1 Samuel 26

npioncb (NPIONCB)

1 जीपका केही मानिसहरू गेबामा शाऊलकहाँ गएर भने, “दावीद यशीमोनको सामु भएको हकीलाहको डाँडामा लुकेर बसेका छन्।”

2 यसकारण शाऊल दावीदलाई खोज्न भनी इस्राएलका आफ्ना चुनिएका तीन हजार मानिसहरूलाई लिएर जीपको उजाडस्थानमा गए।

3 शाऊलले यशीमोनतिर फर्केको हकीलाहको डाँडा छेउमा आफ्नो छाउनी हाले; तर दावीदचाहिँ उजाडस्थानमै बसे। जब शाऊलले आफूलाई त्यहाँसम्म पछ्याएको दावीदले थाहा पाए,

4 तब तिनले जासुसहरू पठाए, र शाऊल साँच्‍चै आएका रहेछन् भन्‍ने पत्ता लगाए।

5 त्यसपछि दावीद निस्किए, र शाऊलले छाउनी हालेको ठाउँमा गए। तिनले शाऊल र नेरका छोरा, अर्थात् सेनाका सेनापति अबनेर सुतेको ठाउँ देखे। शाऊलचाहिँ छाउनीभित्र सुतिरहेका थिए। तिनको चारैतिर फौजले घेरेका थिए।

6 तब दावीदले हित्ती अहीमेलेक र योआबको दाजु, अर्थात् सरूयाहका छोरा अबीशैलाई सोधे, “मसँग शाऊलको छाउनीभित्र को जान्छ?”

7 यसकारण दावीद र अबीशै राति नै सेनाहरूकहाँ गए। शाऊल आफ्नो सिरानीनिर भुइँमा आफ्नो भाला गाडेर छाउनीभित्र सुतिरहेका भेट्टाए। अबनेर र सिपाहीहरूचाहिँ तिनको चारैतिर ढल्किरहेका थिए।

8 तब अबीशैले दावीदलाई भने, “आज परमेश्‍वरले तपाईंको शत्रुलाई तपाईंको हातमा सुम्पिदिनुभएको छ। अब मलाई मेरो भालाले यिनलाई भुइँसम्मै रोपिने गरी प्रहार गर्न अनुमति दिनुहोस्। मैले यिनलाई दोस्रोपल्ट प्रहार गर्नु पर्नेछैनँ।”

9 तर दावीदले अबीशैलाई भने, “शाऊललाई नमार्नू! याहवेहको अभिषिक्त जनमाथि हात उठाएर कोचाहिँ निर्दोष रहन सक्ला र?”

10 दावीदले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै याहवेह आफैँले तिनलाई प्रहार गर्नुहुनेछ, अथवा शाऊलको समय आउनेछ र तिनी मर्नेछन्, वा तिनी लडाइँमा गएर नष्‍ट हुनेछन्।

11 तर याहवेहको अभिषिक्त जनमाथि हात उठाउनदेखि मलाई याहवेहले रोकून्। तर तिनको सिरानीनिर भएको भाला र पानीको सुराहीचाहिँ लिऔँ र हामी जाऔँ।”

12 यसकारण दावीदले शाऊलको सिरानीनिर भएको भाला र पानीको सुराही लिएर तिनीहरू गए। यो कुरा कसैले पनि देखेनन्, न त यस बारेमा कसैलाई थाहा भयो, न कोही नै बिउँझे। तिनीहरू सबै जना सुतिरहेका थिए। किनकि याहवेहले तिनीहरूलाई मस्त निद्रामा पार्नुभएको थियो।

13 त्यसपछि दावीद अर्को डाँडापट्टि पार गरेर गए, र डाँडाको टुप्पामा टाढा उभिए। तिनीहरू एक-अर्कादेखि धेरै टाढा थिएनन्।

14 दावीदले सेना र नेरका छोरा अबनेरलाई हपारेर भने, “हे अबनेर, के तिमी मलाई जवाफ दिँदैनौ?”

15 दावीदले भने, “अबनेर, के तिमी एक महान् पुरुष होइनौ र? अनि इस्राएलमा तिमीजस्तै अरू को छ र? तिमीले तिम्रा मालिक राजाको सुरक्षा किन गरेनौ? तिम्रा मालिक राजालाई मार्न कोही आएको थियो।

16 तिमीले जे गर्‍यौ, त्यो ठिक होइन। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चित रूपमा तिमी र तिम्रा मानिसहरू मारिनैपर्छ। किनकि तिमीहरूले आफ्ना मालिक, अर्थात् याहवेहको अभिषिक्त जनको रक्षा गरेनौ। तिम्रो वरिपरि हेर। राजाको सिरानीनिर भएको उहाँका भाला र पानीको सुराही कहाँ छ?”

17 तब शाऊलले दावीदको सोर चिनेर भने, “हे मेरा छोरा दावीद, के यो तिम्रो सोर हो?”

18 तिनले फेरि भने, “मेरा मालिकले आफ्नो सेवकलाई किन खेद्‌दैहुनुहुन्छ? मैले के गरेको छु, र म कुन कुराको दोषी छु र?

19 अहिले मेरा मालिक राजाले आफ्नो सेवकको कुरा सुन्‍नुहोस्। यदि याहवेहले तपाईंलाई मेरो विरुद्धमा सुर्‍याउनुभएको छ भने उहाँले भेटी ग्रहण गरून्। तर यदि योचाहिँ मानिसहरूले गरेको हो भने तिनीहरू याहवेहको सामु श्रापित होऊन्! आज मलाई तिनीहरूले याहवेहको उत्तराधिकारमा भएको मेरो घरबाट खेदेर यसो भनेका छन्, ‘जाऊ, अरू देवी-देवताहरूको सेवा गर।’

20 अब मेरो रगत याहवेहको उपस्थितिबाट टाढा रहेको देशमा खस्‍न नदिनुहोस्। पहाडतिरका तित्रा चराको शिकार गर्न निस्केझैँ, इस्राएलका राजा एउटा उपियाँलाई खोज्न निस्किआउनुभएको छ।”

21 तब शाऊलले भने, “मैले पाप गरेको छु। हे मेरा छोरा दावीद, फर्केर आऊ! किनकि तिमीले मेरो जीवनलाई आज बहुमूल्य ठानेका छौ। अब उसो म फेरि तिमीलाई हानि गर्ने कोसिस गर्नेछैनँ। वास्तवमै मैले एउटा मूर्खले जस्तै काम गरेको छु; अनि अति ठूलो भूल गरेको छु।”

22 दावीदले जवाफ दिए, “राजाको भाला यहाँ छ। तपाईंको कुनै जवान मानिस आएर यो लैजाओस्।

23 याहवेहले हरेक मानिसहरूलाई तिनीहरूको धार्मिकता र विश्‍वासयोग्यताको निम्ति प्रतिफल दिनुहुन्छ। आज याहवेहले तपाईंलाई मेरो हातमा सुम्पिदिनुभयो। तर मैले याहवेहको अभिषिक्त जनमाथि आफ्नो हात उठाइनँ।

24 आज मैले तपाईंको प्राणलाई बहुमूल्य ठानेझैँ याहवेहले मेरो प्राणलाई पनि बहुमूल्य ठानेर मलाई सबै विपत्तिबाट बचाऊन्।”

25 त्यसपछि शाऊलले दावीदलाई भने, “हे मेरा छोरा दावीद, तिमी धन्यका हौ। तिमीले महान् कामहरू गर्नेछौ, र निश्‍चय नै विजयी हुनेछौ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 26, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.