1 Samuel 20

npioncb (NPIONCB)

1 तब दावीद रामाको नैयोतबाट भागेर जोनाथनकहाँ गएर सोधे, “मैले के गरेको छु? मेरो अपराध के हो? मैले तिम्रा पितालाई के खराबी गरेको छु र उहाँले मलाई मार्न खोज्दैहुनुहुन्छ?”

2 जोनाथनले जवाफ दिए, “कदापि यस्तो हुनेछैन! तपाईं मर्नुहुनेछैन! हेर्नुहोस्, मेरा पिताले मलाई नभनी ठूलो वा सानो होस्, कुनै पनि काम गर्नुहुन्‍न। उहाँले यो कुरा मदेखि किन लुकाउनुहुन्थ्यो र? यस्तो हुनै सक्दैन!”

3 तर दावीदले शपथ खाएर भने, “मैले तिम्रो दृष्‍टिमा निगाह पाएको छु भनी तिम्रा पितालाई थाहा छ। त्यसैले उहाँले आफ्नो मनमा यसरी सोच्नुभएको होला, ‘यो कुरा जोनाथनले थाहा नपाओस्, नत्रता त्यो दुःखी हुनेछ।’ साँच्‍चै जीवित याहवेह र तिमीलाई साक्षी राखेर म भन्दछु, म र मृत्युको बीचको दूरी एक कदम मात्र छ।”

4 तब जोनाथनले दावीदलाई भने, “मैले तपाईंको निम्ति जे गरेको तपाईं चाहनुहुन्छ, म त्यही गर्नेछु।”

5 यसकारण दावीदले भने, “हेर, भोलि औँसीको चाड हो। मैले राजासँग भोजन खानुपर्ने हुन्छ। तर मलाई जान देऊ, र पर्सि साँझसम्म खेतमा गएर लुक्नेछु।

6 यदि तिम्रा पिताले मलाई खोज्नुभयो भने उहाँलाई यसो भनिदेऊ, ‘बेथलेहेममा आफ्नो घर अचानक जानुपर्ने भएको हुनाले दावीदले मसँग अनुमति मागे; किनकि त्यहाँ तिनको सम्पूर्ण घरानाका निम्ति वार्षिक बलिदान चढाउनुपर्ने रहेछ।’

7 यदि उहाँले, ‘ठिकै छ,’ भन्‍नुभयो भने तिम्रो सेवक सुरक्षित छ। तर यदि उहाँ रिसाउनुभयो भने उहाँले मलाई हानि गर्ने संकल्प गरिसक्नुभएको छ भनी तिमी निश्‍चित हुनु।

8 तर तिमीले चाहिँ आफ्नो सेवकमाथि दया देखाऊ; किनकि तिमीले उसलाई याहवेहको सामु करारमा बाँधेको छौ। यदि म दोषी ठहरिएछु भने मलाई तिमी आफैँले नै मार्नु! मलाई तिम्रो पिताको हातमा किन सुम्पिदिन्छौ र?”

9 जोनाथनले भने, “यस्तो हुनै सक्दैन! मेरा पिताले तपाईंलाई हानि गर्ने कुराको सङ्केत मैले अलिकति पनि पाएको भए के म तपाईंलाई भन्‍नेथिइनँ र?”

10 तब दावीदले जोनाथनलाई सोधे, “यदि तिम्रा पिताले तिमीलाई कठोर जवाफ दिनुभयो भने त्यो कुरा मलाई कसले थाहा दिन्छ?”

11 जोनाथनले भने, “आउनुहोस्, हामी खेतमा जाऔँ।” यसरी तिनीहरू एकसाथ खेतमा गए।

12 तब जोनाथनले दावीदलाई भने: “याहवेह इस्राएलका परमेश्‍वरको नाममा म यो प्रतिज्ञा गर्छु कि, म पर्सि साँझसम्म आफ्नो पिताको मन बुझ्नेछु! यदि उहाँ तपाईंप्रति दयालु हुनुहुँदोरहेछ भने के म तपाईंकहाँ खबर पठाएर यो कुरा तपाईंलाई थाहा दिन्‍नँ र?

13 तर यदि मेरा पिताले तपाईंलाई हानि गर्न निश्‍चय गर्नुभएको रहेछ भने मैले त्यो कुरा तपाईंलाई बताएर सुरक्षासाथ भगाइनँ भने याहवेहले मलाई दण्ड देऊन्। याहवेह मेरा पितासँग रहनुभएझैँ तपाईंसँग पनि रहून्।

14 तर म बाँचुन्जेल मप्रति याहवेहलेझैँ अटुट दया देखाउनुहोस्, ताकि म मारिनु नपरोस्।

15 अनि याहवेहले सारा संसारबाट दावीदको प्रत्येक शत्रुलाई नष्‍ट गर्नुभए तापनि मेरो परिवारबाट तपाईंको दया कहिल्यै नहटोस्।”

16 यसकारण जोनाथनले दावीदको घरानासँग करार बाँधेर भने, “याहवेहले दावीदका शत्रुहरूको लेखा लिऊन्।”

17 दावीदप्रतिको तिनको प्रेमको कारण जोनाथनले दावीदलाई आफ्नो प्रतिज्ञा दृढ गराए, किनकि जोनाथनले उनलाई आफूलाई झैँ प्रेम गर्थे।

18 तब जोनाथनले दावीदलाई भने, “भोलि औँसीको चाड हो। तपाईंको ठाउँ खाली देखेर सबैले सोध्नेछन्।

19 पर्सिको दिन साँझतिर यो समस्या सुरु हुँदा तपाईं लुक्ने ठाउँमा गएर एजेल ढुङ्गाको छेउमा पर्खिनुहोस्।

20 म त्यतातिर कुनै निशानामा हानेझैँ गरेर तीन वटा काँडहरू हान्‍नेछु।

21 तब म एउटा केटालाई पठाएर भन्‍नेछु, ‘ती काँडहरू खोज।’ यदि मैले त्यसलाई, ‘हेर्, काँडहरू तेरो यतापट्टि छ; तिनलाई यहाँ लिएर आइज’ भनेँ भने तपाईं आउनसक्नुहुनेछ। किनकि जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, तपाईं सुरक्षित रहनुहुनेछ; अनि तपाईंलाई कुनै खतरा हुनेछैन।

22 तर यदि मैले त्यस केटालाई, ‘हेर्, काँडहरू तेरो उतापट्टि छ’, भनेँ भने तपाईं भाग्नुहोला। किनकि याहवेहले नै तपाईंलाई टाढा पठाउनुभएको रहेछ।

23 अनि तपाईं र मैले गरेको कुराहरूको बारेमा चाहिँ याद राख्नुहोला। तपाईं र मेरो बीचमा सदासर्वदाका निम्ति याहवेह साक्षी हुनुहुन्छ।”

24 यसकारण दावीद गएर खेतमा लुके। अनि जब औँसीको चाड आयो, तब राजा भोजन गर्न बसे।

25 शाऊल जोनाथनको सामु सधैँको ठाउँमा भित्ताको छेउमा बसे। अनि अबनेर शाऊलको छेउमा बसे, तर दावीदको ठाउँ खाली थियो।

26 त्यस दिन शाऊलले केही भनेनन्। किनकि, “दावीद विधिअनुसार अशुद्ध भएका होलान्, यसकारण तिनी उपस्थित हुन सकेनन्” भनी तिनले सोचेका थिए।

27 तर भोलिपल्ट, अर्थात् महिनाको दोस्रो दिन दावीदको ठाउँ फेरि खाली नै थियो। तब शाऊलले आफ्ना छोरा जोनाथनलाई सोधे, “हिजो र आज यिशैको छोरा किन भोजन गर्न आएन?”

28 जोनाथनले शाऊललाई जवाफ दिए, “दावीदले बेथलेहेम जानलाई मसँग ढिपी गरेर अनुमति मागेका थिए।

29 तिनले भने, ‘मलाई जान दिनुहोस्; किनकि हाम्रो परिवारले सहरमा बलिदान चढाइरहेका छन्। अनि मेरा दाजुले मलाई त्यहाँ उपस्थित हुनु भनेर हुकुम गर्नुभएको छ। यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई आफ्ना दाजुहरूलाई भेट्न जान दिनुहोस्।’ यसैकारण तिनी राजाको भोजमा उपस्थित छैनन्।”

30 तब शाऊल जोनाथनसँग रिसले भड्किए, र तिनले उनलाई भने, “तँ दुष्‍ट र विद्रोही स्त्रीको छोरो! तैँले आफ्नै बेइज्जतका लागि र तँलाई जन्माउने आमाको बेइज्जतका लागि यिशैको छोराको पक्ष लिँदैछस् भन्‍ने कुरा के मलाई थाहा छैन र?

31 जबसम्म यिशैको छोरो यस पृथ्वीमा जीवित रहन्छ, न त तँ स्थापित हुनेछस्, न त तेरो राज्य स्थापित हुनेछ। अब कसैलाई पठाएर त्यसलाई मकहाँ झट्टै ल्याउन लगा; किनकि त्यो मर्नैपर्छ।”

32 जोनाथनले आफ्ना पितालाई सोधे, “दावीद किन मारिनुपर्छ? तिनले के गरेका छन् र?”

33 तर जोनाथनलाई मार्न भनी शाऊलले तिनीतिर भाला हाने। तब जोनाथनले आफ्ना पिताले दावीदलाई मार्ने नै विचार गरेका रहेछन् भनी थाहा पाए।

34 जोनाथन रिसले चुर हुँदै आफ्नो टेबुलबाट उठेर गइहाले; त्यस महिनाको दोस्रो दिन तिनले केही खाएनन्। किनकि दावीदप्रति आफ्ना पिताको शर्मलाग्दो व्यवहारको कारण तिनी साह्रै शोकाकुल भएका थिए।

35 भोलिपल्ट बिहानै जोनाथन दावीदलाई भेट्न भनी खेततिर गए। तिनीसँग एउटा सानो केटो थियो।

36 तब तिनले त्यस केटोलाई भने, “मैले हानेको काँड खोज्न दौडेर जा।” त्यो केटो दौडेर गएपछि तिनले त्यसको पछिल्तिर अर्को काँड हाने।

37 जब त्यो केटो जोनाथनको काँड खसेको ठाउँमा आइपुग्यो, तब जोनाथनले पछिल्तिरबाट कराएर भने, “के काँड तेरो उतापट्टि छैन?”

38 तब तिनले कराएर भने, “चाँडो गर्! छिटो जा! नरोकी जा!” त्यो केटो काँडहरू टिपेर आफ्ना मालिककहाँ फर्केर आयो।

39 (त्यो केटोले यी सबै कुरा केही बुझेन; तर केवल जोनाथन र दावीदले बुझे।)

40 तब जोनाथनले आफ्ना हतियारहरू त्यस केटोलाई दिएर भने, “जा, यी लिएर सहरमा लैजा।”

41 त्यो केटो गएपछि दावीद त्यस ढुङ्गाको दक्षिणतिरबाट उठेर आए, र जोनाथनको सामु आफ्नो अनुहार भुइँतिर निहुराएर तीनपल्ट तिनलाई दण्डवत् गरे। तब तिनीहरूले एक-आपसमा म्वाइँ खाएर एकसाथ रोए। तर दावीद भने झन् धेरै रोए।

42 जोनाथनले दावीदलाई भने, “शान्तिसित जानुहोस्; किनकि हामीले याहवेहको नाममा एक-आपसमा मित्रताको शपथ खाएर यसो भनेका छौँ, ‘याहवेह तपाईं र मेरो बीचमा, र तपाईंका सन्तान र मेरा सन्तानका बीचमा सधैँका निम्ति साक्षी हुनुहुन्छ।’ ” त्यसपछि दावीद गइहाले, र जोनाथनचाहिँ सहरतिर लागे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Samuel 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.