् गर!”

10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि अगमवाणी पूरा हुने समय नजिकै छ।

11 जसले खराबी गर्छ, त्यसले खराबी नै गरिरहोस्; जो अश्लील छ, त्यो अश्लीलै रहोस्; जो ठिक छ, त्यसले ठिकै गरिरहोस्; अनि जो पवित्र छ, त्यो पवित्र नै भइरहोस्।”

12 “हेर, म चाँडै आउँदैछु! मेरो पुरस्कार मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु।

13 म नै अल्फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्त्य हुँ।

14 “जीवनको रूखको अधिकार पाउन र सहरका ढोकाहरू भित्र पस्‍न पाऊँ भनेर आफ्ना वस्त्र शुद्ध राख्नेहरू धन्यका हुन्।

15 बाहिरचाहिँ कुकुरहरू; तन्त्रमन्त्र गर्नेहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झूट मन पराउने र त्यसैअनुसार चल्नेहरू हुन्छन्।

16 “म येशूले मण्डलीहरूलाई यो गवाही दिनू भनी मेरो दूतलाई तिमीकहाँ पठाएको छु। म दावीदको मूल र सन्तान, र बिहानको चहकिलो तारा हुँ।”

17 आत्मा र दुलही भन्‍नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; अनि जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्।

18 म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने परमेश्‍वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ।

19 यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने परमेश्‍वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ।

20 यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्‍नुहुन्छ, “हेर, म चाँडै आउँदैछु!”

21 प्रभु येशूको अनुग्रह परमेश्‍वरका सबै जनहरूसँग रहोस्! आमेन।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Apocalipse 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.