1 Samuel 3

npioncb (NPIONCB)

1 बालक शमूएल एलीको अधीनमा याहवेहको सामु सेवा गर्थे। ती दिनहरूमा याहवेहको वचन दुर्लभ थियो; अनि दर्शनहरू पनि कम पाइन्थ्यो।

2 एक रात एली आफ्नो कोठामा ढल्किरहेका थिए; तिनका आँखा धमिलो भएर राम्ररी देख्न पनि नसक्ने भइसकेका थिए।

3 परमेश्‍वरको बत्ती निभिसकेको पनि थिएन; अनि शमूएलचाहिँ मन्दिरभित्र याहवेहको सन्दुक भएको ठाउँमा ढल्किरहेका थिए।

4 तब याहवेहले शमूएललाई बोलाउनुभयो।

5 अनि तिनी एलीकहाँ दौडेर गए र भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।”

6 याहवेहले फेरि पनि बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।”

7 तबसम्म शमूएलले याहवेहलाई चिनेकै थिएनन्: याहवेहको वचन तिनलाई अझसम्म प्रकट भएको थिएन।

8 तेस्रो पटक याहवेहले शमूएललाई बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।”

9 यसकारण एलीले शमूएललाई भने, “जा, र ढल्किबस; अनि यदि उहाँले तँलाई बोलाउनुभयो भने यसो भन्‍नू, ‘बोल्नुहोस्, याहवेह, किनकि तपाईंको सेवकले सुन्दैछु।’ ” यसकारण शमूएल गए, र आफ्नो ओछ्यानमा ढल्के।

10 याहवेह त्यहाँ आएर उभिनुभयो, र पहिलेजस्तै बोलाउनुभयो, “शमूएल! शमूएल!”

11 याहवेहले शमूएललाई भन्‍नुभयो: “हेर्, म इस्राएलमा यस्तो गर्न जाँदैछु, जुन कुराले सुन्‍नेहरूका कान झन्झनाउनेछन्।

12 त्यस बेला मैले एली र त्यसको परिवारको विरुद्धमा भनेका हरेक कुरा सुरुदेखि अन्त्यसम्म नै पूरा गर्नेछु।

13 किनकि मैले त्यसलाई म सदासर्वदाको लागि त्यसको परिवारको न्याय गर्नेछु भनेर भनिसकेको छु। किनकि त्यसका छोराहरूले गरेको पाप र त्यसका छोराहरूले परमेश्‍वरलाई निन्दा गर्दैछन् भनेर जान्दाजान्दै पनि त्यसले तिनीहरूलाई रोकेन।

14 यसकारण मैले एलीको घरानाको विरुद्धमा शपथ खाएको छु, ‘एलीको घरानाको अपराधको प्रायश्‍चित बलिदान अथवा भेटीद्वारा कहिल्यै पनि हुनेछैन।’ ”

15 शमूएल बिहानसम्मै ढल्किरहे, र त्यसपछि याहवेहको भवनका ढोकाहरू खोले। एलीलाई दर्शनको बारेमा भन्‍न उनी डराए,

16 तर एलीले तिनलाई बोलाएर भने, “मेरो छोरा, शमूएल।”

17 एलीले तिनलाई सोधे, “उहाँले तँलाई के भन्‍नुभयो? मसँग नलुका। उहाँले तँलाई भन्‍नुभएको कुनै पनि कुरा यदि तैँले मसँग लुकाइस् भने उहाँले तँसँग कठोर व्यवहार गरून्।”

18 यसकारण शमूएलले एलिसँग केही पनि नलुकाई तिनलाई सबै कुरा बताइदिए। तब एलीले भने, “उहाँ याहवेह हुनुहुन्छ; उहाँलाई आफ्नो दृष्‍टिमा जे ठिक लाग्छ, त्यही गरून्।”

19 जब शमूएल बढ्दै गए, तब याहवेह तिनीसित हुनुहुन्थ्यो, र उहाँले शमूएलको एउटै पनि वचन व्यर्थ जान दिनुभएन।

20 अनि दानदेखि बेर्शेबासम्मका सारा इस्राएलले शमूएललाई याहवेहका अगमवक्ता भनी चिने।

21 याहवेह शीलोमा निरन्तर देखा पर्नुभयो; र त्यहाँ उहाँले वचनद्वारा आफूलाई शमूएलकहाँ प्रकट गर्नुभयो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.