Gênesis 11

Nepali Bible (GL_NEPALI)

1 यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरु थिए।

2 जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे।

3 तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरुको घर बनाउदा ढुङ्गाको सट्चामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।

4 तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई संगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”

5 परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो।

6 तब परमप्रभुले भन्नुभयो, “हेर, तिनीहरू मिलेर एक भएका छन्, तिनीहरूले एउटै भाषा बोल्दैछन्। तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो, अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन्।

7 यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्‌न नसकून्।”

8 यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो।

9 त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।

10 शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ वर्षपछि शेम जब एक सय वर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए।

11 अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे।

12 जब अर्पक्षद पैतीस वर्षका भए तिनको एउटा छोरो जन्म्यो जसको नाउँ शेलह थियो।

13 शेलह पछि अर्पक्षद चार सय तीन वर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए।

14 शेलह तीस वर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो।

15 एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।

16 एबेर चौंतीस वर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो।

17 पेलेग जन्मेपछि पनि एबेर चार सय तीस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।

18 पेलेगको उमेर तीस वर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो।

19 रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ वर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।

20 रऊको उमेर बत्तीस वर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो।

21 सरूगको जन्म पछि रऊ अर्को दुई सय सात वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरु पनि जन्मिए।

22 सरूगको उमेर तीस वर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो।

23 नाहोर जन्मेपछि पनि सरूग दुइ सय वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

24 नाहोरको उमेर उन्तीस वर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो।

25 तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।

26 तेरहको उमेर सत्तरी वर्ष पुग्दा तिनका अब्राम, नाहोर र हारान नाउँका छोराहरू जन्मे।

27 तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए।

28 हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए।

29 अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए।

30 साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।

31 तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिंडे। तर तिनीहरू हारानसम्म गई त्यही बसो-बास गर्न थाले।

32 तेरह दुइ सय पाँच वर्षसम्म बाँचेर हारानमा मरे।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Gênesis 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.