2 Reis 22

npioncb (NPIONCB)

1 राजा हुँदा योशियाह आठ वर्षका थिए। तिनले यरूशलेममा एकतीस वर्ष राज्य गरे। तिनकी आमाको नाम यदीदा थियो, जो अदायाहकी छोरी थिइन्। तिनी बोस्कतकी थिइन्।

2 तिनले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरे। अनि दाहिने-देब्रे कतैपट्टि लागेनन्, तर आफ्ना पुर्खा दावीदका चालहरूमा पूर्ण रूपमा हिँडे।

3 आफ्नो शासनकालको अठारौँ वर्षमा राजा योशियाहले मशुल्‍लामका नाति असल्याहका छोरा सचिव शापानलाई याहवेहको मन्दिरमा पठाए। तिनले भने,

4 “प्रधान पुजारी हिल्कियाहकहाँ जानू, र तिनलाई ढोकामा खटिएकाहरूले मानिसहरूबाट उठाएका रकम, जुन याहवेहको मन्दिरमा ल्याइएको छ, त्यो तयार राख्न लगाउनू।

5 मन्दिरको काम रेखदेख गर्न खटाइएका मानिसहरूलाई ती जिम्मा लगाइदिनू। अनि यी मानिसहरूलाई याहवेहको मन्दिर मर्मत गर्ने कर्मचारीहरूलाई ती तिर्न लगाऊनू—

6 अर्थात् सिकर्मीहरू, निर्माण गर्नेहरू र डकर्मीहरूलाई। मन्दिर मर्मत गर्नलाई तिनीहरूलाई काठ र काटिएका ढुङ्गाहरू पनि किन्‍न लगाऊनू।

7 तर तिनीहरूलाई दिइएको रकमको हिसाब तिनीहरूले नलिऊन्; किनकि तिनीहरू इमानदार छन्।”

8 प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक मन्दिरमा भेट्टाएको छु।” तिनले त्यो शापानलाई दिए, र तिनले त्यो पढे।

9 तब सचिव शापान राजाकहाँ गए, र तिनले उहाँलाई यसको खबर दिए, “तपाईंका अधिकृतहरूले याहवेहको मन्दिरमा भएको रकम बुझाएर त्यसलाई मन्दिरका कर्मचारीहरू र रेखदेख गर्नेहरूको जिम्मामा दिए।”

10 त्यसपछि सचिव शापानले राजालाई बताए, “प्रधान पुजारी हिल्कियाहले यो पुस्तक मलाई दिएका छन्।”

11 राजाले व्यवस्थाका पुस्तकका वचनहरू सुनेपछि तिनले आफ्ना वस्त्र च्याते।

12 तिनले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका सेवक असाहायाहलाई यो हुकुम दिए:

13 “जाओ र मेरा निम्ति, मानिसहरूका निम्ति र सारा यहूदाका निम्ति यो भेट्टाइएको पुस्तकमा लेखिएका कुराहरूबारे याहवेहसित सल्‍लाह लेओ। हाम्रो विरुद्धमा याहवेहको ठूलो क्रोध दन्केको छ। किनकि हाम्रा पितापुर्खाहरूले यस पुस्तकका वचनहरू पालन गरेका छैनन्। तिनीहरूले त्यसमा हाम्रो विषयमा लेखिए अनुसारका काम गरेका छैनन्।”

14 पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असाहायाह वस्त्रहरूको हेरचाह गर्ने हरहसका नाति तिक्भाका छोरा शल्‍लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ कुरा गर्न गए। तिनी यरूशलेमको नयाँ भागमा बस्थिन्।

15 तिनले तिनीहरूलाई भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,

16 ‘याहवेह यसो भन्‍नुहुन्छ: म यस ठाउँ र यसमा भएका मानिसहरूमा यहूदाका राजाले पढेका पुस्तकमा लेखिएअनुसार सबै विपत्ति ल्याउनेछु।

17 तिनीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूकहाँ धूप बालेका छन्। तिनीहरूका हातले बनाएका मूर्तिहरूद्वारा मलाई रिस उठाएको कारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्किनेछ, र त्यो थामिनेछैन।’

18 याहवेहसित सल्‍लाह लिन तिमीहरूलाई पठाउने यहूदाका राजालाई भन्, ‘तैँले सुनेका कुराहरूको विषयमा याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

19 तेरो हृदय संवेदनशील भयो, र तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका मानिसहरूका विरुद्धमा बोलेको वचन सुनेर तैँले याहवेहको सामु आफूलाई नम्र तुल्याईस्। अनि आफ्ना वस्त्रहरू च्यातेर मेरो उपस्थितिमा रोइस्। यसैले मैले तेरो कुरा सुनेको छु भनी याहवेह घोषणा गर्नुहुन्छ।

20 यसकारण म तँलाई तेरा पुर्खाहरूकहाँ भेला गराउनेछु, र तँ शान्तिमा गाडिनेछस्। तेरा आँखाले मैले यस ठाउँमा ल्याउने सबै विपत्तिहरू देख्नेछैन।’ ”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Reis 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.