2 Crônicas 5

Nepali Bible (GL_NEPALI)

1 तब, परमप्रभुको मन्दिरका निम्ति सुलेमानले गरेका सम्पूर्ण कार्य पूर्ण भए। सुलेमानले सबै चीजहरू ल्याए जो तिनका पिता दाऊदले मन्दिरका निम्ति दिएका थिए। सुलेमानले सुन चाँदीका सबै चीजहरू अनि सजाउने सबै वस्तुहरू ल्याए। सुलेमानले ती सबै चीज बीजहरू परमेश्वरको मन्दिरका कोष-कक्षमा राखे।

2 सुलेमानले इस्राएलका सबै अग्रज अनि कुल समूहका प्रधानहरूलाई यरूशलेममा एक साथ भेट गर्ने आदेश दिए। (यी मानिसहरू इस्राएलका परिवारहरूका प्रधानहरूका प्रमुखहरू थिए।) सुलेमानले यसो गरे जसमा कि लेवीहरूले परमप्रभुको करारको सन्दूक दाऊदको शहर सियोनबाट मन्दिर सम्म ल्याउन सकोस्।

3 इस्राएलका सबै मानिसहरू झूप्रो-बासको चाडको समयमा राजा सुलेमानको समक्षमा एकसाथ भेला भए। यो उत्सव सातौं महीनामा मनाइन्थ्यो।

4 जब इस्राएलका सबै अग्रजहरू आइपुगे, लेवीहरूले करारको सन्दूक उठाए।

5 तब पूजाहारी अनि लेवीहरूले करारको सन्दूक बोकेर यरूशलेममा लगे। तिनीहरूले भेट हुने पाल अनि त्यसमा भएका सबै पवित्र बस्तुहरू पनि यरूशलेममा ल्याए।

6 राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले करारको सन्दूक अघि भेटे। राजा सुलेमान अनि इस्राएलका समस्त मानिसहरूले भेडा अनि गोरूहरूका बलि चढाए। भेंडा अनि गोरूहरू यति विघ्नथिए कि कुनै व्यक्तिले ती गिन्ती गर्न सकेनन्।

7 त्यसपछि पूजाहारीहरूले परमप्रभुको करारको सन्दूक त्यसका निम्ति तयार पारिएका स्थानमा ल्याए। त्यो स्थान मन्दिर भित्रको महापवित्र स्थान थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूका पंखेटा मुनि राखियो।

8 करूब स्वर्गदूतहरूले तिनीहरूका पंखेटाहरू त्यस स्थान माथि फैलाएका थिए जहाँ करारको सन्दूक थियो। करूब स्वर्गदूतहरूले करारको सन्दूकलाई ढाकेका थिए र सन्दूक बोक्न प्रयोग गरिएका डन्डामाथि खडा थिए।

9 ती डन्डाहरू यति लामा थिए कि तिनीहरूको टुप्पो महा पवित्र स्थानको सामुन्नेबाट नै देख्न सकिन्थ्यो। तर कुनै व्यक्तिले पनि ती डंण्डाहरूलाई मन्दिरको बाहिरबाट देख्न सक्तैन थियो। ती डंण्डाहरू आज सम्म पनि त्यहीं छन्।

10 करारको सन्दूकमा दुई फलाकहरू बाहेक अरू केही थिएन। मोशाले ती दुइ फलाकलाई होरेब पहाडमा करारको सन्दूकभित्र राखेका थिए। होरेब त्यो स्थान हो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसित करार गर्नु भएको थियो। इस्राएलका मानिसहरू मिश्रदेशबाट बाहिर भए पछि त्यो कुरा घटेको थियो।

11 त्यहाँ भएका सबै पूजाहारीहरूले स्वयंलाई पवित्र तुल्याउने रीति सम्पन्न गरे। तब, पूजाहारीहरू पवित्र स्थानको बाहिर आए, तिनीहरू एकै साथ उभिए, तर तिनीहरूको विशेष समूहमा होइन।

12 लेवी गायकहरू वेदीका पूर्वतर्फ उभीए। आसाप, हेमान अनि यदूतूनका सबै गायक समूहहरू त्यहां थिए। तिनीहरूका छोरा अनि आफन्तहरू पनि त्यहाँ थिए। ती लेवी गायकहरू सेतो मलमलका पोशाकमा थिए। तिनीहरू सित झ्याम्टा, वीणा र सारङ्गीहरू थिए। त्यहाँ 120 पूजाहारीहरू ती लेवी गायकहरू साथ थिए। ती 120 पूजाहारीहरूले तुरही बजाए।

13 मानिसहरू कसैले तुरही बजाए कसैले गाए ती एक व्यक्ति जस्तै थिए। तिनीहरूले एउटै ध्वनिमा बजाए जब तिनीहरूले परमप्रभुको स्तुति गरे अनि धन्यवाद ज्ञापन गरे। तिनीहरूले तुरही, झ्याम्टा अनि वाद्य-यन्त्रबाट ठूलो आवाज निकाले। तिनीहरूले “परमप्रभुको स्तुति गरे किनभने उहाँ असल हुनुहुन्छ। उहाँको सत्य प्रेम सदा सर्वदा रहि रहन्छ” भनी गीत गाए।तब परमप्रभुको मन्दिर बादलले भरियो।

14 पूजाहारीहरूले सेवा कार्य चलाइ राख्न सकेनन् किनभने यो मन्दिर परमप्रभुको महिमाले बादलको रूपमा भरिएको थियो।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.