Josué 17

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब मनश्शेका कुल समूहलाई भूमि दिइयो। मनश्शे यूसुफका जेठा छोरा थिए। मनश्शेका जेठा छोरा माकीर थिए, जो गिलादका पिता थिए। माकीर एकजना महान सैनिक थिए, यसर्थ गिलाद अनि बाशानका क्षेत्रहरू माकीरका वंशलाई दिए।

2 मनश्शेका कुल समूहका अन्य वंशहरूलाई पनि भूमि दिए। ती कुलहरू अबीएजेर, हेलेक, अस्रीएल, शेकेल, हेपेर अनि शमीदा थिए। यी सबै मानिसहरू यूसुफका छोरा मनश्शेक अन्य छोराहरू थिए। यी मानिसका कुलहरूले भूमिका आफ्ना अंश प्राप्त गरे।

3 सलोफाद हेपेरका छोरा थिए। हेपेर गिलादका छोरा थिए। गिलाद माकीरका छोरा थिए अनि माकीर मनश्शेक छोरा थिए। सलोफदका कुनै छोराहरू थिएनन् तर तिनका पाँच जना छोरी थिए। तिनीहरूको नाउँ महला, नोआ, होग्ला, मिल्का अनि तिर्सा थियो।

4 ती छोरीहरू एलीजार पूजाहारी, नूनका छोरा यहोशू अनि सबै अगुवाहरूकहाँ गए। ती छोरीहरूले भने, “परमप्रभुले मोशालाई भन्नुभयो कि उहाँले हामीलाई त्यसरी नै भूमि दिउन् जसरी हाम्रा पुरूष नातेदारहरूलाई दिइन्छ।” यसर्थ तिनले परमप्रभुको आज्ञा पालन गरे अनि छोरीहरूलाई केही भूमि दिए। यसरी यी छोरीहरूले आफ्ना काकाहरूले जस्तै आफ्नो भूमि पाए।

5 यसरी मनश्शेका कुल समूहका यर्दन नदीको पश्चिमतर्फ दशवटा क्षेत्रहरू अनि यर्दन नदीको अर्को तफर्का गिलाद अनि बाशानका भूमिका दुइ अधिक क्षेत्रहरू भए।

6 यसरी नै मनश्शेका कुल समूहका यी स्त्रीहरूले पनि पुरषहरूले जस्तै भूमि प्राप्त गरे। गिलादको भूमि बाँकी रहेका मनश्शेका सन्तानहरूलाई दिइयो।

7 मनश्शेका भूमिहरू आशेर अनि मिक्मतात माझको क्षेत्रमा थिए। यो शकेमको नजिकै छ। यसको सीमाना दक्षिण तर्फ एन्तप्पूहको क्षेत्रतिर गएको थियो।

8 तप्पूह विरपरिका भूमि मनश्शेका थियो, तर तप्पूह शहर तिनको थिएन। तप्पूह शहर मनश्शेको भूमिको सीमानामा थियो अनि यो एप्रैमका मानिसहरूको थियो।

9 मनश्शेको सीमाना दक्षिण तिर कानाको बेंसीसम्म लगातार थियो। यो क्षेत्र मनश्शेका कुल समूहको थियो, तर शहरहरू एप्रैमका मानिसहरूका थिए। मनश्शेको सीमाना नदीको उत्तर तर्फ थियो अनि यो पश्चिम तर्फ भूमध्य समुद्रसम्म फैलिएको थियो।

10 दक्षिण तफर्को भूमि एप्रैमको थियो। अनि उत्तर तफर्को भूमि मनश्शेको थियो। भूमध्य समुद्र पश्चिमी सीमानामा थियो। त्यो सीमानाले उत्तरमा आशेरको भूमि अनि पूर्वमा इस्साकारको भूमिलाई छोएको थियो।

11 मनश्शेका मानिसहरूको इस्साकार अनि आशेर क्षेत्रहरूमा पनि शहरहरू पनि थिए। बेत्शान, यिवलाम अनि वरिपरिका स-साना शहरहरू मनश्शेका कुल समूहको थिए। मनश्शेका मानिसहरू दोर, एन्दोर, तानाक, मिगद्दो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा पनि बस्थे। तिनीहरू नापोतका तीन शहरहरूमा पनि बस्थे।

12 मनश्शेका मानिसहरू ती शहरहरू परास्त गर्न समर्थ भएनन्। यसर्थ कनानी मानिसहरू त्यहाँ बसिरहे।

13 तर इस्राएलका मानिसहरू शक्तिशाली भए। जब यस्तो भयो तब तिनीहरूले कनानका मानिसहरूलाई आफ्ना निम्ति काम गर्न बाध्य तुल्याए। तिनीहरूले कनानी मानिसहरूलाई त्यो भूमि छोड्न बाध्य तुल्याएनन्।

14 यूसुफका कुल समूहले यहोशूसित बात गरे र भने, “तपाईंले हामीलाई भूमिको एक भाग मात्र दिनुभयो। जब हामी यति धेरै संख्यामा छौं, परमप्रभुले ज्यादा संख्यामा आशीर्वाद दिनु भएको छ, कि सम्पूर्ण भूमिबाट हामीलाई एक भाग मात्र दियौ?”

15 यहोशूले तिनीहरूलाई उत्तर दिए, “यदि तिमीहरूसित अति धेरै मानिसहरू भए तब माथि पहाडी भूमिको जंङ्गलले भरिएको क्षेत्रमा जाऊ अनि त्यो भूमिको जंङ्गल फाँडेर त्यसलाई प्रयोग गर्न सक्छौ। त्यो भूमि अहिले परिज्जी अनि रपाई मानिसहरूको हो। तर यदि एप्रैमको पहाडी देश तिमीहरूका निम्ति अति सानो भए गएर त्यो भूमि लेऊ।”

16 यूसुफका सन्तानले भने, “हाम्रो लागि पर्वतहरू प्रशस्त भूमि हुने छैन, तर हामी ती बेंसीहरूलाई लिन सक्तैनौं कारण बेशानको नजिकै यिर्जेब बेसीमा बस्ने र वरिपरिका गाउँहरूमा बस्ने कनानीका रथहरू छन् (अनि हाम्रो छैनन्।)”

17 तब यहोशूले यूसुफ, एप्रैम अनि मनश्शेका मानिसहरूलाई भने, “तर तिमीहरू त्यहाँ अति धेरै छौ। अनि तिमीहरू अत्यन्त शक्तिशाली छौ। तिमीहरूले भूमिको एक हिस्सा भन्दा अधिक पाउनु पर्छ।

18 तिमीहरूले पहाडी देश लिने छौ। त्यो एक जङ्गल हो, तर रूखहरू काटेर त्यस स्थानलाई बस्नका निम्ति असल तुल्याउन सक्छौ। अनि त्यो सम्पूर्ण भूमि तिमीहरूको हुनेछ। कनानी मानिसहरूलाई त्यो भूमि छोड्न तिमीहरूले वाध्य तुल्याउने छौ। तिनीहरू बलिया र तिनीहरूसित शक्तिशाली हात हतियारहरू भएता पनि तिमीहरूले तिनीहरूलाई पराजित गर्नेछौ।”

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 17, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.