1 Reis 12

npioncb (NPIONCB)

1 सारा इस्राएलले तिनलाई शेकेममा राजा बनाउन गएकाले रहबाम त्यहाँ गए।

2 जब नबातका छोरा यारोबामले यो कुरा सुने, (तिनी राजा सोलोमनदेखि भागेर गएदेखि इजिप्टमा नै थिए), तब तिनी इजिप्टबाट फर्किए।

3 यसकारण तिनीहरूले यारोबामलाई बोलाउन पठाए। अनि तिनी र इस्राएलको समुदाय रहबामकहाँ गएर तिनलाई भने:

4 “तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभएको थियो। अब उहाँले हामीमाथि लगाइदिनुभएको त्यस कठोर परिश्रम र गह्रौँ जुवालाई हलुङ्गो पारिदिनुहोस्; र हामी तपाईंको सेवा गर्नेछौँ।”

5 रहबामले जवाफ दिए, “मलाई सोच्नको लागि तीन दिन दिनुहोस्। त्यसपछि मकहाँ फर्केर आउनुहोस्।” यसकारण मानिसहरू गए।

6 तब राजा रहबामले तिनका पिता सोलोमन जीवित छँदा, तिनका सेवा गर्ने प्रधानहरूसित यसो भनेर सल्‍लाह मागे, “यी मानिसहरूलाई म के जवाफ दिऊँ? तपाईंहरूले मलाई के सल्‍लाह दिनुहुन्छ?”

7 तिनीहरूले उत्तर दिए, “यदि आज तपाईं यी मानिसहरूका सेवक बन्‍नुभयो र तिनीहरूलाई मनपर्दो जवाफ दिनुभयो भने तिनीहरू सधैँभरि नै तपाईंका सेवक हुनेछन्।”

8 तर रहबामले प्रधानहरूले दिएका सल्‍लाह इन्कार गरे; अनि तिनीसितै हुर्केका र तिनकै सेवा गरिरहेका जवान मानिसहरूसित सल्‍लाह लिए।

9 तिनले तिनीहरूलाई सोधे, “तिमीहरूले के सल्‍लाह दिन्छौ? ‘तपाईंका पिताले हामीमाथि राखिदिनुभएको बोझ अलिक हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई कसरी जवाफ दिऊँ?”

10 तिनीसितै हुर्केका ती जवान मानिसहरूले जवाफ दिए, “तपाईंलाई ‘तपाईंका पिताले हामीमाथि गह्रौँ जुवा राखिदिनुभयो; तर हाम्रा जुवा हल्का पारिदिनुहोस्’ भन्‍ने यी मानिसहरूलाई यसो भन्‍नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा झन् मोटो छ।

11 मेरा पिताले तिमीहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई अझ गह्रौँ पारिदिनेछु। मेरा पिताले तिमीहरूलाई कोर्राले ताडना दिनुभयो, तर मचाहिँ तिमीहरूलाई बिच्छीहरूले डस्‍न लगाउनेछु।’

12 “तीन दिनमा मकहाँ फर्केर आउनुहोस्” भनी राजाले भनेझैँ, तीन दिनपछि यारोबाम र सबै मानिसहरू रहबामकहाँ आए।

13 राजाले ती मानिसहरूलाई कठोरतापूर्वक जवाफ दिए। ती प्रधानहरूले तिनलाई दिएको सल्‍लाहलाई इन्कार गरे।

14 तिनले जवान मानिसहरूको सल्‍लाह सुनेर यसो भने, “मेरा पिताले तपाईंहरूमाथि गह्रौँ जुवा राखिदिनुभयो; म त्यसलाई झन् गह्रौँ पारिदिनेछु। मेरा पिताले तपाईंहरूलाई कोर्राले ताडना दिनुभयो; तर मचाहिँ तपाईंहरूलाई बिच्छीहरूले डस्‍न लाउनेछु।”

15 यसरी राजाले मानिसहरूका कुरा सुनेनन्; किनकि याहवेहले शीलोका अहीयाहद्वारा नबातका छोरा यारोबामलाई भन्‍नुभएको वचन यसरी नै पूरा हुनुपर्थ्यो।

16 जब सारा इस्राएलले राजाले तिनीहरूका कुरा नसुनेका देखे; तिनीहरूले राजालाई जवाफ दिए:

17 तर यहूदाका सहरहरूमै बसिरहेका इस्राएलीहरूमाथि रहबामले नै शासन गरे।

18 राजा रहबामले ज्यालाविना काममा लगाउनेका जिम्मावाल अदोनीरामलाई पठाए; तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे। तर राजा रहबाम आफ्नो रथमा चढेर यरूशलेममा भागेर जान सफल भए।

19 यसकारण इस्राएल आजको दिनसम्मै दावीदको घरानाको विरुद्धमा छ।

20 जब सारा इस्राएलीहरूले यारोबाम फर्किआएको कुरा सुने, तब तिनीहरूले खबर पठाएर तिनलाई सभामा बोलाए। अनि तिनलाई सारा इस्राएलमाथि राजा तुल्याए; र यहूदाको कुल मात्र दावीदको घरानाप्रति विश्‍वासयोग्य भइरहे।

21 जब रहबाम यरूशलेममा आइपुगे, तब आफ्नो राज्य फिर्ता ल्याउने उद्देश्यले इस्राएलको विरुद्धमा लडाइँ गर्नलाई सारा यहूदा र बेन्यामीनका घरानाबाट एक लाख असी हजार लडाकु मानिसहरू बटुले।

22 तर परमेश्‍वरको यो वचन उहाँको जन शमायाहकहाँ आयो:

23 “यहूदाका राजा सोलोमनका छोरा रहबाम, यहूदा र बेन्यामीनका सम्पूर्ण घरानालाई अनि बाँकी रहेका मानिसहरूलाई यसो भन्:

24 याहवेह यसो भन्‍नुहुन्छ, ‘आफ्ना दाजुभाइ इस्राएलीहरूको विरुद्धमा लडाइँ गर्न नजानू। तिमीहरू प्रत्येक आ-आफ्ना घरमा फर्केर जाओ; किनकि यो कुरा मैले नै गरेको हुँ।’ ” यसकारण तिनीहरूले याहवेहको वचन माने; अनि याहवेहले आज्ञा गर्नुभएझैँ तिनीहरू फेरि आ-आफ्ना घर फर्के।

25 तब यारोबामले एफ्राइमको पहाडी देशमा भएको शेकेमलाई सुदृढ पारे र त्यहीँ नै बसोबास गरे। त्यहाँबाट गएर तिनले पनीएल सहर निर्माण गरे।

26 यारोबामले यसरी विचार गरे, “यो राज्य अब दावीदको घरानाकहाँ नै फर्किजानेछ।

27 यी मानिसहरू बलिदान चढाउन यरूशलेममा याहवेहको मन्दिरमा गए भने यिनीहरूले आफ्नो राजभक्ति यिनीहरूका मालिक यहूदाका राजा रहबामलाई फेरि दिनेछन्। यिनीहरूले मलाई मारेर राजा रहबामतिर फर्कनेछन्।”

28 राजाले सरसल्‍लाह लिइसकेपछि, तिनले सुनका दुई वटा बाछाहरू बनाए। तब तिनले मानिसहरूलाई भने, “यरूशलेममा जान तिमीहरूलाई अति गाह्रो पर्छ। हे इस्राएल हो, तिमीहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याउने देवी-देवताहरू यहाँ छन्।”

29 तिनले एउटालाई बेथेलमा र अर्कोलाई दानमा खडा गरे।

30 योचाहिँ पाप भयो; मानिसहरू दानमा भएको बाछालाई पुज्न त्यति टाढासम्म पनि गए।

31 यारोबामले अग्ला ठाउँहरूमा देवस्थानहरू बनाए। सबै किसिमका मानिसहरूबाट पुजारीहरू नियुक्त गरे, जो लेवी कुलका थिएनन्।

32 तिनले यहूदामा मनाइने चाडजस्तै बेथेलमा पनि आठौँ महिनाको पन्ध्रौँ दिनमा एउटा चाड स्थापना गरे। अनि वेदीमा बलिदानहरू चढाए। यसरी तिनले बेथेलमा आफूले बनाएका बाछाहरूका निम्ति बलिदान चढाए। बेथेलमा आफूले बनाएका अग्ला देवस्थानहरूमा तिनले पुजारीहरू पनि नियुक्त गरे।

33 आठौँ महिनाको पन्ध्रौँ दिनमा आफूले रोजेको महिनामा, तिनले बेथेलमा आफूले बनाएको वेदीमा बलिदानहरू चढाए। यसरी तिनले इस्राएलीहरूका निम्ति त्यो चाड स्थापना गरे, र भेटीहरू चढाउन वेदीमा गए।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Reis 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.